कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गुरुङ र नेपाली भाषाको मुक्तकसंग्रह ‘समैं दर्बानी’ सार्वजनिक

दीपक परियार, बिना थापा

काठमाडौं — मुक्तककार गौरी तमु (गुरुङ)द्वारा मातृभाषा गुरुङ र नेपाली भाषामा लिखित पहिलो मुक्तकसंग्रह ‘समैं दर्बानी’ (समयको दर्पण) शनिबार पोखरामा लोकार्पण गरिएको छ ।

गुरुङ र नेपाली भाषाको मुक्तकसंग्रह ‘समैं दर्बानी’ सार्वजनिक

संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, मुक्तककार तमुका बुबा टेकबहादुर र आमा छलीमाया गुरुङले पुस्तक लोकार्पण गरे । कृतिको लोकार्पण गर्दै संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा साहित्यमार्फत गौरी तमुको प्रयासले ऐतिहासिक महत्त्व राख्ने बताए । उनले भने, ‘तुलनात्मक रुपमा नेपाली साहित्यमा गुरुङहरुको उपस्थिति न्युन भएको समयमा गौरीको कृति इतिहासबद्ध हुने छ ।’

नेपाल मुक्तक प्रतिष्ठानका महासचिव एवं साहित्यकार रमेश पौडेलले गौरीले छोटो समयमै साहित्यकारको पहिचान बनाउन सफल भएको धारणा राखे । कृतिमाथि टिप्पणी गर्दै मुक्तक मञ्च पोखराका सल्लाहकार रुपिन्द्र प्रभावीले गौरीले मुक्तकमा गरेको प्रयोग अनुकरणीय भएको बताए । ‘जीवनवादी र समाजवादी यथार्थमा आधारित मुक्तक लेखेर आफ्नो विशेष पहिचान जमाउन गौरीले सफलता प्राप्त गर्नेछिन्,’ उनले भने । ‘समैं दर्बानी’ले नेपालको पछिल्लो एक दशकको दर्पण उतारेको उनले चर्चा गरे ।

लेखिका गुरुङले अबको लेखन परम्पराभन्दा भिन्न ढङ्गले अघि बढ्नुपर्ने विचारले कृति निकालेको बताइन् । ‘भाषा, साहित्य, कला नै हाम्रो पहिचान हो,’ उनले भनिन्, ‘आफ्नो मातृभाषाका केही शब्दमात्रै भए पनि नयाँ पुस्ताका लागि समर्पण गर्न पाउँदा गौरवबोध भएको छ ।’ संग्रहमा १ सय ३५ नेपाली मुक्तकको गुरुङ भाषामा भावानुवाद भने केहरसिंह गुरुङले गरेका छन् ।

नवलपरासीमा जन्मेर साहित्य र सञ्चार क्षेत्रमा काम गरिसकेकी तमु अहिले पोखरामा शिक्षणसँगै साहित्यिक क्षेत्रमा क्रियाशील छिन् । गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष उनी तमु नारी साहित्य परिषद् र गजल सन्ध्यासँग पनि आबद्ध छिन् ।

मुक्तक मञ्च पोखराको आयोजनामा भएको कार्यक्रममा तमुधिं नेपालकी अध्यक्ष कर्म गुरुङ, चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल, गौरीका बुबा टेकबहादुर गुरुङ, मञ्चकी अध्यक्ष सरला लामिछाने ‘सरु’ लगायतले मुक्तकमा गरिएको नौलो प्रयोगको प्रशंसा गरे ।

प्रकाशित : भाद्र २५, २०७४ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?