पन्तको ‘मुन्द्री’ ऐरको ‘हतकडीमा देश’

कान्तिपुर संवाददाता

काठमाडौं — संगीतकार तथा साहित्यकार महेश्वर पन्तको ‘मुन्द्री’ कथा संग्रह र कवि तथा पूर्व भारोत्तोलन खेलाडी लालबहादुर ऐरको ‘हतकडीमा देश’ कविता संग्रहको राजधानीमा लोकार्पण गरिएको छ । कथाकार माया ठकुरी, अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) का वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, समालोचक प्रा.डा खगेन्द्रप्रसाद लुइँटेल र प्रा.डा पार्थिवेश्वर तिमल्सेनाले बुधबार कृतिको लोकार्पण गरे ।

पन्तको ‘मुन्द्री’ ऐरको ‘हतकडीमा देश’


अमेरिकाको बोस्टनमा बसेर पनि नेपाली भाषा साहित्यमा योगदान पुर्‍याउने दुई सष्ट्राहरूको नेपाली साहित्यप्रतिको अनुरागको कथाकार ठकुरीले प्रशंसा गरिन् । पन्त र ऐरले विदेशमा बसेर रचनाहरू गरे पनि कृतिमा नेपाली गाउँले जीवन, सामाजिक यथार्थ भएको प्रा.डा लुइँटेलले बताए । बीचबीचमा गीत, गजलहरूको प्रयोगले पन्तका कथामा सौन्दर्य थपेको बताउँदै लुइँटेलले बितेका कुरालाई भने कम गर्न उनले सुझावसमेत दिए ।

बालापनमा कथा सुन्दा मोहित हुने गरेको सम्झँदै प्रा.डा तिमल्सेनाले ‘मुन्द्री’ कथा संग्रह रक्षाको संकेतको रूपमा आएको उनले सुनाए । लेकालीले विश्वभरिका नेपाली साहित्यकारको छाता संगठनको रूपमा अनेसासले काम गरिरहेको बताए । ‘पन्तले एक वर्ष अगाडि लेखेका कथाहरूलाई पुस्तकमा संग्रहीत गरेका छौँ,’ उनले भने, ‘दुवै सष्ट्राले नेपाली माटो र नेपाली मुटुको लागि कृति लेखेका हुन् ।’ ‘मुन्द्री’ का लेखक पन्तले परदेशमा बस्दा भावनाबाट नेपाली माटो छोएर मुटुमा नेपाललाई धड्काइरहने बताए । ‘काम विशेषले बिदेसिनुपरेको हो ।

विदेशमा भए पनि साहित्यिक मन मरेको हुन्न,’ उनले भने, ‘कथाका पात्रहरूको पहिलो भेटलाई गहिरो बनाउने कोसिस गरेको छु ।’ पुस्तकबाट उठेको रकम कालीभक्त स्मृति प्रतिष्ठानमा जम्मा हुने र अन्य सष्ट्रालाई पुस्तक निकाल्नको लागि सहयोग गर्ने जनाए ।

प्रकाशित : फाल्गुन ५, २०७३ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?