कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

थापाको ‘मेरो मधुशाला’

काठमाडौं — लेखनमा आञ्चलिकता मिसाउने सुदूर– पश्चिमेली स्रष्टा गगनसिंह थापा लिखित उपन्यास ‘मेरो मधुशाला’ को शनिबार राजधानीमा लोकार्पण गरियो ।

थापाको ‘मेरो मधुशाला’

आख्यानकार नयनराज पाण्डे र रंगकर्मी अशेष मल्लले कृतिको लोकार्पण गरेका हुन् । पञ्चायतकालदेखि अहिलेसम्मको लामो कालखण्डलाई थापाले सूक्ष्म रूपमा उपन्यासमा उतारेको समीक्षकले बताएका छन् । ‘उपन्यासकार थापाले आत्मरतीको लागि मात्रै लेख्दैनन्, कतै न कतै पाठकलाई पनि प्रभाव पार्न सक्नुपर्छ,’ आख्यानकार पाण्डेले भने, ‘थापाले उपन्यासमा समाजका भुइँमान्छेहरूको संस्कार, भाषिक विविधता, रहनसहनलाई गहन र सूक्ष्म रूपमा उतारेका छन् ।’ थापाको भाषा प्राञ्जल, सरल र सुललित भएको उनले सुनाए । 

लेखनमा स्थापित हुनैका लागि चर्चित शीर्षक राखिने गरेको सन्दर्भमा पाण्डेले भने, ‘अहिले व्यापारको लागि लेखनमा आकर्षक शीर्षक राख्ने प्रचलन बढ्दो छ । व्यापारको पछि लाग्यो भने लेखकमा कुण्ठा उत्पन्न हुन्छ र लेखनमै समेत प्रभाव पर्न सक्छ ।’ रचनामा सामथ्र्य, व्यक्तित्व छ भने कुनै न कुनै कालखण्डमा स्वभावत: चर्चामा आउने उनको तर्क थियो । ‘उलार’ जस्तो प्रखर आञ्चलिक उपन्यास लेखिसकेका पाण्डेले भने, ‘साहित्यकारलाई बजार चाहिन्छ तर बजारको चाहनाअनुसार लेख्ने हैन ।’ 
रंगकर्मी मल्लले ‘क्रिएटिभ मान्छेको लागि नेपाल स्वर्ग भएको’ बताए । ‘नेपाली समाजमा जताततै कथा भेटिन्छ । बाहिरी विश्वमा भने विज्ञानको प्रविधिले ती कुराहरू विस्तारै हराउँदै पनि गइरहेको छ,’ उनले भने, ‘अबको लेखकले ती कुराहरूलाई लेखेन भने अपराध हुन्छ ।’ कृतिमा मधुसंसार, मधुपात्रहरूको जीवन र तीनको जीवन भोगाइबाट समाजमा परेको असर कोट्टयाउने प्रयास गरेको लेखक थापाले सुनाए । ‘साहित्यले समाज चिनाउँछ, समाजका कथा–व्यथा व्यक्त गर्छ,’ उनले भने, ‘कृतिमा मधुप्यासीभन्दा मधुदासी धेरै छन् । जो मधुप्यालामा डुबे, मधुसंसारमा हराए, बिलाए ।

अन्तत: मधुले तिनलाई पिइदियो ।’ कृतिका प्राय: कथा सन्दर्भ आफ्नै भोगाइ र सदृश्य देखाइका घटना भएको उनले बताए । कैलाली मूल घर भएका उपन्यासकार थापाले भने, ‘मेरो मधुशाला’ मा तथ्य पात्रको तथ्य कथा छ ।’ यसअघि थापाका ‘सोह्र सौगात’ (कथा संग्रह), ‘कर्णालीको छेउछाउ’, ‘पुर्खाको चिठी’ उपन्यास प्रकाशित छन् । नयाँ कृति भने सांग्रिला बुक्सले छापेको हो । 

प्रकाशित : जेष्ठ १४, २०७४ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?