१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दुई भाषामा गौरीका मुक्तक

कास्की — गौरी तमु (गुरुङ) ले नेपाली र गुरुङ भाषामा मुक्तक संग्रह ‘समैं दर्बानी’ ल्याएकी छन् । पोखरामा संगीत नाटय प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, मुक्तककारका बुबा टेकबहादुर र आमा छलिमाया गुरुङले पुस्तक लोकार्पण गरे ।

सरुभक्तले गौरीको कृति भिन्न भाषिक समूहको बीचमा समन्वय गराउने ऐतिहासिक प्रयास भएको टिप्पणी गरे । ‘हाम्रोजस्तो बहुभाषिक, बहुसांस्कृतिक मुलुकमा एकअर्काबीच जति समन्वय हुनुपर्ने हो त्यति भएको छैन,’ उनले भने, ‘यस अर्थमा गौरीको प्रयास इतिहासबद्ध हुनेछ ।’ तुलनात्मक रूपमा नेपाली साहित्यमा गुरुङ समुदायको उपस्थिति न्यून भएको अवस्थामा मुक्तक संग्रहले भाषाको उन्नतिमा उल्लेख्य भूमिका खेल्न सक्ने उनले बताए नेपाल मुक्तक प्रतिष्ठानका महासचिव एवं साहित्यकार रमेश पौडेलले गौरीले छोटो समयमै साहित्यकारको पहिचान बनाउन सफल भएको जनाए ।

कृतिमाथि टिप्पणी गर्दै मुक्तक मञ्च पोखराका सल्लाहकार रुपिन्द्र प्रभावीले मुक्तक संग्रहबाट गौरीले नेपाली साहित्यमा जबर्जस्त उपस्थिति जनाएको बताए । मुक्तककार गुरुङले अबको लेखन परम्पराभन्दा भिन्न ढंगले अघि बढ्नुपर्ने विचारले कृति निकालेको बताइन् । संग्रहमा रहेका १ सय ३५ नेपाली मुक्तकको गुरुङ भाषामा भावानुवाद भने केहरसिंह गुरुङले गरेका हुन् ।

प्रकाशित : भाद्र २७, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?