२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

आफ्नै थलोमा रमाउँदै पूर्वेली संगीतकर्मी

कुम्भराज राई

ओखलढुंगा — ‘रिटिङ रिटिङ नबजाऊ बिनायो...’ बोलको गीतको यो अन्तरा गाउँदा अहिले पनि ८२ वर्षीय एलपी जोशी मच्चिएर कुम हल्लाउँछन् । बूढाहरू त के युवाहरूले समेत उनको गीतमा साथ दिन्छन् । २०३० को दशकमा खुबै चर्चित भएको यस गीतबाहेक उनका दर्जनौं गीत छन् । रेडियो नेपालको जमानामै चर्चित एलपी जोशी पूर्वमै बसेर संगीत सिर्जना गर्ने पुराना संगीतकर्मी हुन् ।

आफ्नै थलोमा रमाउँदै पूर्वेली संगीतकर्मी

सरसर मदानी सर
पोईको घर नजाने को छ र
साइँला दाइ आइयाया आकाका...

उनी झापाको दमकमा बस्छन् । खाली समयमा घर व्यवहार, छोरा नातिलाई सहयोग गर्नेदेखि लिएर पसलमा समेत भेटिन्छन् । तर बाँकी समय सांगीतिक कार्यक्रममै हुन्छन् ।

‘भर्खरै इटहरीमा एउटा टेलिभिजनले लाइफटाइम अचिभमेन्ट अवार्ड दियो,’ जोशीले टेलिफोनमा भने, ‘त्यसपछि  इमेज च्यानलमा लोक गीतको कार्यक्रमको जजमेन्ट गरिदिन निम्तो थियो । तर राजधानीबाहिर भएकोले सक्दिनँ भनेँ ।’

जोशीले आफूलाई पूर्वमै रमाइलो लाग्ने बताए । राजधानीले मोफसलका कलाकारलाई प्राय:जसो बेवास्ता नै गर्ने गरेको उनको आरोप छ । तर कसैलाई दोष दिनु छैन रे उनलाई । आफ्नै गाउँघरमा रमाउनुको छुट्टै मज्जा भएको उनले बताए । पूर्वका महोत्सव, सांगीतिक कार्यक्रममा बुढेसकालमा भए पनि युवा जोस लिएर जोशी कुदिरहन्छन् ।

इलामको श्रीअन्तुमा बस्ने गायक कुवेर राईलाई टेलिफोन गर्दा, ‘हैन हौ भाइ, म त गाउँमा सडक खन्ने योजनाको काम पो गर्दै छु,’ राईले भने, ‘निर्वाचन क्षेत्र विकास कार्यक्रमको योजनाको कामले अलिकति भुलायो ।’ कहिले चियाबारीमा चिया टिप्दै, कहिले घरायसी काममा व्यस्त भेटिने कुवेर पनि गाउँबाटै उदाएका गायक हुन् । उनले श्रीअन्तुमै बसेर गीत सिर्जना गरे । त्यहीँ बसेर तयार गरेको गीतले चर्चित भए । ‘मायाले मूलबाटो भुलेछ, नौ रंगी फूलबारी देखेर..’ जस्ता उनका गीत अझै लोकप्रिय छन् ।

गाउँमै बसे पनि आफूलाई देशविदेशबाट कार्यक्रमका लागि प्रस्ताव आउन नछोडेको कुबेरलेबताए । गाउनकै लागि धेरै देश गइसकेका उनले भने, ‘मोफसलमा बसेर नि नेपाली संगीतमा छाप छोड्न सफल भएको छु । मलाई कुनै पछुतो छैन ।’

उनकै गाउँले मानसिं थुलुङ पनि विगत चार वर्षदेखि श्रीअन्तुमै छन् । दर्जनौं चर्चित गीतहरूको कम्पोज गरेका मानसिंको एउटै गीत सधंैको परिचायक बन्यो । ‘हाँसिराख न माया, बोलिराख न...’ बोलको गीत उषाकिरण अधिकारीसँग गाएका गायक थुलुङले पनि ‘गाउँघरका मान्छेले जे काम गर्छन्, हिजो आज त्यही पो गरिन्छ हौ ।’ भन्दै कुवेरकै लयमा जवाफ फर्काए । उनले ‘वेस्टर्न अर्केस्ट्रा’ मा समेत रुचि र ज्ञान भएकोले फुर्सदको समयमा गाउँका युवाहरूलाई सिकाउने गरेका छन् । उमेरले ६ दशक पूरा गरिसकेको छ । उनलाई राजधानी छोडेपछि सबैले बिर्सिसकेका छन् । 

‘छपनीले छान छान, डबकीले हान...’ गीतका गायक गंगा वरदान पनि प्राय: धरानको गल्ली र सडकमै भेटिन्छन् । ‘कहाँमा काट्यो बेतको लौरी..’ बोलको उनको गीत दार्जिलिङका गायक विपुल क्षेत्रीले चोरेर गाएपछि हिजोआज अलि दु:खी छन् । ‘कम्ती दु:खले मैले जमानामा गाएको गीत उनले मलाई एकचोटि पनि नसोधी गाएँ,’ वरदानले भने, ‘एकचोटि सरीसम्म भनेनन् ।’ प्राय: धरान र आसपासका कार्यक्रममा भेटिने वरदान आफूलाई पूर्वबाटै परिचित हुन पाएकोमा दंग छन् ।

राजधानीमा त दमदार गायकहरूको भन्दा खोक्रो संगीतले बढावा पाएको उनले आरोप लगाए । उनी सबै गीत धरानमै तयार गर्छन् । गीत रेकर्ड गर्नेलगायतका कामका लागि मात्र राजधानी जाने गरेका उनी अहिले पनि रेकर्डिङका लागि उतै जाने सोचमा छन् । ‘छिट्टै जाउँ भनेको यहाँभन्दा उता धेरै धुलोमैलो छ रे ।’ वरदानले भने, ‘महिनादिन पछि जान्छु होला ।’

प्राय: जुनसुकै क्षेत्रमा लोकप्रिय र चर्चित हुनका लागि राजधानी पस्नैपर्छ भन्नेहरूका लागि उनीहरू अपवाद हुन् । जसले पूर्वका गाउँघरमै बसेर नेपाली लोक, आधुनिक संगीतलाई देशविदेशसम्म लोकप्रिय बनाउन सफल भएका छन् । उनीहरू मात्र होइनन् । कतिपय संघर्षरत नयाँ पुराना स्रष्टाहरू गाउँघरबाटै आफ्नो अनेक सिर्जना जन्माइरहेका छन् । यी पुराना र चर्चित स्रष्टाहरूको एउटै सामूहिक विचार छ, ‘पूर्वबाटै उदाइयो, पूर्वमै अस्ताउने रहर छ । राजधानी खाल्डोमा भन्दा बाहिरै धेरै माया पाइएको छ ।’

प्रकाशित : फाल्गुन १९, २०७३ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?