विमर्शमा ‘गुरिल्ला गर्ल’

दमक — पाँच वर्षअघि प्रकाशित ‘छापामार युवतीको डायरी’ को अंग्रेजी अनुवाद ‘गुरिल्ला गर्ल’ पुस्तकमाथि विमर्श गरिएको छ ।

विमर्शमा ‘गुरिल्ला गर्ल’

दमकमा शनिबार साहित्यिक व्यक्तित्वहरूले ‘छापामार युवतीको डायरी’ बेलायतबाट ‘गुरिल्ला गर्ल’ का रूपमा प्रकाशन हुनु नेपाली महिलाहरूका लागि उच्च सफलता भएको विश्लेषण गरे । कवि सीमा आभाषले गाउँकी छापामार युवतीको बलिदानबाट मुलुकमा आएको परिवर्तनले सहरकी अर्की महिलाको अधिकार सुरक्षित गरेको टिप्पणी गरिन् । विमर्शमा वक्ताहरूले सामाजिक रूपान्तरण राजनीति मात्रै नभई व्यक्तिगत योगदान पनि आवश्यक रहेको उल्लेख गरे । 

तत्कालीन सशस्त्र द्वन्द्वमा होमिएकी इलामको पञ्चकन्याकी तारा राईको आत्मकथा ‘छापामार युवतीको डायरी’ लाई जैयन्त शर्माको अनुवाद तथा नरेश काङबाङ र अबजशे काइँलाको संयुक्त सम्पादनमा बेलायतबाट ‘गुरिल्ला गर्ल’ शीर्षकमा प्रकाशित गरिएको हो ।

शब्द घर नेपालद्वारा आयोजित कार्यक्रममा २७ वर्षीया लेखक राईले छापामार हुँदै जेल जीवनको भोगाइ र त्यसपछिका सामाजिक कठिनाइहरू पुस्तकमा उल्लेख गरेको बताइन् । विमर्शमा पुस्तकका सम्पादनकर्ता काङबाङ र संगीतकार आभाष वक्ता थिए । 

१४ वर्षको उमेरमा २०६१ माघमा छापामार बनेकी राई तीन महिनापछि २०६२ वैशाखमा सेनाद्वारा गिरफ्तार भएकी थिइन् । इलाम, झापा र मोरङका विभिन्न कारागारमा गरी एक वर्ष जेल जीवन बिताएकी राई लोकतन्त्र स्थापनापछि रिहा भएकी थिइन् । तर घर फर्केपछि उनी सामाजिक तिरस्कारमा परिन् र त्यो भोगाइलाई डायरीमा उतार्न थालिन् । पछि त्यो पुस्तकाकारमा आयो । पत्रकार देवेन्द्र भट्टराई र साहित्यकार गणेश रसिकको सहयोगमा प्रकाशित ‘छापामार युवतीको डायरी’ को अहिलेसम्म चौधौं संस्करण प्रकाशन भइसकेको छ । 

प्रकाशित : चैत्र ७, २०७३ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?