कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘क्यानभास रहेछ जिन्दगी...’

मधु शाही

काठमाडौं — चित्रकार रागिनी उपाध्यायलाई आफ्नो जीवन क्यानभासझैं लाग्छ । खुसीको उन्मादले छुँदा चम्किलो रंग पोत्छिन् ।

‘क्यानभास रहेछ जिन्दगी...’

कहिलेकाहीं उदासीले छाउँदा गहकिला र दु:खले घेर्दा कालो रंग । ‘सायद, यिनै रंगमा जीवन छ कि जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘उतार चढाव नभए त जीवनको अस्तित्व नै रहेन नि ।’ 

करिब चार दशक लामो कलायात्रा क्रममा उनको क्यानभास थुप्रै रंगले रंगिए । सुख, दु:ख र उमंग यस्तैयस्तै । ललितकला प्रज्ञा प्रतिष्ठानकी यी कुलपति मुलुककै पहिलो महिला कुलपतिसमेत हुन् । झन्डै साढे दुई वर्षअघि यो स्थान हासिल हुँदा उनमा खुसीको रंग छाएको थियो । त्यसबेला उनको जीवनको क्यानभास रंगीन थियो । चित्र पनि त्यस्तै कोरिन् । 
जीवनका सायद दुई पाटा हुन्छन्, देखिने र नदेखिने । सेलिब्रिटीहरूको व्यक्तिगत जीवन कसरी अघि बढिरहेको हुन्छ ? उनीहरू कुन मनोदशाका साथ गुज्रिरहेका हुन्छन् ? जीवनका नदेखिने यो पाटोबारे थोरैलाई मात्र थाहा हुन्छ । पछिल्ला वर्षहरू रागिनी जुन मनोदशामा गुज्रिइन्, त्यो उनका शुभचिन्तक र कला सर्कललाई मात्रै थाहा छ । एक मात्रै सन्तानको रूपमा रहेकी छोरी गुमाएको दु:ख नसेलाउँदै केही अघिमात्रै आमा गुमाइन् यिनले । यतिबेला यिनको जीवनको क्यानभास अँध्यारो छ । ‘जीवन भनेको संघर्ष नै हो,’ सोमबार आफ्नै कलायात्रा समेटेर तयार पारिएको कृति लोकार्पण हुनुअघि यिनले भनिन्, ‘दु:ख कसलाई पर्दैन र ? तर यस्तो बेला कामले सबै दु:ख र अप्ठ्याराहरूलाई भुलाउनुपर्ने रहेछ ।’ 

परम्परागत भनाइ नै छ, ‘शोकलाई शक्तिमा बदल्नुपर्छ ।’ रागिनीले पनि यसै गरिन् । शोकलाई भुल्न र जीवन आउने एकान्तिकतालाई पन्छाउने उनले किताब लेखन थालिन् र तयार पारिन्, ‘रागिनी उपाध्याय : अ लिडिङ मोर्डन नेपाली आर्टिस्ट’ । राजधानीमा सोमबार संस्कृति मन्त्री जीवनबहादुर शाही र नेपालका लागि भारतीय राजदूत रञ्जित रेले उनको कृति सार्वजनिक गरे । कलायात्रामा लागेदेखि अहिलेसम्मका कामहरूलाई उनले कृतिमा समेटेका छन् । चार दशक पछाडि फर्केर हेर्दा उनी आफ्नो जीवन नै कलामय देख्छिन् । ‘अब त कलाबिनाको जीवन के जीवन जस्तो लाग्छ ?’ उनी भन्छिन् । 

यति लामो वर्षहरूमा उनले कलाका थुप्रै माध्यममा काम गरेकी छन् । प्रिन्ट, इचिङ, लिथोग्राफी, वाटर कलर, एक्रेलिकदेखि विभिन्न मिक्स मिडियासम्म । युरोपमा मात्रै प्रचलनमा रहेको आर्टिस्ट प्रुफ ग्यालरी नेपालमा ल्याउने यिनी नै पहिलो व्यक्तिसमेत हुन् । मिथिला शैलीलाई फयुजन गरेर कलामार्फत अनेकौं राजनीतिक सामाजिक व्यंग्य र महिला सशक्तीकरणको मुद्दालाई बहसमा ल्याउने काममा पनि उनको ठूलो योगदान छ । तीन दर्जन मुलुकमा नेपाली आधुनिक स्वादका कला प्रदर्शनी लिएर पुगेकी उनले ६० पटक त एकल कला प्रदर्शनी नै गरिसकेकी छन् । ‘समसामयिक नेपाली कलाको महत्त्वलाई पुस्तकमा मसिनोसँग दर्साउन खोजेकी छु,’ उनले भनिन्, ‘करिब दुई वर्षको अध्ययनपछि पुस्तक तयार भएको हो ।’ 

भारतको लखनउ कलेज अफ फाइन आर्टमा पढादेखिका अनुभव पनि उनको पुस्तकमा पढ्न पाइन्छ । त्यसैबेला ‘कला कलाका लागि नभई, जीवनका लागि कोर’ भनेर उनका गुरुले दिएको सन्देश रागिनी अझै सम्झिन्छिन् । ‘मेरो कलायात्रा त्यही मार्गमा जारी छ,’ उनी भावुक बनिन्, । परम्परागत र धार्मिक प्रतीक र विम्बहरूमार्फत आधुनिक विषयमाथि कटाक्ष गर्नसक्नु उनको विशेषता हो । जापान, भारत, यूके लगायत देशहरूमा जाँदा त्यहाँको कलाको प्रभावलाई सिर्जनामार्फत उनले उतारेकी थिइन्, तिनलाई पनि उनले पुस्तकमा डकुमेन्टेसन गरेकी छन् । ‘मरेर लानु केही रहेनछ,’ उनले भनिन्, ‘आउने पिँढीलाई कोसेली स्वरूप पनि पुस्तक लेखेकी हुँ ।’ आधुनिक चित्रकलाको भविष्य सुन्दर देखेकी उनले चित्र बेचेर सजिलै कार चढ्न सकिने सम्भावना रहेको पनि खुलाइन् । पछिल्लो पुस्तालाई कलामा प्यासन लिएर आउन पनि उनी आग्रह गरिन् । पुस्तकमाथि भने लेखक शेखर खरेल, कला समीक्षक मदन चित्रकार लगायतले रागिनीको कला र व्यक्तित्वमाथि प्रकाश पारे । 

प्रकाशित : मंसिर २८, २०७३ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?