कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पारिजात खोज्दै सिक्किमकी सृजना

सन्दर्भ : पारिजात स्मृति दिवस

काठमाडौं — वैशाख ५ गते मंगलबार पारिजात स्मृति दिवस मनाइएको छ । प्रगतिशील लेखकहरूले यो दिनलाई सम्झिने गर्दछन् । पारिजातको नाममा विभिन्न सम्मान प्रदान गरिन्छ । वि.सं.१९९० फागुन ३० गते जन्मिएकी पारिजातका निधन २०५० वैशाख ५ गते भएको थियो । उनले जीवनकालमा धेरै कृति दिएकी छिन्, यद्यपि सम्झिने ‘शिरिषको फूल’उपन्यासै काफी छ ।

पारिजात खोज्दै सिक्किमकी सृजना

तिनै पारिजातको कृति अनि इतिवृत्ति धेरै धेरै शोधार्थीले खोज्दै आएका छन् । त्यही पंक्तिमा सिक्किमकी सृजना शर्मा जुट्दै छिन् । वाराणसीस्थित काशी हिन्दू विश्वविद्यलय (बिएचयु)बाट ‘स्त्री विमर्शका दृष्टिले पारिजातका कथा’शीर्षकमा विद्यवारिधि गर्दैछिन् । ‘भारतमा पारिजातका बारेमा भनेजति सन्दर्भ स्रोत र सामग्री पाइँदैन,’हालैमात्र राजधानी काठमाडौंस्थित साझा प्रकाशनको बिक्री कक्षमा भेटिएकी शोधार्थी शर्माले भनिन्, ‘सिक्किम, दार्जिलिङ अनि सिलिगुडीको पारिजात स्कुल पुगें । नेपालमा काठमाडौंका सबै पुस्तकालय चहारें । पारिजात स्मृति केन्द्र धाएँ । उनीबारे केही नयाँ कुरो जानकारी पाउँछु कि भन्ने लागेको छ ।’उनले सिक्किम युनिभर्सिटी, उत्तर बङ्ग विश्वविद्यालय (एनबीयु) चहारेको सुनाइन् । मदन पुरस्कार पुस्तकालय, त्रिवि केन्द्रीय पुस्तकालय, केशर पुस्तकालय, डिल्लीरमण पुस्तकालय चहार्न भ्याएको उनले जनाइन् । 

पारिजातले कथा, उपान्यास, नाटक, कविता, निबन्ध, आत्मसंस्मरण विधामा कलम चलाइकी छन् । उनी निर्विकल्प प्रगतिशील लेखिका हुन् । कतिले पारिजात नारीवादी हुन् भनेका छन् भने कतिले होइनन् पनि भनेका छन् । ‘पारिजातलाई फरक फरक कोणबाट नियाल्ने प्रयास भइरहेको छ,’ विगत पन्ध्र वर्षदेखि पारिजातबारेमा अध्ययन गर्दै आएकी शर्मा भन्छिन्, ‘पारिजात मानवतावादी लेखिका हुन् ।’प्रोफेसर दिवाकर प्रधानको निर्देशनमा पीएचडी उपाधिका लागि शोधरत शर्माको भनाइमा विष्णुकुमारी वाइबा अर्थात् पारिजातले समाजका पीडित वर्गलाई विशेष सहानुभूति राखेर कलम चलाएको उल्लेख गर्छिन् । नारी मनस्थिति र स्थितिका साथै बाल समस्या तथा पुरुषको अहम्‌जन्य आधिपत्यलाई आफ्ना रचनामा चित्रित गरेकी उल्लेख गर्छिन् । ‘प्रगतिशील चेतनाको दृष्टले पारिजात प्रख्यात भए पनि कलात्मकताको दृष्टिले उनको अस्तित्ववादी लेखन अझ सशक्त छन्,’शर्माको निष्कर्ष छ ।

शर्मा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘अंग्रेजी–नेपाली संक्षिप्त शब्दकोश’निर्माणमा संलग्न अध्यतासमेत हुन् । उनी आफू नेपाली भाषा र साहित्य अध्ययनमा आफ्ना गुरुहरु प्राध्यापकहरु राजेन्द्र भण्डारी, पुष्प शर्मा, घनश्याम नेपाल, मोहनप्रसाद दाहाललाई जस दिन्छन् ।

पारिजात स्मृतिमा सम्मानको घोषणा
पारिजात स्मृति केन्द्रले पारिजात स्मृति दिवसको सन्दर्भमा विभिन्न स्रष्टा तथा व्यक्तित्वलाई सम्मानको घोषणा गरेको छ । जसअनुसार २०७४ सालको ‘पारिजात सृजना सम्मान’साहित्यकार हेमनाथ पौडेललाई प्रदान गरिने भएको छ । त्यसैगरी ‘पारिजात बालसाहित्य सम्मान’साहित्यकार विजय चालिसेलाई, ‘पारिजात कला सम्मान’ वरिष्ठ कलाकार तथा साहित्यकार श्याम तमोटलाई र ‘पारिजात नारी संघर्षशील सम्मान’राजनीतिज्ञ तथा अधिकारकर्मी शशी श्रेष्ठलाई दिने निर्णय गरेको छ । उक्त सम्मान वैशाख अन्तिम साता पारिजात स्मृति दिवसका रुपमा प्रदान गरिने केन्द्रका सदस्यसचिव स्नेह सायमिले विज्ञप्तिमा जनाएका छन् । 

प्रकाशित : वैशाख ६, २०७४ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?