सम्झनामा सम

काठमाडौं — बालकृष्ण समको ११५ औं जन्मजयन्ती अवसरमा नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानले सोमबार सम्झना गर्‍यो ।

सम्झनामा सम

भाटभटेनीस्थित प्रतिष्ठानकै प्रांगणमा भएको कार्यक्रममा रंगकर्मीहरूले समको तस्बिरमा फूलमाला अर्पण गरे । वरिष्ठ नाटयकर्मी प्रचण्ड मल्लले समको साहित्यिक जीवनबारे बोल्दै विसं २०२८ तिर समका नाटक मञ्चन गर्दाको अनुभव पनि सुनाए । प्रतिष्ठानका कुलपति सरुभक्तले चाहिँ संगीत र नाटकको उत्थानका लागि खोलिएको संस्थाले यस पालिदेखि स्रष्टाहरूको सम्झनामा कार्यक्रम गर्न थालेको बताए । 

कार्यक्रममा रंगकर्मी मदनदास श्रेष्ठलाई सम्मान गरियो । उनलाई प्रमुख अतिथि मल्लले कदरपत्र प्रदान गरे । रंगकर्मी राजन खतिवडा, अभिनेता सरोज खनाल लगायतले भने दिवंगत सर्जकलाई फूलमाला चढाएर मात्र केही नहुने बताए । उनीहरूका कृतिमाथि बहस, छलफल गराउन उनीहरूले आग्रह गरे ।

प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले समका नाटकलाई रंगमञ्चमा पुर्‍याउन आफूहरू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । ‘विभिन्न थिएटरसँग मिलेर समका नाटक मञ्चन गराउनेछौं,’ उनले भने, ‘समजस्ता राष्ट्रिय विभूतिको सम्मान गर्ने परम्परा हामीले थाल्यौं । यो सरकारका तर्फबाट सर्जकको सम्मान गरिएको हो ।’

विसं १९५९ मा ज्ञानेश्वरमा जन्मिएका समलाई नेपालका शेक्सपियर पनि भनिन्छ । 

उनका ‘प्रेमपिण्ड’, ‘मुकुन्द इन्दिरा’, ‘मुटुको व्यथा’ जस्ता नाटक धेरै पढिने कृति हुन् ।

पुस्तकसहित रोहित
टेलिभिजन पत्रकार रोहित भण्डारी प्रेरक सन्दर्भहरूको सँगालो लिएर पाठकमाझ आएका छन् । ‘नेपालमै सकिन्छ’ राजधानीमा हालै उद्यमी/लेखक कर्ण शाक्य, पत्रकार रवीन्द्र मिश्र, समाजसेवी उत्तम सञ्जेल तथा ‘सम्भव छ’ अभियानका व्यवस्थापक डिल्ली तुलाधरले लोकार्पण गरे । 

पत्रकार मिश्रले प्रेरणादायी व्यक्ति तथा सन्दर्भहरू समेटेर लेखिएको पुस्तक नेपालमै केही गर्न चाहनेहरूका लागि महत्त्वपूर्ण सामग्री भएको टिप्पणी गरे । सकारात्मक सोच, नयाँ विचार तथा उद्यमसम्बन्धी टिप्स समेटेर तयार पारिएको पुस्तकले जोकोहीमा आत्मविश्वास जगाउने भन्दै उद्यमी शाक्य तथा समाजसेवी सञ्जेलले सकारात्मक सोचका पुस्तकहरू बजारमा आउनु खुसीको कुरा रहेको बताए । 

तुलाधरले नेपालमा केही हुँदैन, केही गर्न सकिँदैन भन्ने मानसिकता रहेको भन्दै सकारात्मक अभियानहरूको आवश्यकता टडकारो रहेको सुनाए । 

यसअघि ‘सम्भव छ’ ल्याइसकेका भण्डारीको दोस्रो पुस्तकजयकाली प्रकाशनले निकालेको हो ।

प्रकाशित : माघ २५, २०७३ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?