पुस्तकालयमा ग्रेट फादर

प्रवीण बानियाँ

आफ्नो दिवंगत सन्तानको सम्झनामा कुनै मनकारी बाबुले के–के गर्न सक्छन्? धेरै गरे पाटीपौवा बनाउलान्, स्कुल, मठ–मन्दिर तथा सरकारी अड्डालाई जग्गा दान गर्लान्, यस्तै–यस्तै।

पुस्तकालयमा ग्रेट फादर

तर, पूर्णबहादुर गुरुङ (७४) ले आफ्नो दिवंगत छोराको सम्झनामा एउटा अनुपम कर्म गरेका छन्। लाहुरेहरूको सहर भनेर चिनिने धरानको बुद्धचोकस्थित ‘स्व. कवि विमल गुरुङ स्मृति पुस्तकालय’ पुगेपछि एकपटक जो कोहीको मन–मस्तिष्क हल्लिन्छ, छोराप्रति बाबुको सम्मान देखेर। 

खोटाङ थातथलो भई ०३५ सालमा पूर्णबहादुरको परिवार बसाइ सरेर धरान आयो। त्यसताका ब्रिटिस लाहुरको खुबै क्रेज थियो। सँगैका साथीभाइ लाहुरे बन्ने दौडमा लागेपछि उनी पनि चुप बसिरहन सकेनन्। अन्तत: ०२० सालमा २१ वर्षको उमेरमा पूर्णबहादुर बेलायती सेनामा भर्ती भए। लाहुरे जीवनमै उनको बिहेबारी भयो। हङकङ, सिंगापुरलगायत देशको पल्टनमा जीवनको सबैभन्दा ऊर्जाशील समय बिताए। 
०४८ साल वैशाख २४ गते। पूर्णबहादुर र उनको परिवारका लागि कालो दिन बनेर आयो। एक मात्र छोरा विमलको साढे १९ वर्षको उमेरमा बस दुर्घटनामा परी निधन भयो। छोराको मृत्युले पूर्णबहादुर विक्षिप्त बने। उनलाई संसारै अँध्यारो भएजस्तो लाग्यो, टेकेको धर्ती भासिएजस्तै लाग्यो। ‘त्यस बेला एकपल्ट हैन, हजारपल्ट टुटें’, उनले खाटो बस्दै गरेको घाउ सम्झिए, ‘पछि संसार यस्तै हो भनेर जसोतसो मन सम्हालें।’
...
पल्टनबाट घर फर्किएपछि पूर्णबहादुर एक दिन छोराको कोठामा पसे। त्यहाँ उनले सोचेभन्दा बिल्कुल फरक पाए। कोठाभारि पुस्तकै–पुस्तक, धूलोले छोपेको पत्रपत्रिकाका खात, बाकसमा कविता लेखिएका कापी र डायरीका ठेलीहरू। विश्वका ठूल्ठूला कम्युनिस्ट आन्दोलनका ग्रन्थ, माक्र्स एंगेल्स र कार्ल माक्र्सका दार्शनिक पुस्तकले छोराको कोठा सजिएको थियो। त्यो देखेपछि पूर्णबहादुरको छाती तन्कियो। ‘म उता कम्युनिस्टविरुद्ध लड्थें,’ उनी सम्झिन्छन्, ‘यता आफ्नै छोरा कम्युनिस्ट बनिसकेको रहेछ।’
अन्तत: पूर्णबहादुरले छोराको आत्माको शान्तिका लागि भए पनि उसले पढेका पुस्तक र लेखेका कविताका ठेलीहरू जतन गरेर राखिदिने सोच बनाए। छोराको नाममा पाटीपौवा बनाउन र जग्गा दान गर्नतर्फ उनको ध्यान गएन। किनभने, त्यस बेला छोराले प्रयोग गरेका वस्तुहरूको संरक्षण गर्नुलाई नै उनले सबैभन्दा ठूलो पुण्यको कर्म ठाने। र, छोरा बितेकै साल उनले छोराको नामबाट ‘स्व. विमल गुरुङ स्मृति पुस्तकालय’ स्थापना गरे। सुरुमा विमलको कोठामा भएका पुस्तक तथा पत्रपत्रिका, उनले लेखेका कविताका चौध थान पाण्डुलिपि र पाँच हजार रुपैयाँका नयाँ पुस्तक किनेर पूर्णबहादुरले पुस्तकालयको घुम्टो उघारे।
पूर्णबहादुरले केवल भावनाले मात्रै यो काम गरेका छैनन्। उनले व्यक्तिगत रूपमा मोटो पैसासमेत खर्चेका छन्, पुस्तकालयका लागि। धरानजस्तो महँगो बजारमा उति बेलै दस धुर जग्गा किनेर सात लाख रुपैयाँ खर्चेर बनाइएको दुईतले भवन र जग्गाको हालको मूल्य एक करोडभन्दा बढी पर्छ। उनको आजसम्मको समयको लगानी र श्रमको त हिसाबै छैन। तैपनि, पूर्णबहादुरलाई ‘छोराका लागि जति गर्नुपथ्र्यो, त्यत्ति गर्न सकिनँ’ भन्ने लाग्दोरहेछ। अत: दिवंगत कवि छोराको सम्झनामा एउटा औपचारिक अध्ययन नगरेको गैरकवि बाबुले गर्न सक्ने योभन्दा महान् कर्म अरू के हुन सक्छ?
सामान्यत: पेन्सनवाला भूपू वृद्ध लाहुरेको दैनिकी कस्तो होला? साथीभाइ र छरछिमेकीलाई लाहुरका किस्सा सुनाउनु, परिवारलाई धेरथोर आर्थिक राहत दिनु आदि। तर, पूर्णबहादुर त्यो साँघुरो घेरामा छैनन्। उनी आमलाहुरेभन्दा फरक लयमा छन्। उनको एकबुँदे कार्यसूची भनेकै हरेक दिन समयमा पुस्तकालय खोल्नु, सरसफाइ गर्नु र पुस्तकहरूको स्याहार गर्नु हो। ‘यो पुस्तकालय मेरा लागि मन्दिर हो,’ उनी भन्छन्, ‘यहाँ बसेर काम गर्दा भगवान्को पूजा गरिरहेको छुजस्तै लाग्छ।’
सुरुआतमा आफ्नो विवेकले जति भ्यायो, त्यत्ति नै गर्दै आएका पूर्णबहादुरलाई अहिले केही सक्रिय धराने युवाले साथ दिएका छन्। चेवन राई, कवि सुदीप पाख्रिन, पत्रकारहरू रोहित राई, गोपाल दाहाल, राजेश विद्रोही, सीता मादेम्बालगायत युवा उनको सारथि बनेका छन्। उनीहरूकै सक्रियता तथा योजनामा पुस्तकालयलाई थप व्यवस्थित गर्दै नाटकघरसहितको सुविधासम्पन्न भवन बनाउन पूर्णबहादुर लागिपरेका छन्। यो अभियानमा छोरी शान्ति गुरुङको बलियो साथ छ।
जीवनको उत्तराद्र्धतिर आइपुग्दा पूर्णबहादुर पुस्तकालयको अनुभवी कारिन्दाजस्तै बनेका छन्। सरकारी जागिर थियो भने उनले अहिलेसम्म डबल पेन्सन पकाइसक्थे। तैपनि, नथाकी बिहान ६ बजेदेखि ११ र २ देखि साँझ ५ बजेसम्म उनी धरान सहरलाई नि:शुल्क पढाउन हाजिर हुन्छन्। झन्डै ३५ वर्षदेखिको यो काममा उनलाई कत्ति पनि पट्यार लागेको छैन। बरु, कतै टाढाको तीर्थ गएजस्तो लाग्छ। ‘यहाँ बसेर पुस्तकको धूलो टकटक्याउँदा, पुस्तकहरू मिलाइरहँदा छोराको अनुहार सुमसुम्याइरहेजस्तो लाग्छ,’ पूर्णबहादुर कविताकै भाषामा बोले।
काठमाडौं बसाइमा विमलको एमाले नेता तथा साहित्यकार मोदनाथ प्रश्रितसँग गहिरो संगत थियो। उनीहरू संगठनको काम सँगसँगै गर्थे। प्रश्रित ०५२ सालमा एमालेको नौमहिने सरकारमा शिक्षामन्त्री थिए। मन्त्री भएपछि प्रश्रितले पुस्तकालयलाई ‘सकेको सहयोग गर्ने’ वचनसमेत दिएका थिए। प्रेसरको समस्या भएका पूर्णबहादुर एक दिन धेरै पिएकै कारण लडे। र, थलिए। थप उपचारनिम्ति उनी भारतको सिलगुडी गए। पछि उनी ठीक भएर आए पनि। तर, उनी आएको केही दिनमै एमाले सरकार ढल्यो। अन्तत: प्रश्रितले सरकारीस्तरबाट पुस्तकालयलाई दिने भनेको सहयोग सरकारकै पोल्टामा अल्झियो।
पूर्णबहादुर अहिले बेलायत सरकारबाट महिनैपिच्छे ४० हजार रुपैयाँभन्दा बढी पेन्सन बुझ्छन्। त्यो पैसा घर खर्चमा कम र बढी पुस्तकालयकै लागि खर्च हुन्छ। पुस्तकालयका लागि पत्रपत्रिकादेखि बजारमा आएका नयाँ पुस्तक खरिद गर्नसमेत उनी पेन्सनकै पैसा छुट्याउँछन्। पेन्सनको आधा रकम नयाँ भवनका लागि बचतसमेत गर्दै आएका छन्। ‘अब पाँच वर्षभित्रमा सुविधासम्पन्न पुस्तकालय बनाउने सपना छ,’ पूर्णबहादुले योजना सुनाए।
...
स्व. विमल गुरुङ स्मृति पुस्तकालयले ०४८ सालबाटै राष्ट्रिय कविता महोत्सव (प्रतियोगिता) समेत गर्दै आएको छ। तिनै प्रतियोगिताबाट छाएका कति कवि आज स्थापित भइसकेका छन्। उक्त महोत्सवलाई निरन्तरता दिन सहज होस् भन्ने उद्देश्यले २०७१ सालमा पूर्णबहादुरले निजी सम्पत्तिबाट पुस्तकालय मातहत रहने गरी ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। यसरी एकपछि अर्को साहित्यका नाममा मोटो रकम लगाउँदै आएका पूर्णबहादुरलाई आफन्तले 
‘हामीलाई हेर्दैनस्, बेतुकका काममा पैसा खन्याउँछस्’ भनेर गाली नै गर्न भ्याए।
हुन पनि– साहित्यजस्तो अनुत्पादक क्षेत्रमा डेढ करोडभन्दा बढी निजी सम्पत्ति सायदै कसैले खर्चेला। छोराको सम्झनामै सही– पूर्णबहादुर एक्लैले भाषा–साहित्यको क्षेत्रमा भव्य काम गरेर राज्यलाई नै माथ दिएका छन्। मुख्य कुरा– उनी समाजका ‘रोलमोडल बाबु’ बनेका छन्।
एकताका गाउँमा छँदा दाजुसँग ‘नपढेर के हुन्छ?’ भनेर विद्रोह गरेर हिँडेका पूर्णबहादुरलाई अहिले नपढेकोमा खुब पछुतो लाग्दोरहेछ। त्यही भएर आफूले नपढे पनि कवि छोराको नाम बचाइराख्न बेडमा आराम गरेर बाँकी जीवन बिताउने उमेरमा उनी पुस्तकालयमा बसेर पुस्तकसँग खेलिरहेछन्। रहर भने पनि, छोराप्रतिको त्याग भने पनि उनको यो रचनात्मक कार्यबाट अरूलाई मनग्य प्रेरणा मिलेको छ, समाजले धेरथोर अक्षरहरूको उज्यालो पाएको छ। ‘बल्ल जिन्दगी सार्थक बनेजस्तो लाग्छ,’ उनी भन्छन्, ‘यो काम नगरेको भए म अधुरो–अपूरो हुन्थें।’

विलक्षण थिए विमल
विमल गुरुङ (०२८–०४३) सानैदेखि किताबभन्दा बाहिरी कुरा पढ्न रुचाउने विमल तीक्ष्ण बुद्धिका थिए। कलिलैमा कार्ल माक्र्स र एंगेल्सका पुस्तक छिचोलेका विमलभित्र बिस्तारै कम्युनिस्ट विचार हुर्कंदै गयो। गरिब र निमुखा जनताका दु:ख र तिनका मुद्दा विमलका कविताका विषय बन्न थाले। ०४३ सालदेखि कविता लेख्न थालेका विमल सुरुबाटै क्रान्तिकारी धारका कविता लेख्थे। ०४३ सालमा एसएलसी पास गरेपछि विमल थप अध्ययननिम्ति काठमाडौं हानिए। तर, उता गएर उनी पढाइतिर लागेनन्। छोराले धेरै पढोस् भन्ने बाबुआमाको इच्छाविपरीत उनी साहित्य र पत्रकारितातर्फ लागे। काठमाडौं छिरेसँगै उनी साहित्यकार तथा एमाले नेता मोदनाथ प्रश्रित, सीपी मैनालीलगायतको संगतमा परे। पछि कवि विमल निभासँग जोडिएर ‘दृष्टि’ साप्ताहिकमा काम गर्न थाले। त्यसपछि कम्युनिस्ट आन्दोलनप्रति उनी झन् प्रतिबद्ध भए। बिस्तारै एमालेमा संगठित भएसँगै उनले पार्टीको जिम्मेवारी र कविताको मोर्चा एकसाथ सम्हाल्न थाले। त्यसै बेला उनले सबैभन्दा बढी कविता लेखे।
०४८ साल वैशाख २४ गते। त्यस बेला सुनसरी–१ बाट एमाले नेता मनमोहन अधिकारी चुनाव लड्दै थिए। मनभरि सूर्य बोकेर सूर्यलाई जिताउन काठमाडौंबाट धरान लागेका विमल अन्तत: धरान पुग्न पाएनन्। धादिङको नौबीसे पुगेपछि समयले उनको बाटोमा तगारो हाल्यो। साढे १९ वर्षको उमेरमै बस दुर्घटनामा परी देशको एउटा चम्किलो तारा अस्तायो।
विमलको निधनपछि ‘आत्मघोषणा’ र ‘स्व. विमल गुरुङका कविता’ गरी दुई कवितासंग्रह प्रकाशित छन्। 
 

प्रकाशित : चैत्र १५, २०७३ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?