अनेसास विधान संशोधन सुझाव समिति तथा कथा संग्रह सम्पादन समिति गठन

कान्तिपुर संवाददाता

काठमाडौं — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले डा. तारा निरौलाको संयोजकत्वमा पाँच सदस्यीय अनेसास विधान संशोधन सुझाव समिति गठन गरेको छ ।

उक्त समितिमा अनेसास ट्रष्टी सदस्य डा. विजयराज शर्मा, पूर्वउपाध्यक्ष राम खत्री, पूर्वविधान संशोधन सुझाव समितिका सदस्य धनिराम सापकोटा र साहित्यकार तथा अनेसास इजरायल च्याप्टरकी महासचिव निशा अर्याल रहेका छन् । समितिले आजीवन तथा ट्रष्टी सदस्यहरू, साहित्यकारहरु, च्याप्टरका पदाधिकारीहरु र अनेसासलाई माया गर्ने महानुभावहरुको सुझाव संकलन गरी वर्तमान विधानलाई समय सापेक्ष बनाउन आवश्यक पर्ने सुझावहरु केन्द्रीय कार्यसमितिमा पेश गर्ने छ ।

यसै गरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट नेपाली साहित्यका उत्कृष्ट छोटा कथाहरु संकलन, अनुबाद तथा प्रकाशन गर्ने उद्देश्यले पाँच सदस्यीय सम्पादन समिति गठनगरेको छ। सो समितिमा समालोचक लिला लुइँटेल,अनेसासका अध्यक्ष श्री पदम विश्वकर्मा, बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, महासचिव गोबर्धन पूजा र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौड्याल रहेका छन् ।

केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णयहरु गरेको हो ।

प्रकाशित : फाल्गुन ६, २०७३ १०:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कुखुराले आत्मनिर्भर

विमल खतिवडा

व्यावसायिक कुखुरापालनमा लाग्ने सोच आयो भने पहिला कुन जातको र कस्तो ठाउँमा पाल्ने भन्ने निधो गर्नुपर्छ । यसका लागि विज्ञ तथा अनुभवी व्यक्तिहरूसँग परामर्श लिन सकिन्छ । कति लगानी गर्ने हो, त्यहीअनुसार योजना बनाउनुपर्छ ।

आवश्यकताअनुसार ह्याचरी तथा दाना उद्योगी र भेटेरिनरी डाक्टरको सल्लाह लिनुपर्छ । 

दर्ता प्रक्रिया
२ सयभन्दा बढी कुखुरा पाल्ने फर्म जिल्ला पशु सेवा कार्यालयमा सूचीकृत हुनुपर्छ । त्यसपछि जिल्ला घरेलुमा पनि फम दर्ता गर्नुपर्छ जहाँ १० करोडसम्म लगानीको फर्म दर्ता हुन्छ । कम्पनी र प्रालि बनाउने हो भने दर्ता गराउन कम्पनी रजिस्टरको कार्यालय जानुपर्छ । निजी र साझेदारी फर्म हो भने घरेलुमा दर्ता हुन्छ । कम्पनी रजिस्टरको कार्यालय भने त्रिपुरेश्वर काठमाडौंमा छ । अझै ठूलो लगानी हो भने उद्योग विभागमा दर्ता गर्नुपर्छ । 
पशु कार्यालय, घरेलु, कम्पनी रजिस्टरको कार्यालय र उद्योग विभागमा व्यवसाय दर्ता गरेपछि बैंकबाट ऋण लिन सजिलो हुन्छ । दर्ताका लागि निवेदन, कुखुरा पाल्ने जग्गाको लालपुर्जाको फोटोकपी, सँधियारको सर्जिमिन मुचुल्का जुटाउनुपर्छ । ठूलो प्रकृतिको व्यवसाय अर्थात् २० हजारभन्दा बढी कुखुरा पाल्ने हो भने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार पार्नुपर्छ जसमा व्यवसायको सम्पूर्ण विवरण खुलाउनुपर्छ । यसका लागि नगरपालिका र घरेलुले राष्ट्रिय र स्थानीय पत्रिकामा १५ दिने सूचना प्रकाशित गर्नुपर्छ । यो उद्योग सञ्चालन गर्दा वातावरणीय प्रभाव पर्छ पर्दैन भनेर सूचनामा खुलाउनुपर्छ । त्यही भएर उद्योग सुरु गर्नुअघि यससँग सम्बन्धित विज्ञसँग राम्रोसँग छलफल गर्नुपर्छ । सूचना प्रकाशनपछि कुनै उजुरबाजुर नभए उद्योग सञ्चालनका लागि बाटो खुल्छ । दर्ता गरेपछि स्थायी लेखा नम्बर (पान) लिनुपर्छ । कुखुराको संख्याअनुसार पशु चिकित्सक र प्राविधिकको सल्लाहमा वातानुकूलित खोर बनाउनुपर्छ जहाँ बाटो, बिजुली र पानी हुनुपर्छ । 

राजस्व
पुँजी लगानीको आधारमा राजस्व बुझाउनुपर्छ । औद्योगिक व्यवसाय ऐन ०७३ अनुसार १ लाख लगानी गरी व्यवसाय दर्ता गर्दा १ हजार १ सय राजस्व बुझाउनुपर्छ । जसको नवीकरण शुल्क ६ सय छ । त्यस्तै ३ लाखभन्दा माथिको व्यवसाय दर्ता गर्दा ३ हजार १ राजस्व र नवीकरण गर्दा १ हजार लाग्छ । ५ लाख लगानी गरी दर्ता गर्दा ६ हजार १ सय र नवीकरण शुल्क १ हजार ६ सय लाग्छ । २० लाख लगानी गर्दा १२ हजार १ सय राजस्व र ३ हजार नवीकरण शुल्क चाहिन्छ । १ करोडसम्म लगानी भए २० हजार १ सय राजस्व र ५ हजार नवीकरण शुल्क लाग्छ । ५ करोड लगानीमा ३० हजार राजस्व र ८ हजार नवीकरण शुल्क तिर्नुपर्छ । १० करोडसम्मको फर्म दर्ता घरेलुले हेर्छ । तर १० करोड लगानी गर्ने फर्म दर्ता गर्न व्यवसायको ईआईए गराउनुपर्छ । 
चल्ला कस्तो राख्ने भनेर भेटनरी डाक्टरको सल्लाह लिन जरुरी छ । कुन चल्ला राख्दा चाँडो नाफा आर्जन गर्न सकिन्छ त्यसमा पनि ध्यान दिनुपर्छ । बिचौलियाको समस्या हुनाले सीधै ह्याचरी उद्योगमा गएर चल्ला लिन सकिन्छ । ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा ६० रुपैयाँ छ । त्यस्तै लेयर्सको १ सय २० रुपैयाँसम्म छ । कुखुरा पाल्नुअघि यसबारे तालिम लिँदा व्यवसायबारे बढी जानकार भइन्छ । गैरसरकारी संस्थाले व्यवसायीलाई लगानी गरेका छैनन् । सरकारबाट कुनै किसिमको अनुदान छैन । वित्तीय संस्थामा धितो राखेर ऋण लिई व्यवसाय गर्ने गरिएको छ । बिनाधितो ऋण पाइँदैन । पोल्ट्रीमा ठूलो समस्या बर्डफ्लु हो । यसको बिमा छैन । सरकारले नीति ल्याए पनि बिमाले बर्डफ्लुलाई समेट्दैन । 

चल्ला व्यवस्थापन 
ह्याचरीबाट चल्ला आउनेबित्तिकै बाकसबाट निकाल्नुपर्छ । त्यसपछि सन्तुलित चिनीपानी (इलेक्ट्रो लाइट) सबैलाई खुवाउनुपर्छ । दुई दिनसम्म स्टाटर दाना खुवाउनुपर्छ । बी वान र फिनिसर दाना ३ देखि ४ हप्तासम्म दिइन्छ । ४ हप्तापछि नबेचुन्जेल फिनिसर दाना खुवाउनुपर्छ । यो ब्रोइलर कुखुराको हकमा हो । ब्रोइलर ६ देखि ७ साताभित्र बिक्री गरिसक्नुपर्ने हुन्छ । जुन ४ किलो दाना खुवाउँदा २ किलो मासु बन्नुपर्ने हुन्छ । 
वरिपरि कस्तो रोगको प्रभाव छ, हेर्नुपर्छ । रोगका रूपमा देखा पर्ने रानीखेतविरुद्धको भ्याक्सिन पहिलो ७ दिनभित्र लगाउनुपर्छ । त्यसपछि १२ देखि १४ दिनभित्र गम्बरोको पहिलो भ्याक्सिन दिनुपर्छ । २२ देखि २४ दिनमा दोस्रो गम्बरोको भ्याक्सिन दिनुपर्ने नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष डा. होमबहादुर बस्नेत बताउँछन् । २८ देखि ३० दिनमा रानीखेत रोगको पुन: भ्याक्सिन दिनुपर्छ । प्रकोप बढी भए भेटनरी डाक्टरको सल्लाहमा थप उपचार र भ्याक्सिन लगाउनुपर्छ । त्यस्तै चल्ला ल्याएको ३ देखि ५ दिनसम्म साधरण एन्टिबायोटिक र कीटाणुविरुद्धको औषधि दिनुपर्छ । गम्बरोको भ्याक्सिन लगाएपछि दोस्रो हप्ताभित्र एक साता मल्टी भिटामिन दिनुपर्छ । २५ दिनको भएपछि बी कम्प्लेक्स भिटामिन र लिभरटोनिक खुवाउनुपर्छ । यो ब्रोइलर कुखुराका लागि हो । 
लेयर्सलाई पनि दुई दिनसम्म स्टाटर दाना खुवाउनुपर्छ । ६ हप्तासम्म एल वान दाना दिनुपर्छ । ६ देखि १६ हप्तासम्म ग्रोबर दाना अर्थात् एल टु दाना दिनुपर्छ । एल थ्री दाना भने अण्डा उत्पादन गर्ने गरी दिनुपर्छ । १४ देखि १६ हप्तापछि अण्डा उत्पादन हुन थाल्छ । यसलाई प्रकाश (उज्यालो) को महत्त्व बढी हुन्छ । २० हप्ता पुग्दा यसलाई १६ घण्टा प्रकाशको आवश्यकता पर्छ ।

खोर कस्तो हुनुपर्छ ? 
खोर राम्रोसँग सफा गर्नुपर्छ । २ देखि ३ इन्चमा धानको डँडाल्नु बाक्लो बनाएर भुइँमा राख्नुपर्छ । त्यसलाई कागजले छोपेर चल्ला राख्नुपर्छ । दानाको भाडा र पानीको भाडा लाइनमा मिलाएर राख्नुपर्छ । पहिला खोरको तापक्रम ३२ देखि ३५ डिग्री सेल्सियस अर्थात् ९५ डिग्री फरेनहाइट हुनुपर्छ । दोस्रो साताबाट ९०, तेस्रोबाट ८५ र चौथोबाट ८० डिग्री फरेनहाइटमा राख्नुपर्छ । लेयर्सलाई पनि यसरी नै राख्न सकिने अध्यक्ष बस्नेत बताउँछन् ।

कर कति ? 
व्यवसायको आम्दानीका आधारमा कर तिर्नुपर्छ । नाफाको २५ प्रतिशत कर बुझाउनुपर्ने हुन्छ । यो व्यवसायमा लाग्नेका लागि सरकारले खासै केही अनुदान व्यवस्था गरेको छैन । ५ प्रतिशत ब्याजमा ऋण रकम उपलब्ध गराउने भनिए पनि किसानले पाउन सकेका छैनन् । बैंकबाट ऋण लिएर किसानले यो क्षेत्रमा लगानी गर्दै आएका छन् । लगानी महँगो भए पनि परिवार पाल्ने राम्रो आधार कुखुरा बन्ने गरेको छ । 

बैंकिङ सुविधा
पशु तथा पन्छी पालन व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट ६ प्रतिशत ब्याजदरमा ऋण सुविधा पाइन्छ । यसअन्तर्गत बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याजदरमा ऋण प्रदान गर्छन् । त्यसमध्ये ६ प्रतिशत ब्याज किसानले तिर्नुपर्छ । बाँकी ४ प्रतिशत ऋण सरकारले बैंकलाई भुक्तान गरिदिन्छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले ६ प्रतिशतको ब्याजदर घटाएर ५ प्रतिशत बनाएको छ । तर, त्यो कार्यान्वयनमा आइसकेको छैन । त्यो कार्यान्वयनमा आएपछि किसानले ५ प्रतिशतमा ऋण पाउने छन् । ऋणको अधिकतम सीमा १ करोड रुपैयाँ कायम गरिएको छ । तर, व्यवसायको सम्भावना र मुनाफाका आधारमा बैंकले उक्त सीमा बढाउन सक्नेछ । परिपक्व अवधि बढीमा पाँच वर्षको हुनेछ । नागरिकताको फोटोकपीसँगै आफ्नो फार्मको सम्पूर्ण कागजात, धितो राख्न मिल्ने सम्पत्तिको कागजपत्र आदि । 

आयातित कच्चा पदार्थ
पोल्ट्रीका लागि चाहिने कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने बाध्यता छ । ‘आवश्यकता बढिरहेको छ, उत्पादन घटिरहेको छ,’ पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराईले भने, ‘कच्चा पदार्थका लागि करिब १५ अर्ब कृषिजन्य वस्तु विदेशबाट आयात हुने गरेको छ ।’ आफ्नै मुलुकमा उत्पादन गर्न सकिए सस्तो र समयमै पाइने उनले बताए । नीतिगत रूपमा कृषि भनिए पनि कृषिसरह सेवासुविधा नपाइएको गुनासो विज्ञहरूले गरे । 

 

“कर्मचारी बने किसान”
 - नेत्र हमाल

मैले सरकारी सेवामा २२ वर्ष बिताएँ । उमेर ५३ वर्ष भयो । कृषि कार्यालयमा प्राविधिक सहायकको काम गर्थें । जागिरकै सिलसिलामा ०५३ सालमा कुखुरापालनमा हात हालें । ०६३ सालमा सेवाबाट पेन्सन पकाएँ । सुरु ३ सय २० लेयर्स कुखुराबाट गरें । अहिले फार्ममा १३ हजार २ सय ६० कुखुरा छन् । घरकै आडमा खोर बनाएर कुखुरा पालेको छु । 
भरतपुर १६ ढड्डाघारीस्थित छहारी चोकमा घर छ । फर्मको नाम नवीन पोल्ट्री राखेको छु । थोरै कुखुरा भएकाले ०६३ सालमा मात्र फर्म दर्ता गराएँ । व्यवसाय ठूलो हुँदै गएको छ । आम्दानीको स्रोत पनि बढ्दै गएको छ । चल्ला सहज रूपमा पाइन्छ । बजारमा अण्डाको मूल्य कम भएका बेला चल्लाको मूल्य पनि घट्छ । ह्याचरीबाट चल्ला ल्याएर वातावरण अनुकूल बनाउनुपर्छ । 
बिहान सबेरै उठ्छु । कुखुराको रेखदेखमा व्यस्त हुन्छु । यो व्यवसायमा सबैभन्दा ठूलो समस्या बर्डफ्लुको छ । सरकारी राहत छ । क्षति ठूलो भए पनि कुखुराको संख्याको आधारमा राहत पाइन्छ । बजार स्थिर छैन । बिचौलियाको समस्या छ । 
चितवनको मुख्य बजार काठमाडौं हो । यहाँ उत्पादन भएको पोल्ट्रीजन्य पदार्थ काठमाडौं पठाइन्छ । पोल्ट्रीमा लगानी बढी छ । जोखिम पनि उस्तै छ । तर यही व्यवसायको बिमा छैन । सरकारले कृषि क्षेत्रलाई ५ र ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भनेको भए पनि त्यो पाउन सकिएको छैन । सरकारी सुविधा त केही पाइएको छैन । सामान्य किसानले ऋण पाउन समस्या हुन्छ । 
कुखुरापालन घर धान्ने आधार बनेको छ । श्रीमती शोभाले व्यवस्थापनको काम हेर्छिन् । ३ जनालाई रोजगार दिएको छु । २ छोरालाई यसैको आम्दानीले पढाएको छु । आफैं कृषि प्राविधिक सहायक भएकाले व्यवसायबारे बढी सचेत छु । खोरमा नयाँ मान्छेलाई प्रवेश गर्न दिन्न । अण्डा ढुवानी गर्दा गेटमा सवारी साधन राखेर मात्र ढुवानी गराउँछु । खोरमा जाने छुट्टै चप्पल व्यवस्था गरेको छु । अहिलेसम्म ठूलो विपत्ति आइपरेको छैन । पहिल्यै सुरक्षा अपनाउनु राम्रो हुन्छ । पेसाबाट सन्तुष्ट छु । अब कतै गएर काम गर्नु छैन । सिक्न आउनेलाई कुखुरापालन व्यवसायबारे सिकाउने गरेको छु । छोराहरूले समेत यो पेसामा सघाउँछन् । काम ठूलो सानो हुँदैन । काममा सधैं एकाग्रता र धैर्यता हुनुपर्छ । व्यवसायप्रति सधैं सचेत हुनुपर्छ । मेहनत गर्दै गएपछि एक दिन अवश्य सफल भइन्छ ।
(कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन ६, २०७३ १०:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT