कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पत्रकार भण्डारीसहित पुरस्कृत

बिर्तामोड — रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाले पत्रकार चन्द्र भण्डारीसहितलाई पुरस्कृत गरेको छ ।

पत्रकार भण्डारीसहित पुरस्कृत

प्रतिष्ठानले यहाँ सोमबार आयोजित समारोहमा भण्डारीलाई अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको हो । पत्रकारितामा अविच्छिन योगदानको कदर गर्दै प्रतिष्ठानले नेपाल पत्रकार महासंघका पूर्वमहासचिव भण्डारीलाई १ लाख १ हजार रुपैयाँ रहेको पुरस्कार दिइएको हो ।

यस्तै, प्रतिष्ठानले रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार महारानीझोडा साना किसान कृषि सहकारी संस्थालाई दियो । करिब दुई हजार महिलालाई संगठित गरी कृषि क्षेत्रको विकासमा लागेको भन्दै उक्त संस्थालाई १ लाख १ हजार राशिकै पुरस्कार दिइएको हो । पुरस्कार संस्थाकी अध्यक्ष मीना ढकालले ग्रहण गरेकी थिइन् । 

गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार भने हेटांैडाको मानव सेवा आश्रमले पायो । असहाय/अशक्तहरूको संरक्षण र पुन:स्थापनालाई अभियानकै रूपमा अगाडि बढाएकामा आश्रमलाई पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ । १ लाख १ हजार रुपैयाँ नै रहेको पुरस्कार आश्रम अध्यक्ष रामजी अधिकारीले ग्रहण गरेका थिए । 

प्रतिष्ठानले देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार भने काठमाडौं निवासी सृष्टि महर्जनलाई प्रदान गर्‍यो । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली कला–संस्कृतिको प्रवद्र्धनमा भूमिका खेलेको भन्दै महर्जनलाई ५१ हजार राशिको पुरस्कार दिइएको हो । 

सबै पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र पूर्वकुलपति बैरागी काइँलाले हस्तान्तरण गरेका थिए । प्रतिष्ठानको पुरस्कार निर्देशिकाबमोजिम गठित तीनतीन जनाको विज्ञ समूहबाट प्राप्त सिफारिसका आधारमा ती प्रतिभा छानिएको प्रतिष्ठान अध्यक्ष गंगाप्रसाद ओलीले बताए । पुरस्कार छनोट समिति सदस्य पत्रकार रघु मैनालीका अनुसार विभिन्न चार मापदण्डका आधारमा ती प्रतिभा छानिएका हुन् । 

प्रतिष्ठानले २०६७ मा १ करोड रुपैयाँको अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष चार विधाका उत्कृष्ट व्यक्तित्वलाई पुरस्कृत गर्दै आएको छ । प्रतिष्ठानका संरक्षक श्रीप्रसाद ओलीले जिउँदै छँदा आफ्ना बाबुआमा रुद्र गौरी र आफू तथा श्रीमती अम्बिकाका नाममा प्रतिष्ठान स्थापना गरी ती पुरस्कार वितरण गर्ने घोषणा गरेका थिए । संरक्षक श्रीप्रसादको २०६८ मा देहान्त भएको थियो । उनको निधनपछि छोराहरूले प्रतिष्ठानमार्फत पुरस्कार वितरण गर्दै आएका छन् । 

प्रकाशित : वैशाख ६, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?