१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

तीन पौराणिक प्रेमकथा

राम लोहनी

ग्रीक पूराकथाका ओर्फियस र युरिडाइस, क्युपिड र साइकी, हिरो र लियान्डर, इजिप्टकी फराह क्लिओपेट्रा र मार्क एन्टोनी, केल्टिक पूराकथाका त्रिस्तान र इसुल्ट, रोमका रोमियो र जुलियट हुँदै लैला मजनु, हीर र राँझा, शाहजहाँ र मुमताज, अनि हाम्रै स्थानीय मुनामदनलगायत थुप्रै प्रेमकथाहरू इतिहासमा अमर छन् ।

तीन पौराणिक प्रेमकथा

पूर्वीय वाङ्मय पनि यस्ता थुप्रै अमर प्रेमकथाहरूले समृद्ध छ । रुरू र प्रमद्वरा, नल र दमयन्ती, सत्यवान र सावित्री चर्चित उदाहरण हुन् ।

रुरू र प्रमद्वरा
स्वर्गकी अप्सरा मेनका गन्धर्वराज विश्वावसुको प्रेममा परिन् । विश्वावसुबाट तिनले एक छोरीको जन्म पनि दिइन् । देवराज इन्द्रले यो कुरा थाहा पाउलान् भनेर मेनकाले छोरीलाई टोकरीमा राखेर गंगामा बहाइदिइन् । टोकरी बग्दै–बग्दै ऋषि स्थूलकेशको आश्रमको नजिक पुग्यो । स्थूलकेशले यी बालिकालाई छोरीको रूपमा अपनाए । स्थूलकेशले यिनको नाम राखे प्रमद्वरा । प्रमद्वरा बढ्दै गइन् । रूप, गुण, शील, स्वभाव, ज्ञान सबै कुरामा यी अब्बल बनिन् । एक दिन प्रमद्वरा आश्रममा बसिरहेकी थिइन् । भृगुवंशी कुमार रुरू त्यो बाटो जाँदै गर्दा उनको नजर यी कन्यामा पर्यो । रुरूको विवाहको उमेर भैसकेको थियो । मनले खामेकी कन्या नजुरेको कारण यिनको विवाह भएको थिएन । रुरूले आफूले स्थूलकेशको आश्रममा देखेकी कन्या मन पराएको कुरा पिता प्रमातिलाई बताए । प्रमद्वराले पनि रुरूलाई देखेकी थिइन् । यिनलाई पनि आफूले कल्पना गरेको पति यिनै हुन सक्छन् भन्ने लाग्यो । रुरूप्रतिको प्रेम भावनाले यी पनि गलित भइन् ।

प्रमाति र स्थूलकेशले यिनीहरूको विवाह गरिदिने निर्णय गरे । दैवको लीला ! विवाहको केही दिनअघि प्रमद्वरालाई सर्पले डस्यो । सर्पदंशबाट यिनको तत्काल मृत्यु पनि भैहाल्यो । आफूले मन पराएकी युवतीको मृत्युको खबरले रुरू विह्वल भए । विह्वल रुरू एकान्तमा गएर मृत्युका देवताको प्रार्थना गर्न थाले । रुरूको करुण पुकारले यमराजको मन पग्लियो । रुरूसमक्ष उपस्थित भएर यमराजले मृत्युको अकाटय वास्तविकता सम्झाउने प्रयास गरे । रुरूले कसै गरे पनि चित्त बुझाएनन् । अन्तमा यमराजले भने, ‘यदि कसैले आफ्नो आयु प्रमद्वरालाई दिन्छ भने तिनी जीवित हुन सक्छिन् ।’ रुरूलाई यो सुवर्ण अवसर थियो । तुरुन्तै जवाफ दिए, ‘म मेरो आधा आयु दिन्छु ।’ यमराजले रुरूको बाँकी आयुको आधा भाग प्रमद्वरालाई दिए । 

यता रुरूको अनुपस्थितिमा प्रमद्वराको दाह संस्कार हुन पाएको थिएन । रुरूको आयु पाएर तिनी पुनर्जीवित भइन् । धुमधामसँग उनीहरूको विवाह भयो । विवाहपछि उनीहरूबीचको प्रेम अझ प्रगाढ हुँदै गयो ।

नल र दमयन्ती
विदर्भ देशका राजा भीमको लामो समयसम्म कुनै सन्तान भएन । सन्तान अभावले भीम दम्पती दु:खित थिए । ऋषि दमनको आशीर्वादले भीमलाई तीन छोरा र एक छोरी प्राप्त भयो । छोरीको नाम यिनले दमयन्ती राखे । दमयन्ती हुर्कँदै गइन् । रूप, गुण, ज्ञान, शील, स्वभावमा दमयन्ती भारत वर्षमै अद्वितीय ठहरिन् । यिनीसँग विवाह गर्न थुप्रै राजा र राजकुमारहरू लालायित थिए । यिनको चर्चा निषाधराज नलसम्म पनि पुग्यो । राजा नल पनि रूप, गुण, विद्या र शौर्यमा प्रतापी थिए । दमयन्तीले पनि नलको चर्चा सुनिन् । एकार्कालाई नेदेखीकनै यिनीहरू गहिरो प्रेममा परे ।

दमयन्ती प्रमाग्निले जल्दै गइन् । छोरीको विह्वलता बाबा–आमाबाट लुक्न सकेन । विवाहको उमेर पुगेको कारण दमयन्तीमा चिन्ता परेको बुझ्ने उनीहरूलाई गाह्रो भएन । त्यसैले राजा भीमले दमयन्तीका लागि स्वयंवरको रचना गरे । दमयन्तीको चर्चा सर्वत्र थियो । चारै दिशाबाट राजा र राजकुमारहरू विदर्भ ओइरिए । नल पनि स्वयंवरमा सहभागी हुन हिँडे । दमयन्तीको स्वयंवर र सुन्दरताको चर्चा स्वर्गमा पनि पुगेको थियो । इन्द्र, अग्नि, वरुण र यम पनि स्वयंवरमा भाग लिन पृथ्वीमा ओर्लिए । दमयन्तीले नललाई स्वयंवरमा वरण गर्ने सुइँको पाएकाले यी चार देवता नलकै रूप धारण गरेर स्वयंवर सभामा नलको पछाडि उभिए । वरमाला हातमा लिएकी दमयन्ती जब नलको छेउमा पुगिन्, उस्तै रूप रङमा पाँच पुरुष देखेर असमञ्जसमा परिन् । राम्रोसँग हर्दा यीमध्ये चार पुरुषको पैताला धरतीमा टेकिएको थिएन, शरीरमा पनि धूलो मैलो केही थिएन । दमयन्तीलाई आफूलाई छल गर्न देवताहरू आएको बुझ्न बेर लागेन । उनको वरमाला सक्कली नलकै गलामा पहिरियो । 

दमयन्तीको स्वयंवरमा भाग लिन विदर्भ आउँदै गरेको कलीले इन्द्रको मुखबाट दमयन्तीले नललाई चुनेको वृत्तान्त सुन्यो । उसलाई नलसँग ईश्र्या जाग्यो । कलीले नलसँग बदला लिने सोच बनायो, तर तुरुन्तै मौका मिलेन । नलको आचरण र व्यवहार त्रुटिविहीन हुन्थ्यो । नलले गल्ती गर्लान् र बदला लिउँला भनेर कलीले नललाई पछ्याइरहयो । यो बीचमा नल र दमयन्तीका एक छोरा र छोरी पनि जन्मिए । एउटा मौका पाएर कली नलको शरीरमा प्रवेश गर्‍यो । कली प्रवेश गरेपछि नलको बुद्धि भ्रष्ट हुन थाल्यो । राग, द्वेष, घमण्डले डेरा जमाउन थाल्यो नलको मनमा । कलीले नललाई भाइ पुष्करसँग जुवा खेल्न प्रेरित गर्‍यो । जुवामा नलले सम्पूर्ण राजपाठ हारे । नल र दमयन्ती लगाएको एकसरो लुगाको भरमा राज्यबाट निक्लिएर जंगलतिर लागे । कलीको प्रभावले जंगलमा पनि उनीहरूलाई ठूलो कष्ट भयो । तर पनि उनीहरूको प्रेममा कुनै कमी आएको थिएन । कली जसरी हुन्छ उनीहरूको विछोड गराउन चाहन्थ्यो । एक रात रूखमुनि सुतिरहेको अवस्थामा नललाई निद्रा लागेन । उनलाई आफ्नो कारणले दमयन्तीले दु:ख पाएकोमा चिन्ता लाग्न थाल्यो । कलीको प्रेरणाले निदाइरहेकी दमयन्तीलाई छाडेर नल बेपत्ता भए ।

बिहान ब्युझिँदा दमयन्तीले नललाई देखिनन् । बिलौना गर्दै जंगल–जंगल चहारिन् । नल कतै फेला परेनन् । भौंतारिंदै भौतारिंदै दमयन्ती चेदीराज सुवाहुको दरबारमा आश्रयका लागि पुगिन् र रानी सुनन्दाको सहयोगीको रूपमा रहन थालिन् । उता दमयन्तीलाई छोडेर हिंडेका नलको कर्कोटक नागसँग भेट भयो । कर्कोटकले नललाई राज्यभ्रष्ट हुनुपरेको कारण कलीले गर्दा हो भन्ने बताइदियो । कर्कोटककै सल्लाहमा नल भेष बदलेर अयोध्याका राजा ऋतुपर्णकहाँ सारथि बनेर रहन थाले । नल त्यहाँबाट हिंड्नुअघि कर्कोटकले नलको कुर्कुच्चामा ठुङिदियो र भन्यो उसको विषको प्रभावको कारण कलीले नलको शरीर चाँडै नै त्याग्नेछ । यथासमय नलको आफ्नी प्रियतमासँग पुनर्मिलन हुने पनि कर्कोटकले बतायो ।

छोरी–ज्वाइँको दुर्भाग्यको खबर राजा भीमकहाँ पनि पुग्यो । भीमले उनीहरूलाई खोज्न चारैतिर मानिस पठाए । दमयन्तीलाई चेदीराजकहाँबाट उद्धार गरी विदर्भ ल्याए । तर भेष बदलेका नलको कुनै खबर भएन । दमयन्तीले आफ्ना प्रियतम नललाई खोज्न चारैतिर मानिसहरू पठाउन थालिन् । नल ऋतुपर्णकहाँ सारथिको रूपमा बसेको संकेत उनले पाइन् । नल रथ हाँक्न र पाककलामा अब्बल थिए । अयोध्याबाट विदर्भसम्म रथमा एकै दिनमा कोही आइपुग्न सक्थ्यो भने त्यो नलले मात्र सक्थे । यो विचार गरेर दयमन्तीले गोप्य रूपमा अयोध्या नरेश ऋतुपर्णलाई आफ्नो स्वयंवर हुन लागेको र भोलिकै दिनमा विदर्भ पुग्नू भनी निम्ता पठाइन् । दमयन्तीजस्ती स्त्रीलाई पाउने लोभमा ऋतुपर्ण विदर्भ जान लालायित भए । उनलाई एकै दिनमा विदर्भ पुर्‍याउन सक्ने व्यक्ति नलबाहेक कोही थिएन । बाटोमा आउँदै गर्दा नलले ऋतुपर्णलाई रथ हाँक्ने कला सिकाइदिए । ऋतुपर्ण जुवाका सिद्धहस्त थिए । ऋतुपर्णले सट्टामा नललाई जुवाको गणित र कला सिकाइदिए ।
साँझ पर्नै लाग्दा उनीहरू विदर्भ दरबारमा पुगे । तर त्यहाँ स्वयंवरको कुनै लक्षण थिएन । राजा भीमले ऋतुपर्णलाई यथोचित स्वागत गरेर अतिथि आश्रममा लगे । उता दमयन्तीले रथको पांग्राको आवाजबाटै चाल पाइसकेकी थिइन् रथ हाँक्ने व्यक्ति नल नै हो भनेर । तैपनि यकिन हुन सुसारेको सहायताबाट विभिन्न परीक्षण गरिन् यी सारथि नल नै हुन् कि होइनन् भनेर । अन्तमा नलले पकाएको भोजन चाखेपछि उनलाई यकिन भयो । पिता भीमको अनुमति लिएर उनले नलसँग भेटिन् । यो कुरा चाल पाएर राजा भीमले नलको धुमधाम स्वागत गरे ।

विदर्भबाट बिदा भएर दमयन्ती र नल आफ्नो देश फर्किए । नलले भाइ पुष्करसँग जुवाकै माध्यमबाट आफ्नो गुमेको राज्य फिर्ता लिए । उनीहरूको सुख र आनन्दको दिन फेरि पहिलेकै जस्तो हुन थाल्यो ।

सत्यवान र सावित्री
मद्रदेशका राजा अश्वपतिको सन्तान थिएन । जीवनको उत्तराद्र्धमा यिनलाई एक पुत्री प्राप्त भयो । छोरीको नाम यिनले सावित्री राखे । आजभन्दा, भोलिभन्दा सावित्री जवान भइन् । शरीरसँगै यिनको ज्ञान, रूप, स्वभावमा पनि निखार आयो । भारत वर्षभरि नै यिनको चर्चा चल्न थाल्यो । अश्वपतिलाई उमेर पुगेकी युवतीले आफूअनुकूलको वर आफैं छान्न पाउनुपर्छ भन्ने विश्वास थियो । उनले छोरीलाई आफूयोग्य पुरुष खोज्नू भनी बिदा दिएर घरबाट पठाए । सावित्री महिनौं विभिन्न ठाउँमा घुम्दै योग्य पुरुषको खोजीमा भौंतारिइन् । अन्तमा यिनले राज्यभ्रष्ट भएर वनबासी भएका शल्य नरेश द्युमत्सेनका छोरा सत्यवानलाई आफूअनुकूल देखिन् । द्युमत्सेन राज्यबाट धपाइएका मात्र थिएनन्, आँखासमेत देख्दैनथे । सत्यवान नै यिनको एक मात्र सहारा थियो ।

राजा अश्वपति सभामा नारद ऋषिसँग कुराकानी गर्दै थिए । यात्राबाट फर्किएकी सावित्री सोझै सभामा प्रवेश गरिन् । अश्वपतिको जिज्ञासाको जवाफ दिँदै उनले भनिन्, ‘भारत वर्षभरिमा मलाई मन परेको एउटै युवक सत्यवान हो । सत्यवानबाहेक अरूलाई म पति वरण गर्ने छैन ।’ सावित्रीको जवाफ सुनेर नारद गम्भीर भए र भने, ‘सावित्री तिम्रो रोजाइमा कुनै खोट छैन । राज्यभ्रष्ट भएका भए पनि द्युमत्सेन पुत्र सत्यवान सबै गुणले सम्पन्न युवक हुन् । तर यिनको आयु आजका मितिले ठीक एक वर्ष मात्र बाँकी छ । त्यसैले तिमीले कोही अर्को युवकसँग विवाह गर्नु उचित हुनेछ ।’ तर सावित्री आफ्नो निर्णयमा अडिग रहिन् । अन्तत: अश्वपतिले सावित्रीको विवाह सत्यवानसँगै गरिदिने निर्णय गरे । 

विवाहपछि सावित्री पतिसँग वनमै रहन थालिन् । उनीहरूको प्रेम गाढा हुँदै गयो । तर सावित्रीको मनबाट नारद ऋषिले गरेको भविष्यवाणी हटेको थिएन । यिनी दिन गन्दै बसेकी थिइन् । नारदले बताएको दिन आइपुग्न तीन दिन बाँकी भएपछि सावित्रीले कठोर व्रत सुरु गरिन् । सत्यवानलाई एक छिन पनि आफ्नो आँखाबाट ओझेल हुन दिइनन् । तोकिएको दिन पनि आयो । सत्यवान यो सब कुराबाट बेखबर थिए । यज्ञको समिधाको दाउरा लिन जंगल जान भनी सत्यवान निस्के । सावित्री पनि सँगै लागिन् । जंगलमा पुगेपछि सत्यवानले आफूलाई चक्कर लागेको र बिसन्चो अनुभव गरेको कुरा सावित्रीलाई बताए । सावित्रीले तत्कालै सत्यवानलाई आफ्नो काखमा सिरान लगाएर सुताइन् । सत्यवानको प्राण पखेरू तुरुन्तै उडयो । 

मृत सत्यवानलाई लिन यमराज स्वयम् हातमा पाश लिएर उपस्थित थिए । यमराजले सत्यवानलाई पाशले बाँधेर दक्षिण दिशातिर लिएर गए । सावित्रीले पनि सत्यवान जहाँ जान्छन् त्यहीँ जाने पवित्र वाचा गरेर सत्यवानसँग विवाह गरेकाले आफू पनि सँगसँगै जाने बताइन् । यमराजले सत्यवानको अनिवार्य मृत्युको कारण बताएर सावित्रीलाई फर्कन आग्रह गरे । तर सावित्री मानिनन् । सावित्रीको कठोर व्रत देखेर यमराजले पतिको जीवनको बदला अरू केही वर दिने वचन दिए । सावित्रीले सर्वप्रथम आफ्ना ससुराको आँखाको दृष्टि मागिन् । यमराजले यो वर दिए । सावित्री अझै फर्किनन् । यमराजले एकपछि अर्को वर दिँदै गए । दोस्रो वरस्वरूप सावित्रीले ससुरा द्युमत्सेनको राज्य फिर्ता मागिन् । तेस्रो वरमा पुत्रविहीन आफ्ना पिता अश्वपतिका लागि पुत्र मागिन् । र, चौथो वर स्वरूप उनले द्युमत्सेन र सत्यवानको उत्तराधिकारी पुत्रको वर मागिन् । जब यमराजले चौथो वरमा सहमति जनाए, सावित्रीले भनिन्, ‘म एक पतिव्रता स्त्री हुँ । सत्यवानबाहेक अरू कुनै पुरुषको कल्पना पनि म गर्न सक्दिनँ । सत्यवानबिना म कसरी पुत्रवती हुन सक्छु ?’ सावित्रीको चलाखीप्रति यमराज पराजित भए र सत्यवानलाई बाँधेको पाश खोलिदिए । 

कुनै दुस्वप्नबाट ब्युँझिए जसरी सत्यवान मूच्र्छाबाट ब्युँझिएर सावित्रीका साथ आश्रममा फर्किए । द्युमत्सेनलाई आँखाको दृष्टि प्राप्त भयो । केही समयपछि राजपाठ पनि फिर्ता मिल्यो । यमराजबाट प्राप्त सबै वर एकेक पूरा हुँदै गए । 

पश्चिमाभन्दा फरक
पूर्वीय परम्पराका यी प्रेमकथाहरू सबै संयोगान्त छन् । रुरूले आफ्नो उमेर दिएर प्रेयसीलाई मृत्युलोकबाट फिर्ता ल्याए । सावित्रीले प्रेमको बलले यमराजलाई परास्त गर्न सकिन् । दमयन्ती र नलको परस्परको समर्पणले पुनर्मिलन सम्भव भयो । प्रारम्भमा सुख, बीचमा वियोग र अन्तमा फेरि मिलन हुने यी कथाहरू प्राय: पश्चिमा प्रेमकथाभन्दा फरक छन् । पश्चिमा अमर प्रेमकथाहरू वियोगान्त पाइन्छन् । प्रेमको बलिवेदीमा नायक र नायिकाको सहादत प्राय: कथाका निष्कर्ष देखिन्छन् यिनीहरूमा । तर माथि चर्चा गरिएका र पूर्वीय वाङ्मयका धेरै अमर प्रेमकथामा प्रेमको बलले मृत्युलाई परास्त गरेको देखाइएको छ । पूर्वका कथामा अप्सरासँगका प्रेमप्रसंगहरूचाहिँ वियोगान्त पाइन्छन् । पुरुरवा, उर्वशीको वियोग यस्तै एउटा उदाहरण हो । तर मानव, मानवबीचका प्रेम भने नायक र नायिकाको कठोर संघर्ष, समर्पण र धैर्यको परिणामस्वरूप सुखद मिलनमा टुंगिएका भेटिन्छन् ।

प्रकाशित : माघ २९, २०७३ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?