गम्भीर लेखन हतारको प्रस्तुति "तमु क्योए दे प्यक्ष्या"

रामरञ्जन पौडेल

काठमाडौं — संसारमा ४ हजारभन्दा बढी भाषाहरू छन् । ती भाषालाई अधिकतम १४ भाषिक परिवारमा विभाजन गरेको पाइन्छ । तीमध्ये भोट–वर्मेली भाषा परिवारभित्रको एउटा भाषा हो तमु अर्थात् गुरुङ भाषा ।

गम्भीर लेखन हतारको प्रस्तुति

हामी भाषाबिनाको समाज परिकल्पना गर्न सक्ने अवस्थामा छैनौं । भाषा नहुँदो हो भने आजको यो विकसित समाज हुने थिएन । तसर्थ भाषालाई हामी विचार विनिमयको निर्विकल्प साधन मान्छौं । तर, भाषाको विकास के कसरी भयो होला ? संसारमा सबै मानिसहरू किन एउटै भाषा बोल्दैनन् ? यी प्रश्नहरूको उत्तर अग्रजका लेखनलाई स्वीकार गर्ने हो भने सहज हुन सक्छ तर आफैंले खोजबिन गर्ने हो भने जटिल । मानिस आफ्नो भाषा र जातिप्रति गौरव गरिरहन्छ । त्यसैभित्र आफ्नो अस्तित्वको खोजी गर्छ । धीरबहादुर (डीबी) गुरुङको तमु क्योए दे प्यक्ष्या (गुरुङ भाषा र संस्कृति) पुस्तकाकार कृतिले पनि गुरुङ भाषा र समाजको गौरवपूर्ण इतिहासलाई आद्योपान्त केलाउने प्रयत्न गरेको छ ।

भोट–वर्मेली परिवारभित्रका भाषामा भौगोलिक, सांस्कृतिक र अन्य पक्षबाट पनि सबैभन्दा निकट रहेको तिब्बती भाषा साम्भोट लिपिमा लेखिनु तर तमु भाषा त्यसबाट पृथक रहनु संयोग मात्र पक्कै पनि होइन । यसको ऐतिहासिक पक्षलाई पनि केलाउनु आवश्यक छ । तिब्बतमा साम्भोट लिपिको विकास हुनुभन्दा धेरैअघिदेखि नै तमुका पूर्वजहरू अन्नपूर्ण हिमालको सेरोफेरोमा आई बसेकाले तमुहरू साम्भोट लिपिसित अनभिज्ञ देखिन्छन् ।

प्राचीनकालमा हूण जाति चीनको उत्तरी भागमा निवास गर्थे । युद्ध कौशलले निपुन यो जातिको आक्रमणबाट जोगिन इपू २४६ देखि इपू २१० सम्म चीनका तत्कालीन सम्राट शी–हूआंग–तीले विशाल पर्खाल बनाउन लागाएपछि विस्तारै पश्चिमतिर विस्थापित हुँदै गएको हुण जातिका च्यन महापरिवार इसाको छैटौं शताब्दीमा वर्तमान नेपालको सीमामा ताक्लाकोटबाट प्रवेश गरेको देखिन्छ । त्यहींबाट पूर्वतिर सर्दै मुलुकका अन्य भागमा पनि यिनीहरूको बसोबास भएको देखिन्छ । विशेष गरी कास्की लमजुङ र गोरखालाई मूल थलो बनाएर यिनीहरूको बसोबास रहेको देखिन्छ । गाँस र बासकै समस्यासँग जुद्धै गरेको यो जातिले भाषा र लिपिको विषयमा चिन्तन गर्ने र विकास गर्ने काम गर्न सकेन । 

आफ्नो टोली नायक र गुरु पुरोहितहरूकै माध्यमबाट यो भाषा पुस्तान्तरण हुँदै आयो । कालान्तरसँगै मौखिक रूपमा चल्दै आएको पे (वेद) का धर्म संस्कृतिका कतिपय पक्षहरू लोप भएको अनुमान गर्न सकिन्छ । लेख्य परम्परा नभएकै कारण बोलिमा पनि एकरूपता आएन । व्याकरण थिएन । हरेक थुम्कामा विभिन्न तरिकाले बोलिंदा यसका विभिन्न भाषिकाहरू जन्मिए । त्यसमा एकरूपता ल्याउन पक्कै पनि तमु क्योए दे प्यक्ष्या पुस्तक सहयोगी हुने छ ।

मुलत लेख्य परम्परा नभएको यो भाषाका लागि हाल खेमा लिपिको विकास गरिएको छ । २०५२ सालमा काठमाडौंमा भएको तमुहरूको प्रथम राष्ट्रिय महाधिवेशनबाट यो लिपिलाई मान्यता दिइएको हो । तमु भाषामा यो लिपिको प्रयोग हुन थालेको दुई दशक भएको छ । त्यसयता पनि विभिन्न विद्वान्हरूबाट विभिन्न प्रयत्न भएको देखिए पनि यो पुस्तकले खेमा लिपिको आधारमा भाषिक एकता कामय राख्ने प्रयत्न गरेको छ । विश्वभर छरिएर रहेका १० लाख तमुहरूका लागि यो पुस्तक अत्यन्त उपयोगी हुन सक्छ । तमु भाषा सिक्न चाहनेहरूका लागि पहिलो खुड्किलो ।
 
अमेरिकाको व्यस्त जीवनशैलीमा आफ्नो भाषा र जातिको उत्थानमा डीबी गुरुङको यो प्रयास साच्चै अनुकरणीय छ । पुस्तकमा प्रयुक्त विषयवस्तु नेपाली भाषाको पृष्ठभूमिमा तयार गरिएको छ । व्याकरण जस्तो गम्भीर विषयमा कलम चलाउँदा मौलिकताका उदाहरण दिने प्रयत्न गरे पनि त्यो पर्याप्त नभएको हो कि भन्ने भान पुस्तक पढ्दा प्राप्त गर्न सकिन्छ । गुरुङहरूलाई तमु शब्दले सम्बोधन गरिएको छ । तमु शब्दको ठेट अर्थ शस्त्रधारी हो । यो युद्धकौशल जातिलाई बुझाउने शब्द किन र कसरी गुरुङ शब्दमा परिवर्तन भयो । यसको खोजबिन पनि यस पुस्तकमा अपेक्षा गरिएको विषय हो ।

पुस्तकमा बोलीचालीका लागि उपयुक्त छोटामिठा उदाहरण नेपालीमा मात्रै होइन अंग्रेजीमा पनि समावेश गरिनु गुरुङ भाषालाई माया गर्ने सबैका लागि उपयुक्त होस् भन्ने प्रयास हो । सामाजिक मान्यताप्रति सचेत रहादै भाषा र लिपि सिकाउने प्रयत्न यस पुस्तकका सह्रानीय पक्ष हुन् । अमेरिका, सिक्किम तथा नेपालबाट प्रकाशित भएको यो पुस्तक सकेसम्म सबै तमुहरूको हातमा पुगोस भन्ने लक्ष्य राखिएको छ ।
 
तमुहरूको ऐतिहासिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षको उद्घाटन गर्ने क्रममा केही विषय दोहोरिएर आउँदा पाठकलाई अलिकति झर्को लाग्न सक्छ । तमुहरूका गुरुलाई लम वा नम भनेको पुस्तकमा पाइन्छ । तिनै नम वा लमको निर्देशनमा स्थापना भएको राज्य लमचुँ भनिएको र कालान्तरमा त्यही शब्द लमजुङ भएको तथ्य स्पष्ट पार्न लेखक हच्किएका छन् । त्यस्तै च्यन महापरिवारको यो जाति लमजुङको दूध पोखरीलाई ऐतिहासिक र धार्मिक स्थल मान्छ । जडिबुटीको केन्द्र चेपे नदीको शिर दूधपोखरीमा तपस्यारत ऋषि च्यवन नम वा लम नै थिए भन्न पनि लेखक हिच्किचाएका छन् । जे होस नेपालको सन्दर्भमा कतै हिन्दु धर्म त कतै बुद्ध धर्मबाट प्रभावित हुँदै बगेको बोन धर्मावलम्बी तमुहरूको समाजले सामाजिक एकताको काम गरेको तथ्य स्वीकार गर्दा अतिशयोक्ति हुँदैन ।

पुस्तक : तमु क्योए दे प्यक्ष्या (गुरुङ भाषा र संस्कृति)
लेखक : डीबी गुरुङ
पृष्ठ : ३१५
मूल्य : रु‍. ५००

प्रकाशित : पुस २५, २०७३ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?