कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बनारसमा साहित्यकारद्वय घिमिरे र श्रेष्ठलाई सम्मान

गणेश राई

बनारस — नेपाली साहित्यको उन्नयन केन्द्र बनारसमा साहित्यकारद्वय रोचक घिमिरे र दुर्गाप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । नेपाल साहित्यिक पत्रकार संघले भारतको वाराणसीमा आयोजना गरेको विशेष समारोहमा सम्मान प्रदान गरेको हो । काशी हिन्दू विश्वविद्यालय (बीएचयु)का प्राध्यापक दिवाकर प्रधान र संघका अध्यक्ष नगेन्द्रराज शर्माले नगद दश–दश हजार भारतीय रुपैयाँ राशिसहित उक्त सम्मान प्रदान गरेका हुन् ।

बनारसमा साहित्यकारद्वय घिमिरे र श्रेष्ठलाई सम्मान


सम्मानित साहित्यकार रोचक घिमिरे वि.सं.१९९८ सालमा रामेछापको मन्थलीमा जन्मिएका हुन् । उनले वि.सं. २०१८ सालदेखि राजधानी काठमाडौंबाट ‘रचना’ द्वैमासिक साहित्यिक पत्रिका सम्पादक तथा प्रकाशन गर्दैआएका छन् । उनको ‘सम्झनामा फक्रिएका थुँगाहरू’ निबन्ध संग्रहलगायत विभिन्न सम्पादित पुस्तक प्रकाशित छन् ।
सम्मानित दुर्गाप्रसाद श्रेष्ठ वि.सं.१९९३ सालदेखि हालसम्म बनारसबाट प्रकाशनमा रहेको ‘उदय’ साहित्यिक पत्रिकाका प्रधान सम्पादक हुन् । सन् १९३९ मा जनकपुरमा जन्मिएका साहित्यकार श्रेष्ठ सानै उमेरमा आफ्ना बाबु काशीबहादुर श्रेष्ठका साथ बनारसको चौखम्बा पुगेर स्थायी बसोबास गर्दैआएका छन् । काशीबहादुरले प्रकाशन थालेको ‘उदय’ साहित्यिक पत्रिका पिताको निधनपछि दुर्गाप्रसादले प्रकाशन निरन्तरता दिदैआएका छन् । उक्त पत्रिका हालसम्म १ सय ६३ अंक प्रकाशित छ ।
साहित्यकार दुर्गाप्रसादका नेपाली भाषामा ‘सम्झनाको बादल’ र ‘सोनिया’ कथासंग्रह, ‘चण्डीघोष स्ट्रीट’, ‘बागमती साँक्षी छ’, ‘उसको अन्तहीन कथाहरू’ र ‘कोसेली’ उपन्यास तथा ‘देश–देशान्तर’ यात्रा संस्मरण कृति प्रकाशित छन् । त्यसैगरी हिन्दी भाषामा ‘सत्तारे मौसी’ कथासंग्रह, मराठी भाषामा ‘आठव मेघ’ कथासंग्रह प्रकाशित छन् । संघका उपाध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मातृका पोखरेलले सम्मानित व्यक्तित्वद्वयको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए ।
त्यस अवसरमा साहित्यकार डीआर पोखरेलले ‘नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि समालोचक निनु चापागाई, प्राध्यापक दधिराज सुवेदी, प्राध्यापक डा. गोपाल भण्डारी, बिएचयुका प्राध्यापक डा. सञ्जय राई र डा. गोपालप्रसाद अधिकारीलगायतले टिप्पणी तथा विचार व्यक्त गरेका थिए । वाराणसीस्थित विद्यार्धम प्रचारिणी नेपाली समितिका मन्त्री विजयकुमार श्रेष्ठ, संघकी उपाध्यक्ष लक्ष्मी उप्रेती, महासचिव मोहन दुवाल, उपमहासचिव चेतनाथ धमला, सचिव यादव भट्टराई, सदस्यद्वय गंगा सुबेदी र लक्ष्मी भट्टराईले साहित्यका विविध पक्षबारे विचार व्यक्त गरेका थिए ।
संघका अध्यक्ष शर्मा नेतृत्वमा बनारस साहित्यिक यात्रा टोलीमा साहित्यकार तथा पत्रकारहरू नरेन्द्रबहादुर श्रेष्ठ, वियोगी बुढाथोकी, नवराज पुडासैनी ‘ज्योत्सना’, रामप्रसाद पन्त, आरएम डंगोल, अर्जुनबहादुर तामाङ, होमशंकर बास्तोला, ठाकुर शर्मा, राधिका गुरागाई, यज्ञ सुबेदी, गणेश राई, गायत्रीकुमार चापागाई, माधव पोखरेल ‘गोज्याङ्रे’, दिङलाली कान्छा, रामेश्वर राउत ‘मातृदास’, सूर्य लाकाजु, भारती श्रेष्ठलगायत सहभागी थिए । साथै, बिएचयुबाट नेपाली विषयमा विद्यावारिधि शोधार्थी सिर्जना शर्मा र नारायण निरौलालगायत विद्यार्थी सहभागी थिए ।

प्रकाशित : फाल्गुन ६, २०७३ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?