कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बाँसुरीमा जुगलबन्दी

काठमाडौं — जापानी बाँसुरीवादक हिरोसी नाकागावा ३६ वर्षपछि नेपाल आएका छन् । यही मौकामा उनले विभिन्न स्कुलका बालबालिकालाई बाँसुरीवादनबारे जानकारी पनि दिइरहेका छन् ।

शुक्रबार साँझ चाहिँ उनी ललितपुरस्थित फ्रान्सेली केन्द्रमा भेटिए । त्यहाँ उनले नेपाली वाद्यवादकसँग मिलेर ‘बाँसुरी जुगलबन्दी’ प्रस्तुत गरे ।

कार्यक्रममा नाकागावालाई बाँसुरीवादक नागेन्द्रविक्रम राई, तबलावादक मिलेश तण्डुलकार र तानपुरामा विशाल भट्टराईले साथ दिएका थिए । नागेन्द्रले ‘ए कान्छा...’ गीतलाई बाँसुरीमा सुनाएपछि नाकागावाले पनि जापानी लोक धुन प्रस्तुत गरे । 

समारोहमा नेपाली, जापानी र अन्य देशका संगीतप्रेमीको उपस्थिति थियो भने वरिष्ठ बाँसुरीवादक जीवन आले र साहित्यकार रामकुमार पाण्डेले नाकावागाको टोलीलाई स्वागत गरेका थिए । ध्रुपद क्याराभानले आयोजना गरेको कार्यक्रममा नाकागावाले नेपाली वादकसँग मञ्च सेयर गर्न पाएकोमा खुसी लागेको बताए । ‘नागेन्द्र, मिलेशहरू आफैंमा कुशल वाद्यवादक रहेछन्,’ उनले भने, ‘यो मेरो एकल कार्यक्रम होइन । जुगलबन्दी हो । आफ्नो क्षेत्रका डनहरूसँग प्रस्तुत हुन पाउँदा म असाध्यै खुसी भएको छु ।’ 

जापानको क्योतोस्थित र्‍युकोकु, ओतानी र बुक्यो विश्वविद्यालयका लेक्चररसमेत रहेका नाकागावाले सन् १९८१ मा भारतको बनारस हिन्दु विश्वविद्यालयबाट शास्त्रीय संगीतको ज्ञान लिएका थिए । सोही बेला डा. हृतिक सान्यालसँग धु्रपद गायनको तालिम लिएका उनले गुरु गोरखनाथ दाससँग बाँसुरीवादन सिकेका थिए । पण्डित हरिप्रसाद चौरासिया र पण्डित मल्हार कुलकर्नी पनि उनका गुरु हुन् ।

सन् १९७१ मा पहिलो पटक नेपाल आउँदा यो ठाउँ स्वर्ग जस्तै भएको ६७ वर्षे नाकागावाले बताए । ‘त्यो बेला यहाँको वातावरण स्वच्छ थियो,’ उनले भने, ‘अहिले घरहरू बढेछन्, धूलो–धूवाँ धेरै भएछ । मान्छे पनि थपिएछन् । म त्यो बेलाको काठमाडौंलाई मिस्ड गरिरहेको छु ।’ यद्यपि, काठमाडौं अझै पनि प्यारो र सुन्दर नै रहेको उनले बताउन चाहे । 

प्रकाशित : भाद्र २५, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?