समाजसित जोडिँदा...

हरिमाया भेटवाल

सगरमाथा चढ्छु भनेर निस्किएको मान्छे घान्द्रुक पनि पुग्न नसकेको जस्तो भएकी थिएँ म । हिसाबका सूत्रहरूझैं थिएनन् जीवनका सूत्रहरू जसलाई हुबहु जीवनमा उतार्न सकौं मैले । तर पनि एउटा संकल्प थियो मनमा उपन्यास लेख्ने ।

समाजसित जोडिँदा...

दुईवटा कथासंग्रह एउटा नाटकसंग्रह अर्को कवितासंग्रह जम्मा चार पुस्तक बजारमा आइसकेर पनि म उपन्यासे स्कुलमा भर्ना भएकी पाँच कक्षाकी छात्राजस्ती लाग्थें आफंैलाई । साहित्यको बजारमा मैले गुरु ठानेका स्थापित केही लेखकहरूसँग केही सुझाव लिन, केही सिक्न सकिन्छ कि भनेर म पनि लालायित थिएँ । तर मैले सोचेजस्तो देखिनँ साहित्यको दुनियाँ पनि । राजनीतिबाट बैसट्ठी सालमा संन्यास लिएकी मैले साहित्तिक दुनियाँमा खुट्टा टेक्ने ठाउँ बनाउन मात्र हैन त्यही बनाएको बाटोमा बाँचुन्जेल हिँडिरहन पनि लेख्नैपर्ने थियो । अझ मनले त वर्षमा एउटा किताब लेख्छु भन्थ्यो तर व्यवहारले त्यसो गर्नै सकिनँ । लेख्न बस्दा कहिले छोराछोरी र श्रीमान्का आवश्यकता मेरा अघि उभिन्थे । कहिले भातभान्साको आवश्यकता उभिन्थ्यो, कहिले सामाजिकताको नाममा भारीभरकम उत्तरदायित्वको पहाड उभिन्थ्यो । समाजमा पहिलेदेखि नै महिलाले यो गर्नु हुन्छ र यो गर्नु हुँदैन भनेर अनेक डिमार्केसनहरू उभिएका छन् । केही भत्किँदै त छन्, केही भत्काउनुपर्नेछन् । तर भत्किने र भत्काउने गति देशको विकासजत्तिकै सुस्त छ । यी सबै पीडा नेपालमा एक आम महिलाले जति भोग्नुपरेको छ, मेरा पीडा पनि त्यत्ति नै छन् । 
यस्तोमा मलाई लाग्थ्यो, एउटी महिलाले एउटा पुस्तक निकाल्नु भनेको एउटा पुरुषले दसवटा पुस्तक निकाल्नु बराबर हो हाम्रो समाजमा । 
हिजो मात्र एक जना कथाकार महिला साथीले दुखेसो पोखिन्, ‘साथी मेरो आफ्नो घर नहुनाले म स्थापित हुन नसकेकी हुँ । मेरा सपनाहरू मभित्र लुकेरै सकिने भए । दिउसोभरि कामको व्यस्तता हुन्छ राति खाना खाएर काम सकाउँदा नौ बज्छ अनि लेख्न खोज्यो कसैले बत्ती बाल्नै दिँदैनन् । आफ्नो कोठामा लोग्नेले बत्ती नबाल म सुत्न सक्दिनँ भन्छन् । छोराछोरीले डिस्टर्ब नगर्नु न आमा हामीलाई भन्छन् एकान्तमा बत्ती बालेर लेख्नै ठाउँ नै पाउँदिनँ म ।’ 
उनले कथावाचन गरेझैं सुनाइन् आफ्नो गाथा । 
मैले सोचेँ, आज कम्तीमा मैले बत्ती बाल्न पाएकी छु । लेख्न पाएकी छु । कति महिलाहरू होलान्, लेख्न चाहेर पनि आ–आफ्नै बाध्यताले लेख्न नसक्ने ! अनि समाजको एउटा बुद्धिजीवी तप्का भने अलाप गर्छ, ‘महिलाहरूले लेख्नै जान्दैनन् ? उनीहरूको विषयमा विविधता छैन । घरायसी समस्याका कुराहरू लेखेर साहित्यमा स्थापित हुन सकिनँ भनेर दुखेसो पोख्छन् ।’ 
लेख्नु भनेको एक्लिनु पनि हो । खोइ महिलाहरूले एक्लिने र एकाग्र हुने वातावरण ? एउटा पुरुष लेख्न कुनै भव्य रिसोर्ट पुग्छ । रिसोर्टमै लेखनमाथि बहस गर्छ । तर हामी धेरैजसो महिलाहरू घरकै कोठाभित्र पनि एक्लिन सक्दैनौँ । बिन्दास हुनुपर्छ भनेर एकथरीले अर्ति उपदेश त दिनुहुन्छ । तर, के सोचेजस्तो बिन्दास हुन सजिलो छ र ? अलिक स्वतन्त्र हुन खोज्नासाथ यहीँको समाज हाम्रो चरित्रमाथि धावा बोल्न थाल्छ । 
समाजले समानताको नारा त खुब लगाउँछ । त्यही नारा मेरो कानसम्म पनि आएकै छ । तर समानताको आभास मसम्म आएको खै आजसम्म ?
हो यही असमानताको बीचबाट जन्मिएकी हो कल्ली ।
ििि

एकपल्ट कान्तिपुर पत्रिकामा ब्लडमनी शीर्षकको लेख पढेँ मैले । विदेशमा पैसा कमाउन जाने एक युवाले मृत्युदण्ड पायो । तर, मृतकको परिवारलाई निर्धारित ब्लड मनी दिन सकेमा उसको सजाय माफ हुन सक्ने भन्ने उक्त लेखमा पढेकी थिएँ । मलाई त्यो विषयले संवेदित गर्‍यो । हुन त धेरैजसो आफूले देखे भोगेको कुरा नै लेख्नुपर्छ भन्नुहुन्छ । तर, सबैभन्दा महत्त्वपूर्ण कुरा अनुभूति हो भन्ने मलाई लाग्छ । कतिपय देखेकै भोगकै कुरा पनि हामी लेख्न सक्दैनौँ । किनभने त्यसले हाम्रो मस्तिष्कमा अनुभूतिजन्य प्रभाव पार्दैन । तर, कतिपय सुनेकै कुराले हाम्रो मानसिकतामा प्रभाव पार्छ, हाम्रो मथिंगललाई आन्दोलित गर्छ । मलाई यो विषयले त्यसरी नै आन्दोलित गर्‍यो र मैले त्यसपछि विषयको गहिराइभित्र प्रवेश गर्ने निश्चय गरेँ । त्यसपछि मेरो मस्तिष्कमा पात्रहरू आउन थाले, तिनका अनुहार र भावहरू आउन थाले । तिनका दु:ख र पीडाहरू आउन थाले ।
यही क्रममा यसै विषयमा केही काम गरिरहेका एक जना भाइ राजेन्द्र कुँवर भेटिए । उनीबाट धेरै कुरा जानकारी पाउँदै गएँ । त्यसपछि मैले अरू सहयोगीहरू पनि भेट्दै गएँ । विषय, पात्र र परिवेशका विविध आयामहरू ढोकाझैं एकपछि अर्को खुल्दै गए ।
सबै तथ्य अगाडि थुप्रिसकेपछि म लेख्न बसेँ । लेख्दै र डिलिट गर्दै मेरो लेखनयात्रा सुरु भयो । मैले घडी त हातैमा लगाएकी थिएँ । तर, मसित पर्याप्त समय हुँदैनथ्यो । मैले आफ्नै समय चोरीचोरी लेख्न थालेँ । जसरी नसोधेरै आइपुग्छ घाम आगोजस्तो तातो बोकेर उसरी नै नसोधी आइदिन थाले घटनाहरू सुइरा बोकेर र मलाई घोचिरहन थाले । तर, एउटा चरणमा पुगेपछि मेरो कथानक रोकियो । कथा कसरी अगाडि बढाउने कुरामा म भयानक अलमलमा परेँ । मेरो लेखन रोकियो । तर, अचानक एक दिन एक जना फेसबुकमा चिनेको बहिनीसँग कुरा हुन भयो । उनी निकै दिन हराएकी थिइन् सामाजिक सञ्जालको दुनियाबाट । मैले उनीसँग सोधेँ, ‘किन हराएकी यसरी ? के भो र ?’ 
नाम नछापिदिने सर्तमा उनले आफ्नो जीवन कहानी सुनाइन् । त्यसपछि भने मोडियो मेरो उपन्यासकी पात्र विदुषीको कहानी । उनै बहिनीको जीवनलाई विदुषी पात्रले ग्रहण गरेकी छ यो उपन्यासमा । मलाई लाग्छ, यो उनको मात्र हैन, यो देशमा बाँचेका धेरै शिक्षित महिलाहरूको कथा हो । 
समयले नाप्नै नसकिने फड्को मारिसक्यो । मान्छेका निजी जीवनहरूमा प्रशस्त परिवर्तनहरू आए । तर आर्थिक, राजनीतिक रूपमा मान्छेले फड्को मारे पनि मानसिक रूपमा मान्छेको सोचले अपेक्षित फडको मारेको छैन आज पनि । आज पनि विधवा महिलाहरूलाई बोक्सी बनाउँछ र गु–मुत ख्वाउँछ समाज । सहन नसकेर कतिले आत्महत्या गर्छन् । आज पनि कागते गाउँमा दस–बाह्र वर्षका बच्चाहरूको सामूहिक बालविवाह हुन्छ । 
समाजमा विद्यमान यी र यस्तै अन्धविश्वास बोकी बाँचेका मान्छेहरूको कथा हो कल्ली । जो देख्दा त कल्लीजस्तो देखिन्छ । तर, त्यो कल्ली जंजिरको रूपमा रूपान्तरित भएको छ यो समाजमा ।
घामको उपस्थितिमा धर्तीलाई भेटन हतारिंदै हिँडेको माछापुछ्रेको हिउँझैं हतारो थिएन अब मलाई किताबे रहर । पहिलो दोस्रो हुँदै पाँचौं किताबमा आइपुग्दा त्यो रहर सेलाएर सिलाबरे भाँडामा उमालेर राखेको पानीजस्तो हुन पुग्यो । त्यसैले त झन्डै छ वर्ष लगाएकी छु यो उपन्यास बजारमा ल्याउन । उसो त यो उपन्यासको सेरोफेरो ५० को दशकबाट सुरु भएर अहिलेको ७२, ७३ सम्मको लगभग दुई दशकको छ ।
मैले जन्माएको हुँदै हैन । जन्माए अरू नै कसैले । तर कल्ली मेरो मानस सन्तान हो । मैले काखमा खेलाए हुर्काएँ र पात्रको रूपमा उभ्याएँ कल्लीलाई । कल्ली लाखौं नेपाली महिलाहरूको प्रतिनिधि पात्र हो । इमानले भन्छु— यो उपन्यास सबै सत्य हैन । तर सत्यलाई काल्पनिकताको गहनाले सिँगारेकै हुँ मैले । 
समाज मक्किसकेका कुराहरूलाई पनि बोकिरहन खोज्छ । मैले पनि त्यही समाजले भिरेको पुरानो चस्मालाई नयाँ फ्रेम हालेकी हुँ । पावर लेन्स मिलाउन खोजेकी हुँ । 
कति सकेँ, कति सकिनँ त्यो अब पाठकहरूको अदालतले निर्णय गर्ला । तर, मलाई भने एक खालको सन्तुष्टि मिलेको छ कि मैले अनर्गल र अर्थहीन काल्पनिक उडान गरेर उपन्यास लेखिनँ । समाजमा टेकेर समाजकै कुरा लेखेँ । किनभने लेख्नु भनेको समाजप्रतिको केही उत्तरदायित्व बहन पनि गर्नु हो भन्ने मान्यता राख्ने गर्छु म । 

प्रकाशित : श्रावण २, २०७४ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?