पाँच पुरस्कार घोषणा
विराटनगर — एक दशकभन्दा लामो समयदेखि साहित्य, कला, संस्कृतिलगायतका क्षेत्रमा सक्रिय चेतना संरक्षण प्रतिष्ठानले विभिन्न विधाका पाँच पुरस्कार घोषणा गरेको छ ।
प्रतिष्ठानले पत्रकारिता, साहित्य, समाजसेवा, धर्मसंस्कृति र कलाकारितासम्बन्धी पुरस्कारको घोषणा गरेको हो ।
‘नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार’ पत्रकार किशोरकुमार कार्की, ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’ प्रा.डा. वासुदेव त्रिपाठी, ‘भूपेन्द्र–शोभा रिजाल कला चेतना पुरस्कार’ कलाकार रमेश खनाललाई दिइनेछ ।
यसैगरी, ‘बालकृष्ण–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म संस्कृति चेतना पुरस्कार’ देवघाट संस्कृत विद्यालयका प्राचार्य डा. गुरुप्रसाद सुवेदी र ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार–२०७३’ माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई दिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । सबै पुरस्कारको राशि जनही ५१ हजार रुपैयाँ छ । पुरस्कार माघ २९ मा आयोजना गरिने कार्यक्रममा वितरण गरिनेछ । २०६१ मा स्थापित प्रतिष्ठानले यसअघि विभिन्न क्षेत्रका ५० व्यक्तिलाई सम्मान गरिसकेको छ ।