कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा कविता महोत्सव

४० भाषाका ४२ कविता
२०४६ पछि नेपालमा हामीले हेर्दाहेर्दै धेरै भाषा लोप भइसके : बैरागी काइँला
सुनिता साखकर्मी

काठमाडौं — तथ्यांकअनुसार नेपालमा १२३ भाषा बोलिन्छ । मातृभाषाकै रुपमा रहेका संख्या यकिन छैन । भाषाशास्त्रीले ती मातृभाषाहरुको अवस्था लोपोन्मुख छ भनिरहेका छन् । तिनै लोपोन्मुख भाषाको सम्वर्द्धन र प्रवर्द्धनका लागि वर्षमा एक दिन साइत जुर्ने गरेको छ–२१ फेब्रुवरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस । यही दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ आयोजना गरेको छ ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा कविता महोत्सव

नेपालमा मात्र नभई विश्वकै विविध भाषाहरु लोप भइरहेको प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले बताए । ‘२०४६ सालपछि नेपालमा हामीले हेर्दाहेर्दै धेरै भाषाहरु लोप भइसके,’ उनले भने, ‘आफ्नो भाषा नबोल्नु, नलेख्नु, प्रयोग नगर्नुले लोप भएको हो । जातिगत भाषा र पहिचान बचाएमा मात्र नेपालीत्व बलियो हुन्छ ।’ भाषा पर्यटन विकास गर्न सकेमा लोपोन्मुख भाषाको संरक्षण गर्न सकिने उनले सुझाए । उनी भन्दै थिए, ‘मातृभाषामा वाचन भएको कविताहरु नबुझेपनि मातृभाषा बोलेको सुन्दा आनन्द लाग्यो ।’

नेपालका हरेक भाषाको उच्च महत्व रहेको बताउँदै प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले भने, ‘भाषाले जातिय अभिव्यक्ति दिने मात्र नभई नेपालीलाई एकवद्ध गरेको छ ।’ मातृभाषाका कवितामार्फत् कविहरुले भाषिक पहिचान र पीडाहरु पोखेको प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख श्रवण मुकारुङले सुनाए । पूर्वजहरुको भाषाको जगेर्नाका लागि गरिएको कार्यक्रममा दक्षिण कोरियास्थित युरेसिया कल्चर फोरमका महासचिव दायकि जुङले खुसी व्यक्त गरे । ‘इतिहासमा बिलाएर जान सक्ने भाषालाई नेपालमा साहित्यमार्फत् जोगाउने कोशिस राम्रो हो,’ उनले भने, ‘भाषा नबुझे पनि कविताको अन्तर ध्वनीमार्फत् बुझ्ने कोशिस गर्छु ।’

युनेस्कोले सन् १९९९ मा फेबु्रअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवका रुपमा मनाउने निर्णय गरेको हो । सन् २००० बाट विश्वव्यापी रुपमा मनाउन थालिएको हो । मूलत: मातृभाषा आन्दोलनका क्रममा बंगलादेशका चार विद्यार्थीले सहादत पाए थिए । तिनै सहिदको बलिदानीको कदर स्वरुप युनेस्कोले अन्तर्राष्ट्रिय मातृभाषा दिवस विश्वव्यापी रुपमा मनाउने अभियान थालेको हो ।

मातृभाषा कविता महोत्सवमा सम्बन्धित भाषीले मात्र मातृभाषा वाचन गर्छन् भन्ने लाग्छ । तर, कलाकार शैलेन्द्र सिम्खडाले ‘तामाङ’ भाषाको कविता कलात्मक ढंगले वाचन गर्दा दर्शकदीर्घामा तालीको पर्रा छुट्यो । कवि मुक्तिनाथ घिमिरेले ‘दुरा’ भाषामा कविता वाचन गरे । घिमिरे दुरा भाषाका एक्ला वक्ताका रुपमा लिइन्थ्यो तर यो पटक देव दुराले ‘दुरा’मा कविता वाचन गरे ।
तामाङ भाषामा काभ्रेकी रञ्जना मोक्तान र सिन्धुलीका रुपक घलान कविता वाचन गरे । आनन्द गुप्ताले ‘भोजपुरी’, स्मृति अधिकारीले ‘खस’, रमेश केवरतले ‘केवरत’, लक्ष्मी ऐडीले ‘हुम्ली’, किरण कुमार बरामले ‘बराम’, रमा खड्काले ‘डोटेली’, जिडी राईले ‘बान्तावा’, मोनालिसा तेङमालीले ‘धिमाल’, सुशील थारुले ‘थारु’, टेक लाओतीले ‘लिम्बु’ भाषामा वाचन गरे ।

त्यसैगरी खोटाङकी अम्बिका वाम्बुले राईले ‘वाम्बुले’, रेनुका बाहिङले ‘बाहिङ’, लोचनज्योति राईले ‘चाम्लिङ’, भावना कुमारी झाले ‘मैथली’, श्रीकुमार पुमा राईले ‘पुमा’, शोभा सुनुवारले ‘सुनुवार’, विकेश थामीले ‘थामी’, कुमारी शरणा उराँवले ‘उराँव’, तेजमाया मुरह दुमीले ‘दुमी’, तेजेन्द्र ताजपुरियाले ‘ताजपुरिया’, छम गुरुङले ‘गुरुङ’, नवीन प्रकाश श्रेष्ठले ‘नेवार’ लगायत ४० भाषाका ४२ वटा कविता वाचन गरिए । त्यस्तै मुगाल, घले, याक्खा, नाछिरिङ, मगर ढुट, कुलुङ, उर्दू, मगर खाम, बज्जिका, मगर काइके, अवधी, कुमाल, लोहोरुङ, ल्होमी, छलङ भाषाका रचना वाचन गरिएको थियो । दुई दिने महोत्सवको दोस्रो दिन तामाङ, धिमाल, लामा, लिम्बु, थारु, नेवार, गुरुङ, सुनुवार, राई, घले, हुड्काली, मगर जातिले साँस्कृतिक झाँकीसहित र्‍याली प्रदर्शन गरेका थिए । कमलादीबाट सुरु भएको र्‍याली रत्नपार्क, बागबजार, पुतली सडक हुँदै प्रतिष्ठानमा गएर टुङ्गिएको थियो ।

तस्बिर : गणेश राई/कान्तिपुर

प्रकाशित : फाल्गुन १०, २०७३ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?