१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ग३प ५४२४

सिपी अर्याल

काठमाडौं — जागिर खान भर्खरै थालेको थिएँ । कीर्तिपुरबाट पुग्नुपथ्र्यो कालोपुल । बिहान ९ बजेतिर पाँगा दोबाटो बसपार्क गएर गाडी कुर्थें । भीडभाड हुन्थ्यो । लाग्थ्यो मानिसहरू बस चढ्ने मौका पर्खिरहेका छैनन्, घमासान युद्ध लडिरहेका छन् ।

ग३प ५४२४

सुरुमा अलि परै बसेर खाली बस आउँछ कि भनी कुर्थें । धक्कामुक्का गर्दा चट्ट परेको लुगा खुम्चिएला, कपूरझैं सेतो टिसर्टमा मान्छेले छोइदेलान् र दाग लाग्ला भन्ने पीर हुन्थ्यो ।

केही बेर कुर्दासम्म गाडी आउँदैनथ्यो अनि म पनि युद्धमैदानमा जाने निर्णय गर्थें । गर्भवती हाँसझैं ढलक–ढलक गर्दै माइक्रो आउँथ्यो । मानिसहरूले कुइनाले एक–अर्कालाई भरमार ठेल्दै उभिने ठाउँ खोज्थे । ठाउँ पाइसकेपछि आफ्नो कुइनाको शक्ति देखेर म मुस्कुराउँथें । एउटा हातले माइक्रोभित्रको डन्डी समाएर खुट्टाले थोरै भुइँ छुन पाइन्थ्यो प्राय: । साह्रै सकस हुन्थ्यो । लाग्थ्यो, त्यो बेला संसारमा मलाईजस्तो दु:ख कसैलाई भइरहेको छैन ।
माइक्रो आफ्नै बेगमा कुद्दा हुइँकिएका मोटरसाइकल र पछिल्लो सिटमा कुकुर राखेका कारतिर ईष्र्याले हेर्थें । सोच्थें, मेरो दु:ख देखेर कसैले भनोस्, ‘ओए माइक्रोबाट झर, म पुर्‍याइदिन्छु... ।’
संसार यति सज्जन पनि कहाँ थियो र ।
कालीमाटी झरेर अर्को गाडी चढ्न फेरि अर्को युद्ध लड्नुपथ्र्यो । त्यहाँबाट चढ्दा कहिलेकाहीं सिट पाउँथें । सिटमा बसिसकेपछि छेउको झ्यालको सिसामा टाउको अड्याएर बाहिर हेर्थें तिनै खाली मोटरसाइकल र कारहरू, बतासझैं बत्तिएका मोटरसाइकल देखेर डर पनि लाग्थ्यो । मनको एउटा कुनाले भन्थ्यो, ‘एक दिन त म पनि यसरी नै बत्ताउँला नि मोटरसाइकल ।’ अर्को कुनाले डर देखाउँथ्यो, ‘तँ नाथेलाई चलाउन त आउँदैन । यस्तो भीडमा कसरी सक्लास् झन्...।’
अफिस पुगेर आफ्नो सिटमा थ्याँच्च बस्दै आफैंसँग फुसफुसाउँथें, ‘जीवन संघर्ष हो कान्छो । नभिडी सुख छैन के ।’
तीन महिनासम्म हरेस खाएको थिइनँ । केबल जागिर मात्रै खाइरहेको थिएँ ।

...

एक दिन साथी सफल फोनमा फुसफुसायो, ‘ओए, पैसा कमाउने हो त ?’ अरू केही नभनी उसले सीधै त्यसरी सोधेको थियो । अलमल्ल परें । उसले प्रस्ताव राख्यो, ग्वाम्म पैसा आउने कामको । पुस्तकको अनुवाद र सम्पादनको काम थियो । १३ महिनामा त्यस अफिसमा कमाउने पैसा तीन वा चार महिनामा कमाउन सक्थें ।

‘मलाई सोच्न दे ।’ जवाफ फर्काएर फोन राखें ।
आँखा चिम्लिएर कुर्सीमा हल्लिरहेको थिएँ, अचानक दिमागमा हजार वाटको चहकिलो बत्ती झलमल्ल भयो ।
बाइक किन्न पाइने भो ।
दिनहुँ तरिरहेको दु:खको समुद्रबाट बाहिर निस्कने गज्जबको काइदा थियो त्यो । त्यसैले सफलले भनेको प्रस्ताव स्विकारें । जीवनमा पहिलोपटक खाएको जागिरलाई तीन महिना पनि नपुग्दै छाड्ने निर्णय गरें ।
साँझ कीर्तिपुर पुगेर चियापसल छिरें । साथीहरू त्यहाँ चिया पिउँदै उज्यालो आकाशतिर चुरोटको मैलो धूवाँ उडाइरहेका थिए । एउटा कुनामा बसिरहेको म नजिक जीपी आयो र भन्यो, ‘बाइक किन केटा । तँलाई आउन–जान यस्तो दु:ख भयो ।’
अरे, के भइरहेको छ आज ? म आश्चर्यचकित परें । मेरो निर्णय मलाईबाहेक कसैलाई थाहा थिएन । यो केटाले कसरी थाहा पायो ? सोचें, संयोग भनेको यस्तै हो कि त ?
मेरो अनुहारको भंगिमा पढेर ऊ हौसियो । केही बुझ्यो सायद ।
‘कवीन्द्रले बेच्छ, त्यही किन ।’
‘कतिमा ?’
‘सोधम् न ।’
साथीहरू अफिसबाट फर्कंदाको जक्सन त्यही चियापसल थियो । केही बेरमा कवीन्द्र पनि त्यहीं टुप्लुक्क देखिए । बाइकको कुरा निस्कियो । मोलमोलाई केही भएन । सीधै किन्ने निर्णय गरें । बाटोछेउमा रहेको त्यो मोटरसाइकल हेरें, सबैभन्दा पहिले नम्बर प्लेटमा आँखा गयो, ग३प ५४२४ ।
सधैं देखिरहेको थिएँ त्यो बाइक, कवीन्द्र मै बसेको घरको बाटो हुँदै त्यही बाइकमा आउजाउ गथ्र्यो । त्यस बेला केहीझैं लाग्दैनथ्यो । तर, किन्ने निधो गरेपछि त्यही बाइकको अचानक माया लागेर आयो । लाग्यो, त्यो बाइक मेरो आफन्त हो । दशकौंदेखि ऊसँग मेरो नाता छ । छिनोफानो भएपछि बाइकको नजिक गएर त्यसलाई मुसारें । ट्यांकी, सिट, ब्रेक, स्टार्ट किक आदि छोएँ ।
‘टेस्ट ड्राइभ गर्ने होइन ?’ चाबी मतिर बढाउँदै मुस्कुरायो कवीन्द्र । चाबीकेसमा सेतो खरायो झुन्डिइरहेको थियो । मेरो मनभित्र पनि त्यस्तै खरायो खुसीले बुर्कुसी मार्दै थियो ।
बाइक चलाउन त राम्ररी आउँदैनथ्यो । डरको बतासले एक्कासि ज्यान चिस्यायो ।
‘ल हिँड । म तेरो टेस्ट ड्राइभको ड्राइभर ।’ जीपी अघि सर्‍यो । उसले मोटरसाइकल चलाउने भयो, म उसको पछाडि बस्ने भएँ ।
जीपीले बाइक स्टार्ट गर्‍यो । बाइकले भुर्र गर्‍यो । स्टार्ट भएको ध्वनिसँगै मेरो मनभित्र पनि आनन्दको धुन बज्यो ।
बस्नुअघि आँखा चिम्म गरें । बाइकलाई दाहिने हातले छोएँ, अनि हात निधारतिर बढाएँ । अनि बल्ल चढें । र, हिँड्यौं टेस्ट ड्राइभमा ।
‘चलाउन सिकिन्छ बिस्तारै । नआत्ती ।’ मलाई हौस्यायो उसले ।
...

मैले मोटरसाइकल किनें । लाग्यो, रहरहरूको संग्रहालय हो जीवन । कुनै बेला रहरहरूको र्‍याक अचानक भरिन्छ । उदाहरण त आफैं भइरहेको थिएँ ।
आफूले चलाउन नजानेकाले त्यस दिन कवीन्द्रले नै लगिदियो डेरासम्म । भोलिपल्टबाट कसरी पार लाउने भन्ने पिरलोले ङ्याकेकै थियो मलाई ।
...

भटभटे किन्ने इच्छा जाहेर गर्दा बुबासँग बारम्बार भनाभन हुन्थ्यो ।
‘नकिन् । तँलाई चलाउन आउँदैन ।’ भन्नुहुन्थ्यो ।
‘कसरी आउँछ त बुबा ? चलाउन जान्नलाई त चलाउनैपर्‍यो नि ।’ मेरो उत्तरले सधैं शान्त बनाउँथ्यो बुबालाई ।
बाइक किने पनि चलाउन कसरी होला भन्ने पीर सम्झें । तर, मनमनै आफैंलाई उक्साएँ पनि, ‘चलाउन जान्नलाई त चलाउनैपर्छ, कान्छो ।’
कवीन्द्रले गेटमा बाइक छाडेर गयो । बरन्डामा हुलेर आफ्नै कोठाको ढोकानिर मोटरसाइकल राखें मैले ।
केही बेरपछि घरबेटी कराएको सुनें, ‘यो कसको मोटरसाइकल हो ?’
‘मेरो ।’ म छाती फुलाएर कोठाबाहिर निस्किएँ ।
‘ए, किन्यौ ?’
‘आ’
‘पुरानो किनेछौ ।’
‘नयाँ किनिदिने विचार थियो र ?’ दनक दिएँ ।
‘बाहिर राख आँगनमा । यहाँ राख्ने होइन ।’ रिस देखें उनको आँखामा ।
‘चोरी भयो भने ? तपाईं पनि राख्नुस् न बाहिर । आफूचाहिँ सधैं भित्र राख्ने ?’ उसको मोटरसाइकलतिर हेर्दै भनें ।
‘यो मेरो घर हो ।’ रिसले भुनभुनिँदै उनी हिँडे, ‘यहाँ राख्दा पल्लो कोठाका राम र विजयलाई आउजाउ गर्न गाह्रो हुन्छ ।’
...

भोलिपल्ट सफललाई फोन गरेर उसको प्रस्ताव स्विकारेको बताउँदै भनें, ‘बाइक किनें नि ।’
‘वाह । बधाई छ । कुन ?’ सफल हौसियो ।
‘ग३प ५४२४,’ हाँस्दै सुनाएँ ।
‘ए चौवन्न चौबीस किनिस् ? सेकेन्ड हेन्ड भए पनि बलियै किनेछस्,’ भन्यो ।
‘थ्यांक्स यार ।’ साथीप्रति अनुग्रहित भएँ ।
अर्को दिन बिहान बाइक बाहिर निकाल्दा सकस भयो । ढोका साँघुरो थियो । ट्यांकी कोतरिएको झन्डै । सोचें, अबबाट आँगनमै राख्नुपर्ला ।
मोटरसाइकल बाहिर राखेर पुरानो टालोले मज्जाले पुछें । मोटरसाइकल टल्कियो । मेरो मन पनि ।
‘लाइसेन्स छ कि छैन ?‘ माथिल्लो तलाबाट घरबेटीले सोधे ।
झट्का लाग्यो मलाई । चलाउन राम्ररी आउँदैन । त्यैमाथि लाइसेन्सको लफडा । उफ् ।
‘बनाउने हो ।’ हतासिएको नदेखाईकन माथि नहेरी उत्तर फर्काएँ ।
‘पुलिसले समात्ला विचार गर्नू ।’
सुझाव त राम्रै दिएका हुन् बूढाले ।

...

अफिस गएर राजीनामा भन्नु त बाँकी नै थियो । त्यसैले त्यस दिन अफिस जानु नै थियो । बाइक चलाउन राम्ररी नआउने यथार्थले पिरो भएँ । तर, मनमनै आफैंलाई जवाफ पनि दिएँ, ‘चलाउन जानिने चलाएरै त हो ।’
गेटबाट निस्किएको मात्रै थिएँ, कीर्तिपुरका एक जना चिनजानका शुभचिन्तक घरअगाडि देखिए ।
‘भटभटे किन्नुभयो ?’ सोधे ।
‘हो ।’ तिनिक्क हुँदै मुस्कुराएँ ।
‘पछाडि बसिदने मान्छे चाहियो अब,’ उनले गिज्याए ।
बाइक स्टार्ट गरेर अगाडि बढें । आत्तिँदै । डराउँदै । हतासिँदै । बाटोमा सवारीका लस्कर, केहीको गति देख्दा सिरिंग भएँ । लगभग डोर्‍याउँदाकै गतिमा चलाउँदै अफिससम्म पुगें । जस्तो आउँथ्यो त्यस्तै चलाउँदै पुगें । पसिनाले निथ्रुक्कै पारिसकेको थियो ।
अफिस पुग्दा त लाग्यो, बसमा चढ्न मात्रै पाउँदा जितेको युद्ध त के युद्ध । त्योभन्दा भयानक युद्ध त आफैं मोटरसाइकल चलाएर पुग्दा पो जितेझैं लाग्यो । केही बेरमा बोससामु गएर भनें, ‘सर, मैले अफिस छोड्नुपर्ने भो ।‘ बोस रिसाए, चकित परे, खिन्न भए । तीनवटै भाव उनको अनुहारमा टिर्लिक्क थियो ।
म हलुका भएँ ।
...
साँझ बुबालाई फोन गरेर भनें, ‘बुबा मैले मोटरसाइकल किनें ।’
‘चलाउन जान्दैनस् । किन किनिस् ?’ बुबाको अनुहारमा चिन्ताको धर्सो सलबलायो कि ।
‘जान्नी कसरी हो त ?’ सोधें ।
‘नयाँ सामानको पूजा गर अरे । मम्मीले भनेइछ,’ बुबाले कुरा मोड्नुभयो ।
‘गर्दिनँ ।’
‘भनेको त के मान्थिस् र ।’
‘बाइकलाई माया गर्छु, टाइममै सर्भिसिङ गर्छु, बिग्रिनेबित्तिकै बनाइहाल्छु..., मेरो पूजा गर्ने तरिका यै हो,’ भनें ।
‘ल ल । जतन गरेस् । राम्ररी चलाएस् ।’ बाआमाले छोराछोरीलाई माया गर्ने तरिका अचम्मको हुन्छ ।

...

अबको मेरो अर्जुनदृष्टि भएको थियो लाइसेन्स । त्यसैले, प्राय: त्रिभुवन विश्वविद्यालय परिसरमा ट्रायल दिने अभ्यास थालें । चिनजानका मान्छेसँग मोटरसाइकल सिकेर लाइसेन्स बनाउने रहर गर्दा धेरैले प्याच्च भनेका थिए । ती सबै कुरा आफ्नै मोटरसाइकल चलाइरहँदा दिमागमा आए ।
आफ्नो रहर पूरा गराउने सबैभन्दा उत्तम पात्र मान्छे आफैं रैछ । यस्तै लाग्न थाल्यो ।
...
एक दिन चियापसलमा अशोक भेट भयो । मलाई मोटरसाइकलमा देख्नेबित्तिकै भन्यो, ‘बधाई छ दाइ । लाइसेन्स छ कि छैन त ?’ मसँग थिएन । छैन भनें ।
अनि, उसले खुरुखुरु पर्स झिकेर आफ्नो लाइसेन्स दिँदै भन्यो, ‘लौनुस् यो, मेरो लिएर चलाउनुस् । मेरो बाइक छैन लाइसेन्स छ । तपाईंको लाइसेन्स छैन बाइक छ ।’ ठट्टा गर्‍यो उसले । ‘फोटो धमिलो छ । ट्राफिकले माग्यो भने पनि हेलमेट लगाइएको हुन्छ । कसैगरी चिन्दैन ।’ म अलमल्ल परें । उसले मलाई गजब मद्दत गर्दै थियो । मेरो अनुहार चम्कियो ।
‘बरु, यसको डिटेल याद राख्नू । ब्लड ग्रुप । बाको नाम । ठेगाना । ट्राफिकले सोधिहाले भन्न पाइन्छ ।’ उसले यो पनि ठीक भनेको थियो । मैले सबैथोक याद गरें । ब्लड ग्रुप । बाको नाम । अनि, ठेगाना पाल्पा, पपिलडाँडा...।
चलाउने कन्फिडेन्स धेरै आइसकेको थियो त्यतिन्जेल । अब लाइसेन्स पनि पाएँ, तर अरूकै । थाहा थियो, त्यसो गर्नु हुँदैन भन्ने । किनभने, त्यो एक हिसाबले अपराधै थियो ।

...

एक दिन सफलले फोन गर्‍यो, ‘ओए, जाम् हिँड पोखरा, बाइकमै ।’
प्रस्ताव गजबको थियो तर हुन्छ भनिहाल्न सकिनँ ।
‘हाइवेमा चलाको छैन । अनि लाइसेन्स पनि...’
‘नआत्ती । बिस्तारै–बिस्तारै जाने त हो । फेरि तेरो बाइक गण्डकीको । नामसारी गराउन पनि पर्ला ।’ उसको अन्तिम वाक्यले एकाएक ज्यानमा चिलचिल भयो । बाइक त मेरै थियो तर मेरो नाममा थिएन । आफ्नै नाममा गराउने रहर लागिहाल्यो ।
सफलको प्रस्तावलाई स्विकारें ।
पोखरा जान घरबाट निस्केर पाँगादोबाटो पुगेको थिएँ । झोला भिरेको मलाई देखेर तिनै शुभचिन्तकले हात हल्लाए ।
‘कता ?’
‘पोखरा ।’
‘घुम्न ?’
‘आ’
मेरो ‘आ’ पछि उनले फेरि पछिल्लो सिट देखाउँदै ‘पछि बस्ने मान्छे खोज’ भने, इसारामै । म हाँस्दै अघि बढें ।
तिनटा बाइकमा छ जना हिँड्यौं पोखरा । डर र उत्साहले निथ्रुक्क थिएँ । बाटोमा कतै लडियो भने ? लाइसेन्स नभएको मान्छेले चलाएर दुर्घटना भए त जेल जानुपर्छ । त्यो लमतन्न राजमार्गमा बाइक घुइँकाएको कल्पना गरें । डराए पनि उत्साहले भरिएँ । जेसुकै होस् । जीवनमा केही रिस्क नलिई त के मज्जा र ।
जीपी र सफलको स्कर्टिङमा हुने भएँ म । जीपी अघिअघि । सफल पछिपछि । र, म बीचमा । अघिअघि हिँडेको जीपीले बाटोमा चेकिङ भएको भेटे तुरुन्तै फोन गरेर सावधान गराउने जिम्मा थियो । अनि, म लडिहाले जोगाउने जिम्मासाथ सफल पछिपछि आउने भयो ।
हिँड्यौं, काठमाडौंबाट । मसँगै प्रदीप बसेको थियो । डराउँदै, रोकिँदै बिस्तारै हिँड्यौं । मुग्लिङ पुग्यौं ।
मुग्लिङबाट पोखरासम्मको बाटो सम्झँदा डर र उत्साहले जिरिंग पार्‍यो । मुग्लिङको पुल पार गरेर हुइँकियौं हामी । धागोझैं तानिएको सडक देख्दा एक्कासि ज्यान तरंगित भयो । मैले बेस्सरी एक्सिलेटर बटारें । बाइक बत्तिएर कुद्यो । पुलपछिको पहिलो मोडनिर पुग्दा थामिनै सकिनँ । दायाँपट्टि अजंगको त्रिशूली देख्दा भनन रिंगटा लाग्यो । अनि, सीधै बायाँ कुनामा च्यापें । लडेर कल्भर्टभित्र पुगें । बाइकको आधा भाग कल्भर्टमा आधा बाहिर थियो । च्यापिएको थिएँ । बिस्तारै उठें । छेउको त्रिशूली देख्दा लाग्यो, जीवन लामै रहेछ मेरो ।
बाइकको लेगगार्ड फुस्किएको थियो । अन्त केही भाथेन ।
‘ग३प ५४२४ बलियो रैछ केटा ।’ मलाई जिस्काए केटाहरूले ।
साँझ अबेर पोखरा पुग्यौं । भोलिपल्ट नामसारी गराउन यातायात अफिस पुग्यौं र काम सक्यौं ।
‘ग३प ५४२४ सरकारले तेरो नाममा भएको घोषणा गर्‍यो है,’ जीपीले जिस्कायो ।

...

बाइक चलाउन थालेको धेरै समय भइसक्दा पनि लाइसेन्सका लागि प्रयास गर्ने हिम्मत आइसकेको थिएन । घरपट्टीले बारम्बार भनिरहन्थे, ‘लाइसेन्स निकाल्यौ ?’ उनले गिज्याएका थिए कि सावधान गराएका थिए बुझ्नै सकेको थिइनँ ।
मोटरसाइकल किनेको नौ महिनासम्म आफ्नो लाइसेन्स थिएन । त्यतिन्जेल कहिल्यै पनि ट्राफिकले न लाइसेन्स मागेको थियो, न ब्लुबुक । बाटोमा ट्राफिक देख्दा त्यसैत्यसै थुरुरु हुन्थें । चलाउँदा चलाउँदै स्टार्ट बन्द हुन्थ्यो, आत्तिएर । उसै त मेरो बाइक लामो पनि थियो, अनि ट्रायल कटाउने कन्फिडेन्स थिएन ।
एक दिन, अब लाइसेन्स बनाउनुपर्ने ठानेर फारम भरें । लाग्यो, जे त होला ।
लिखित परीक्षा पास भएँ । ट्रायल दिनुपर्ने दिन आयो । बिहानै पुग्नुपथ्र्यो सिंहदरबार । अलि सबेरै उठेर दुई–चार फन्को प्राक्टिस गरेर साथी सुवाससँग म पुगें ट्रायल दिन । लाइनमा उभिएँ । मभन्दा अघि गइरहेका केही मानिस आत्तिएर फेल हुन्थे, कसैले सबै डन्डा छुन्थे, कसैले एउटा मात्रै । कसैले भने खुट्टा टेक्थे ।
म डराउन थालिसकेको थिएँ । सुवासले हौस्याए ।
मेरो पालो आयो, गएँ । सुरुमा डराएको थिएँ । सरासर, डन्डाहरू कटाउँदै गएँ । अन्तिम डन्डा कटाउने बेला डरले झन्डै खुट्टाले भुइँ छोएको थिएँ । तर, पास भएँ । लाइसेन्स आउने भयो ।
संसारकै सबैभन्दा सफल मान्छे मै हुँजस्तो लाग्यो ।
लाइसेन्स लिएर कीर्तिपुर पुगें । चियापसलमा पस्दा तिनै शुभचिन्तक भेट भए । पुरानै पारामा उनले मलाई जिस्काए र रित्तो सिट कहिले भरिने भनेर फेरि जिस्काए । म मुस्कुराएँ मात्रै ।

...

एकपटक नाइट स्टेमा फर्पिङ जाने सल्लाह भयो । तर, चोभारको भीरैभीरको बाटोमा बाइक चलाउन म डराएँ । विजयले जुक्ति निकाल्यो, ‘अशोकले चलाउँछ नि ।’ मलाई ठीक लाग्यो । अशोकले चलाउने भयो, म पछाडि बस्ने भएँ ।
हामी फर्पिङ हिँड्यौं । अशोकले बाइक बेस्सरी चलाउँदा म आत्तिन्थें । बाइक पल्टिएला भन्ने पीरले ।
फर्पिङ पुगेर होटलमा सुस्तायौं । साँझ पर्न थालेसँगै रमाइलो गर्ने मुड भइसकेको थियो । बिस्तारै साँझ रमरम हुन थाल्यो । हामीले साँझलाई साथ दियौं ।
गीत गाउने, नाच्ने, खाने क्रम चलिरहेको थियो । अचानक एउटा साथी उठेर मतिर सरासर आयो । रक्सीले मात्तिएको टोनमा भन्यो, ‘बधाई छ यार, थोत्रो बाइक किनेकोमा ।‘ म निमोठिएँ । केही बोल्न मन लागेन । साथी फेरि फुसफुसायो, ‘कतिमा किनिस् ? ५ हजार ?’ यसपालि साह्रै नराम्रो लाग्यो । हातको गिलास स्वाट्ट फालेर सीधै आफू सुत्ने कोठातिर हिँडें । ‘सरी’ को आवाज आइरहेको थियो । मैले वास्तै गरिनँ ।
फर्किंदा पनि अशोकले मोटरसाइकल चलायो, म पछि बसें ।
चोभार गेटनिरको ओरालोमा मोटरसाइकल अलि बढी बत्तिन थालेको अनुभव गरें । तर, केही बोलिनँ । म डराइरहेको थिएँ । अचानक ढ्याङ्ग आवाजले मेरो मुटु बाहिर निस्केझैं लाग्यो ।
अशोकले नियन्त्रणमा लिन नसकेर बाइक एउटा बसको पछिल्लो भागमा ठोक्कियो । म मर्माहत भएँ । नराम्ररी च्यातिएँ । हेडलाइट र सो झर्‍यामझुरुम भयो जस्तो लाग्यो । आफैंले चलाएको भए यस्तो हुँदैनथ्यो होला भन्ने ठानें ।
अलि पर बसको ड्राइभरसँग प्रहरी खुसखुस गरेको देखें । ड्राइभरले प्रहरीको दाहिने हात तान्दै आफूतिर लग्यो र हातमा के राखिदियो देखिनँ । प्रहरी मनजिक आएर फुसफुसायो, ‘दुवैले आ–आफ्नो साधन बनाउने हो भने जानुस् । नत्र यहाँ गल्ती तपाईंको देखियो ।’ म डराएँ । अनि हतारहतार आफैं बनाउने भनें । हामी त्यहाँबाट हिँड्यौं ।
दुर्घटनाले मेरो मोटरसाइकलको सो बिग्रिएको थियो । त्यो रूप देख्दा बेस्सरी रुन मन लागेको थियो । त्यही बेला लाग्यो, बरु त्यो चोट मेरो शरीरमा लागेको भए हुन्थ्यो । मेरो प्रिय मोटरसाइकललाई होइन मलाई घाउ लागेको भए हुन्थ्यो ।
तत्काल वर्कसप लगेर बाइक जस्ताको तस्तै बनाएँ । अनि, त्यो दुर्घटनाको पीडा बिस्तारै बिर्संदै गएँ । त्यसपछि कहिल्यै कसैलाई चलाउन दिइनँ । सधैं आफैंले चलाउँदा कन्फिडेन्स मज्जाको आउन थालेको थियो । म बिस्तारै जहाँसुकै पुग्न सक्ने भएको थिएँ ।

...

लामो समय त्यही बाइक चढ्दा साथीहरू नयाँ–नयाँ चढ्ने भइसकेका थिए । म भने त्यस बाइकप्रतिको अचम्मको मोह त्याग्नै सकेको थिइनँ । कतै जाँदा त्यसले कहिल्यै धोका दिएको थिएन । गतिमा पनि साथीहरूको नयाँ बाइकलाई उछिन्थ्यो पनि मज्जाले । मेरो संघर्षको सम्पूर्ण समय देखेको त्यो मेरो बाइक यतिका समयमा मेरो आफन्त भइसकेको थियो । त्यसैले बेच्न सकिहालेको थिइनँ ।

...

कीर्तिपुर बसाइ छाडेको लामो समयपछि एक दिन त्यो ठाउँ सम्झनामा आयो । त्यही चियापसलमा गएर चिया पिउने धोकोसाथ श्रीमतीलाई लिएर हिँडेँ त्यही बाइकमा । पाँगादोबाटो पुग्दा तिनै पुराना शुभचिन्तक भेटिए । केही वर्षपछि भेटिएका भए पनि मैले उनलाई चिनें । अनि, नजिक गएर बोलाएँ । हेल्मेट लगाएको मलाई सुरुमा उनले चिनेनन् । हेल्मेट खोलेपछि चिने । अनि मज्जाले हाँसे । हाँस्दाहाँस्दै पछिल्लो सिटमा आँखा पुर्‍याए । अनि मुस्कुराए, ‘बल्ल राम्रो देखियो, मोटरसाइकल चढेको ।‘
ती शुभचिन्तकको रहर पनि पूरा गर्न सकेकोमा म मुस्कुराएँ ।

प्रकाशित : वैशाख २, २०७४ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?