कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

आऊ मिलाऔं हाम्रा हातहरु...

लेखनाथ (कास्की) — गायक/संगीतकार रामेश हातमा माइक लिएर मञ्चमा उक्लिए । पञ्चायती व्यवस्था र राजतन्त्रमाथि गीतबाटै आक्रमण गरेको स्मरण गरे ।

आऊ मिलाऔं हाम्रा हातहरु...

ती दुवै व्यवस्था ढले पनि जनतालाई कुनै उपलब्धि नभएको गुनासो गरे । ‘हामीले गाएको गीत पार्टी र नेताको लागि भयो,’ शनिबार साँझ पोखरामा उनले भने, ‘अब जनतालाई बलियो बनाउन गीत गाउनुपर्छ ।’
जनतालाई मालिक बनाउन सबै एक ठाउँ आउन आग्रह गर्दै उनले गाउन सुरु गरिहाले :
तिमी देऊ तिम्रा हातहरू,
म दिन्छु मेरा हातहरू
आऊ मिलाऔं हाम्रा हातहरू...

संगम सांस्कृतिक मञ्चले उनलाई पोखराको स्टेजमा उभ्याएको हो । संगम सांस्कृतिक यात्राको पहिलो संस्करणमा मञ्चले उनलाई निम्त्याएको थियो । ७४ वर्षको उमेरमा पनि उनले युवा जोशका साथ गीत प्रस्तुत गरे । कालजयी गीत ‘गाउँगाउँबाट उठ...’ गाउँदा पोखरा उद्योग वाणिज्य संघको अमृतकक्ष तालीले गुञ्जायमान भयो । ‘संघर्ष हो जीवन...’ गीतले कार्यक्रममा उपस्थित प्रगतिशील लेखक, साहित्यकार, कलाकर्मीहरूलाई जुरुक्कै उचाल्यो । ‘ओ जनता महान्...’ गीतमा निरन्तर ताली बजिरह्यो ।
गीत प्रस्तुतिसँगै रामेशले राजनीतिका तीतामिठा कुरा पनि गरे । उनले बारम्बार राजनीतिक पार्टी र नेताको लागि नभई जनताको लागि गीत गाउन अनुरोध गरिरहे । जनतालाई बलियो बनाएर जनतालाई नै देशको मालिक बनाउन यस्ता सांस्कृतिक अभियानहरू महत्त्वपूर्ण हुने उनले औंल्याए । 
कार्यक्रममा पदमराज ढकाल, हरिदेवी कोइराला, काजी गाउँले, विकास लुंगेली, ओमविक्रम ओझा, संगीता सुनाम, डीबी बान्तवा, नारायण बास्तोलाले पनि जनवादी गीत प्रस्तुत गरे । खुसीराम पाख्रिनको ‘गैंची बेल्चा उचालेर..’, जेबी टुहुरेको ‘आमा दिदी बहिनी हो..’ गीत पनि गुन्जिए । संगम सांस्कृतिक मञ्चका कलाकारले गितार, मादल, हार्मोनियम र बाँसुरीमा ‘मेरो जीवन...’, ‘लेकैमा बादल...’, ‘भरिया दाइ...’ गीत पनि प्रस्तुत गरे । मञ्चका गीत किसान, मजदुर, दलित, महिला लगायत उत्पीडितका पक्षमा थिए । जनवादी गायक, संगीतकार, गीतकारको साझा संस्थाका रूपमा गठित मञ्चले हरेक तीन महिनामा यात्रा सञ्चालन गर्ने अध्यक्ष काजी गाउँलेले बताए । 

 

प्रकाशित : श्रावण २, २०७४ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?