३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

संस्कृत अभियन्ताको सम्झना

काठमाडौं — संस्कृत भाषा र पूर्वीय दर्शनका अभियन्ता जनार्दन घिमिरेको १३ औं तिथिमा शनिबार राजधानीमा श्रद्धाञ्जलि सभा गरियो । जयतु संस्कृतम् र संस्कृत छात्रावास पूर्वविद्यार्थी समूहले वाल्मीकि विद्यापीठमा उनको योगदानको चर्चा गरियो ।

संस्कृत र पूर्वीय दर्शनलाई विज्ञानसँग जोड्ने र नेपालमा बृहत् संस्कृतग्राम स्थापना गरी संस्कृत अध्ययनलाई विश्वभर लैजाने उनको अभियान सफल पार्न सके उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने उनीहरूको भनाइ थियो । 

जयतु संस्कृतम्का महासचिव डा. नवराज कट्टेलले गुरुकुल विश्वविद्यालय स्थापना, निजी विद्यालयमा संस्कृतको पठनपाठन, संस्कृत एकेडेमी र गौरीशंकर संस्कृतग्राम स्थापनाजस्ता योजनाकार जनार्दनको निधनले ठूलो क्षति पुगेको बताए । कोषाध्यक्ष डा. बद्री पोखरेलले जनार्दन विलक्षण प्रतिभाका धनी रहेको बताए । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालका सभासद् डा. जीवन अधिकारी, पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. रामचन्द्र गौतम, प्राध्यापक डा. ऋषिराम पोखरेल, शम्भुप्रसाद दाहाल, जनार्दनका सहपाठी रामेश्वर नेपाल, प्रकाश भण्डारी, मुकुन्द लामिछानेलगायतले योगदानबारे बोले । सभामा डा. टीकाराम अधिकारीले जनार्दनमा समर्पित संस्कृत कविता सुनाए । दुई साताअघि जन्मथलो दोलखा जाँदै गर्दा सिन्धुपाल्चोकमा बस दुर्घटनामा परी घाइते भएका सञ्चारकर्मी एवं त्रिविका उपप्राध्यापक ४७ वर्षीय जनार्दनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो । दुर्घटनामा उनका पिता मुक्तिनाथ र माता रत्नकुमारीको निधन भएको थियो ।

प्रकाशित : जेष्ठ १४, २०७४ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?