१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चीजकुमारको संस्मरण

काठमाडौं — समाजसेवी चीजकुमार श्रेष्ठको संस्मरण पाठकमाझ आएको छ । बन्दीपुरको विकासमा उल्लेख्य योगदान दिएका श्रेष्ठको ‘घुमीफिरी बन्दीपुर’ राजधानीमा साहित्यकार खगेन्द्र संग्रौला, कवि द्वारिका श्रेष्ठ, डा. मदन पियालगायतले सार्वजनिक गरे ।

चीजकुमारको संस्मरण

‘उहाँले बन्दीपुरको विकासमा जसरी सहयोग गर्नुभएको छ, त्यो अतुलनीय छ,’ चीजकुमार श्रेष्ठका विद्यार्थीसमेत रहेका डा. पियाले भने, ‘यो पुस्तक उहाँले रुचिकर शैलीमा लेख्नुभएको रहेछ । पढेर म विगतमा फर्किएँ ।’

बन्दीपुरकै भानु माविमा लामो समय प्रधानाध्यापकसमेत रहेका चीजकुमार श्रेष्ठले बन्दीपुर विकास कोषको अध्यक्षता पनि गरेका थिए । कार्यक्रममा संग्रौलाले त्यो सन्दर्भ कोट्टयाउँदै बन्दीपुर र श्रेष्ठको पुस्तकको प्रशंसा गरे । कुनै समय बन्दीपुरमै शिक्षकका रूपमा कार्यरत रहेका संग्रौलाले भने, ‘चीजकुमार आफ्ना सबै पत्र, जीवनका रंगसहित आउनुभएको छ । उहाँले आफूबारेभन्दा आफूले बाँचेको परिवेशबारे इमानदारीपूर्वक उल्लेख गरेर यो पुस्तकलाई उत्कृष्ट बनाउनुभएको छ । बन्दीपुरको विकासमा लामो समय योगदान गरेका व्यक्तिको यो पुस्तकले संस्मरण कस्तो हुनुपर्छ भन्ने सन्देश पनि दिन्छ ।’

कवि द्वारिका श्रेष्ठले पनि चीजकुमारको पुस्तक पढ्नैपर्ने भएको टिप्पणी गरे । ‘संघर्ष गरेर एउटा मानिसले केसम्म गर्न सक्छ भन्ने यसमा लेखिएको छ,’ श्रेष्ठले भने, ‘यो पुस्तक अति मीठो भाषामा लेखिएको छ । कुनै समय वैरागलाग्दो भएको बन्दीपुरको पुनर्जागरणमा चीजकुमारले ठूलो योगदान दिनुभएको छ । त्यसका लागि उहाँले गरेका इमानदार प्रयासको फेहरिस्त यो पुस्तकमा पाउन सकिन्छ ।’

चीजकुमारले पहिले पुस्तक लेख्ने सोच नभए पनि लेखिसक्दा आफू हल्का भएको बताए ।

उक्त पुस्तक फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।

प्रकाशित : भाद्र २७, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?