अमरलाई लन्डनमा अनेवा

लन्डन — साहित्यकार अमर न्यौपाने लन्डनमा पुरस्कृत भएका छन् । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय (अनेवा) प्रतिष्ठान बेलायतले बिहीबार एक समारोहबीच न्यौपानेलाई ६० हजार रुपैयाँको ‘अनेवा नक्षेत्र’ पुरस्कार प्रदान गरेको हो ।

 अमरलाई लन्डनमा अनेवा

प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य, साहित्यकार गोविन्दराज विनोदी र वरिष्ठ सञ्चारकर्मी एवं साहित्यकार खगेन्द्र नेपालीले न्यौपानेलाई पुरस्कृत गरे । 

‘लेखकका लागि पुरस्कार ऊर्जा हुने रहेछ,’ ‘पानीको घाम’, ‘सेतो धरती’, ‘करोडौं कस्तूरी’ जस्ता कृतिका सर्जकले कार्यक्रममा भने, ‘सुरुतिर १२ वर्षको अध्यापन पेसा छाडेर कतै अनुत्पादक क्षेत्रमा त लागिनँ जस्तो लाग्थ्यो, अहिले सम्मान र माया पाउँदा यो क्षेत्रप्रति गर्व लाग्छ ।’ 

न्यौपानेले आफ्नो पुरस्कृत कृति ‘करोडौं कस्तुरी’ को रचनागर्भबारे पनि उल्लेख गरे । बेलायत आउनेबित्तिकै शेक्सपियरको जन्मस्थल टेकेका उनले नेपाल पनि कुनै कविको देश भनेर चिनिने अवस्था सृजना गर्न जरुरी रहेको बताए । ‘हामीले पनि शेक्सपियरकै जस्तो लक्ष्मीप्रसाद देवकोटा, मोतीराम भट्ट, लेखनाथ पौडयाल, बीपी कोइरालाजस्ता स्रष्टाहरूको संग्रहालय बनाउन सके नेपाल विश्वभर चिनिन सक्थ्यो,’ उनको धारणा थियो ।

प्रमुख अतिथि राजदूत दुर्गाबहादुर सुवेदीले न्यौपाने लेखेर कहिल्यै नथाक्ने साहित्यकार रहेको बताए । नेपाली उपन्यासको भविष्य उज्ज्वल देखेका राजदूतले अगाडि भने, ‘पाठकहरूको नेपाली अक्षरप्रति सम्मान, स्नेह र समर्पणको भाव छ । एउटा कृति लेख्दा साहित्यकारहरूको समय, मस्तिष्क र श्रम कम खर्च भएको हुन्न । त्यसकारण उनीहरूले बाँच्न पाउनुपर्छ ।’ 

नेपाली साहित्यलाई नजिकबाट बुझेका अनुवादक एवं प्राध्यापक माइकल हटले अरू विदेशीका लागि नेपाल पर्यटकीय गन्तव्य भए पनि आफ्ना लागि साहित्यिक देश रहेको बताए । आफ्नो एकवर्षे अध्ययन सकेर नेपाल फर्कन लागेका ‘निर्वाण’ उपन्यासका लेखक एवं कान्तिपुरकर्मी घनश्याम खडकाले स्वदेशबाट टाढा झन् नेपालीपन हुने बताए । प्रतिष्ठान अध्यक्ष आचार्यले बेलायतको पहिलो पुस्तालाई साहित्यका माध्यमबाट मातृभूमिसँग जोडिरहने आफ्नो प्रयास रहेको बताए । 

कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको ‘कैकेयी’ महाकाव्य विमोचन पनि गरियो । विनोदीले कार्यक्रममा उपस्थित हुन पाउँदा हर्षविभोर भएको उल्लेख गर्दै भने, ‘यो भाषा, साहित्यप्रेमले जुराएको संगम हो । मलाई नेपालमै भएजस्तो लागेको छ ।’

कार्यक्रममा खगेन्द्र नेपाली, सुमाया राई, रवि प्राञ्जल, डा. मुकुल दाहाल, नरेश काङमाङ, डा. सोहन घिमिरे, वासु शर्मा, दुर्गाप्रसाद पोखरेल, डा. कृष्ण उपाध्याय, छत्रकला राई, धर्म सापकोटा, नारायण गाउँलेलगायतले रचना वाचन गरेका थिए । कार्यक्रममा गोपी सापकोटा र प्रतिष्ठानकी महासचिव जयालक्ष्मी राईले पनि बोलेका थिए । 

 

प्रकाशित : भाद्र ३१, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?