कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दुर्गालाई योगमाया

काठमाडौं — राणा प्रधानमन्त्री जुद्धशमशेरको पालामा सामाजिक कुरीति र लैंगिक विभेदको विरोध गर्दै सामूहिक जल समाधि लिएकी योगमाया न्यौपानेको साहस र क्रान्तिबारे अझै पनि ठूलो चर्चा हुने गरेको छ।

दुर्गालाई योगमाया

राणाकालको त्यो कठिन समयमा समाज सुधारका लागि मागपत्र पेस गर्न सक्नु चानचुने कुरा थिएन, जुन योगमायाले गरेकी थिइन्।
 
योगमायाको त्यही साहसिक कदमको सम्मान गर्दै नेपाल स्रष्टा समाजले वि.सं २०६५ मा ‘योगमाया राष्ट्रिय नारी सम्मान’ पुरस्कार स्थापना गरेको थियो। उक्त पुरस्कार यसपालि योगमायाजस्तै सामाजिक अभियन्ता दुर्गा घिमिरेलाई प्रदान गरिएको छ। घिमिरे विगत तीन दशकदेखि महिला हिंसा र अन्य सामाजिक बेथितिविरुद्ध संघर्ष गर्दै आइरहेकी छन्। उनलाई सम्मान स्वरुप रु. २५ हजार नगद दिइयो। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘विशेष साहित्यिक कार्यक्रम’ मा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र वरिष्ठ साहित्यकार परशु प्रधानले घिमिरेलाई पुरस्कार राशि थमाउँदै कदरपत्र हस्तान्तरण गरे। पुरस्कार ग्रहण गरेपछि घिमिरेले योगमायाजस्तो अग्रणी महिला अधिकारकर्मीको नाममा स्थापित पुरस्कार पाउनु आफ्ना लागि गौरवको विषय भएको बताइन्। ‘मैले आफ्ना कृतिमा उहाँलाई उद्धृ्रत गर्ने गरेकी थिएँ,’ उनले भनिन्, ‘आज उहाँकै नामको पुरस्कार पाउँदा कामप्रति अझ लगनशील हुने प्रेरणा मिलेको छ।’

समारोहमा घिमिरेले सुधारका लागि कुनै एउटा संस्था वा महिलाले मात्रै पहल गरेर नहुने बताइन्। यसका लागि सबै जुट्नुपर्ने र महिला हिंसा न्यूनीकरणका लागि पुरुषको साथ अनिवार्य हुनुपर्ने उल्लेख गरिन्। ‘महिला बेचबिखनबारे मैले आवाज उठाउँदा यहाँ कुनै संस्था वा अभियन्ता जुटिसकेका थिएनन्,’ गोरखा दक्षिणबाहुसमेत पाइसकेकी घिमिरेले भनिन्, ‘योगमायाहरूबाटै प्रेरणा लिएर अघि बढेकी थिएँ म।’

सम्मान कार्यक्रमसँगै आयोजक संस्था स्रष्टा समाजका अध्यक्ष पवन आलोकको यात्रा उपन्यास ‘अरुण एक्सप्रेस’ र डा. नवराज सुब्बाको ‘मन र माटो’ नामक कविता संग्रह लोकार्पण गरिएको थियो। ती कृतिमाथि महेश पौडेल र ध्रुव मधिकर्मीले टिप्पणी गर्न भ्याए। साहित्यिक कार्यक्रमको केही बेरअघि स्रष्टा समाजले आफ्नो नवौं साधारणसभा आयोजना गरी नयाँ कार्यसमिति चयन गरेको थियो। संस्थाले यसअघि रमा शर्मा, अंगुरबाबा जोशी, भद्रकुमारी घलेलाई योगमाया नारी सम्मानद्वारा सम्मानित गरेको थियो।

प्रकाशित : आश्विन २, २०७३ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?