मदनमणि दीक्षित अभिनन्दित

काठमाडौं — शंकर लामिछाने प्रतिष्ठानले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई अभिनन्दन गरेको छ । प्रतिष्ठानले वरिष्ठ साहित्यकार/भाषाशास्त्री बालकृष्ण पोखरेललाई ५० हजार रुपैयाँ र सम्मानपत्रसहित शंकर लामिछाने निबन्ध पुरस्कार तथा दामोदर पुडासैनीलाई २५ हजार रुपैयाँ र सम्मानपत्रसहितको शंकर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गरेको छ ।

मदनमणि दीक्षित अभिनन्दित

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले शनिबार राजधानीमा पुरस्कार एवं सम्मान अर्पण गरे । अभिनन्दित र सम्मानित व्यक्तित्वबारे समालोचक डा. लक्ष्मण गौतमले बोले । दीक्षितले आफू अभिनन्दित हुन पाउँदा खुसी लागेको बताए ।

भाषाशास्त्री पोखरेलले शंकर लामिछानेलाई सम्झिँदै प्रतिष्ठानप्रति आभार व्यक्त गरे । डा. ताना शर्मा, पुडासैनी, युवराज नयाँघरे, लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, प्रमुख संरक्षक रत्ना लामिछाने, सिन्धु गौतमलगायतले दिवंगत निबन्धकार लामिछानेलाई स्मरण गरे ।

प्रज्ञा प्रतिष्ठानकै सहकार्यमा आयोजित कार्यक्रममा निबन्धकार नरेन्द्रराज पौडेलको ‘विमोचनको बिगबिगी’ हास्यव्यंग्य संग्रह लोकार्पणसमेत गरियो । दायित्व वाङ्मय प्रतिष्ठानले छापेको उक्त पुस्तकमा ३० वटा सिर्जना छन् ।

कृतिमाथि टिप्पणी गर्दै समालोचक डा. ज्ञानू पाण्डेले थपिन्, ‘हास्यव्यंग्य निबन्धमा हास्य मात्रै भयो भने त्यो निकै हल्का हुन्छ । निबन्धमा हास्यसँगै व्यंग्यको छोप हाल्ने खुबी पाउन लामो साधना चाहिन्छ । यो संग्रहका निबन्ध पढदा पौडेलजीले त्यो सिद्धि प्राप्त गर्नुभएको प्रतीत हुन्छ, जुन नेपाली निबन्धका लागि ठूलो उपलब्धि हो ।’

कविता, समीक्षा, नियात्रा/संस्मरण र कथाका गरी १९ कृति निकालिसकेका पौडेलका हास्यव्यंग्य निबन्ध संग्रह मात्रै सात वटा आइसकेका छन् ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?