‘कविता सजिलै लेख्नुस्’

काठमाडौं — साहित्यकार डा. देवी नेपाल छन्द कविका अभियन्ता हुन् । पछिल्लो समय उनको व्यस्तता बढ्दो छ । छन्द कविता लेखन प्रशिक्षणका लागि कहिले उनी पूर्व पुगिरहेका हुन्छन्, कहिले पश्चिम । ‘छन्दको सुगन्ध’ कृतिका यी स्रष्टा शनिबार राजधानीमा कविता लेखनसम्बन्धी पावर प्वाइन्ट प्रिजेन्टेसनका क्रममा थिए ।

‘कविता सजिलै लेख्नुस्’

राष्ट्रिय नाचघरमा उनले कविता र सिर्जनात्मक लेखनसम्बन्धी विद्युतीय कार्यपत्र नै प्रस्तुत गरे । उनले नेपाली कवितामा वार्णिक, मात्रिक, लोक, मुक्त र बहर छन्दको प्रयोगसम्बन्धी प्रस्ट्याउँदै गद्य कविता पनि लय हुन सक्ने उदारहण दिए । युवा पुस्ताले कवितालाई बुझ्ने तरिका दुई शैलीको रहेको उनले दाबी गरे । कसैले कविता प्राचीन सिर्जना भन्छन् भने कसैले आधुनिक । देवीका अनुसार यी दुवै पक्षसँग कविताको तुलना गर्न नमिल्ने बताए । भाव केन्द्रित र शब्द केन्द्रि भएर विचार पस्किने शैली कवितामा रहेको उनको दाबी थियो । ‘कविता संरचनामा लेख्न सिके सजिलै सिक्न सकिन्छ,’ उनले भने, ‘अनि लय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।’

उनले कवितामा उमेर र विचारको प्रभाव हुने पनि दाबी गरे । उनले विभिन्न छन्दमा कसरी कविता रचिन्छ ? भन्नेबारे उदाहरण दिँदै प्रत्यक्ष रूपमा कविता रचना गर्न पनि सिकाए । उनले कविता विधि पुर्‍याएर ठट्टा गर्दागर्दै पनि लेख्न सकिने बताए । ‘तर, गुणस्तर रचना सिर्जना गर्न साधना नै चाहिन्छ,’ उनले भने । सांस्कृतिक संस्थान, साहित्य सन्ध्या र राष्ट्रिय जनसांस्कृतिक महासंघको सहकार्यमा कविता प्रशिक्षण कार्यक्रम राखिएको हो । प्रशिक्षणमा साहित्यकार एवं पूर्वमन्त्री शान्ता मानवीले कविताको महत्त्व प्रस्ट्याएकी थिइन् ।

प्रकाशित : चैत्र ६, २०७३ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?