१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रहस्यमयी द्वीपको रोमाञ्चक यात्रा

जीवा लामिछाने

काठमाडौं — पूर्वीय मान्यताअनुसार पृथ्वी र यसका सम्पूर्ण प्राकृतिक स्रोत स्त्री स्वरूपमा पूजनीय छन् । यही कारण नदी, जंगल, झरना र समुद्रले जब सौन्दर्यका सम्पूर्ण किरण एकसाथ फैलाउँछन्, मलाई सानैदेखि सुन्दै आएका साक्षात अप्सरा धर्तीमा अवतरित भएझैं लाग्छ ।

रहस्यमयी द्वीपको रोमाञ्चक यात्रा

त्यो सौन्दर्यमा मानव निर्मित सुन्दर कलाकृतिचाहिँ कुनै कुशल मेकअपम्यानले प्रकृतिलाई सिंगारपटार गरेर अलिकति जलप लगाउने प्रयास गरेझैं लाग्छ । 

मानिसमा सौन्दर्यचेत बढ्दै गएका कारण यो सुन्दर पृथ्वीलाई हामी स–साना मानिसहरू उसको कदकाँठी मिल्ने गरी आफ्नो ठाउँबाट कतै राम्रो पहिरन लगाइदिने प्रयास गर्दै छौं । कतै सुहाउँदो बासस्थान बनाइदिने प्रयास गर्दै छौं । आफ्नो क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न र त्यसबाट आर्थिक उन्नति गर्न पनि संसारलाई सजाउने अनि ती सम्पदाको भरपूर फाइदा लिने काम भइरहेको छ । तर सँगै यसको सौन्दर्य र सन्देशलाई बोध नगर्दा अमूल्य पृथ्वी र यसका शब्दातीत सौन्दर्यमा अनावश्यक र कुरूप भवनहरू खडा गरिएका छन्, मानौं कुनै अनिन्द्य रूपसीलाई उनको इच्छाविपरीत कुरूप र असुहाउँदो मेकअप गरिदिएको होस् । 

यही प्रकृति र मानवीय सौन्दर्यबोधको सम्बन्धलाई क्यारेबियन द्वीपमा प्रत्यक्ष अनुभूत गर्ने मौका मिलाइदियो— जेठो छोरा अनुरागको ग्रीष्मकालीन कलेज छुट्टीमा उनलाई भेट्न अमेरिका जाँदा हामीसँग उपलब्ध तीन साताको फुसैदिलो समयले । 

यसरी कुनै लामो योजनाबिनै यसपटकको हाम्रो यात्रा क्यारेबियन द्वीपमालातर्फ सोझिएको थियो । यो अमेरिकी सिमाना नाघ्दै मेक्सिकोको दक्षिणपूर्वी क्षेत्रमा फैलिएको समुद्र र सयौं स–साना टापुहरूले सुसज्जित क्षेत्र हो । संसारका सुन्दरतम भूभाग अनि अनौठा घटना र किंवदन्तीका कारण यी ठाउँ धेरै अघिदेखि मेरो यात्राको सूचीमा थिए । छोराहरू साना छँदा ‘पाइरेट्स अफ दी क्यारेबियन’ सिरियलका अनौठा घटना र रहस्यमयी परिस्थितिहरू बडो चाख मानेर हेर्थे । अलिकति सत्य घटना, अलिकति किंवदन्ती र धेरै कल्पनाशीलताले रंगिएको त्यो सिरियल बच्चाहरूको संगतका कारण मलाई पनि मन पर्न थालेको थियो । 

हामी त्यो सिरियलका घटनामाथि बहस गर्ने भइसकेका थियौं । यही सिरियल हेर्दाहेर्दै एक दिन उनीहरूले प्रसिद्ध ब्रिटिस लेखिका अगाथा क्रिस्टीले लेखेको रहस्यमयी उपन्यास ‘ए क्यारेबियन मिस्ट्री’ पढ्न सुझाव दिए । अनेक जासुसी उपन्यास, कथासंग्रह र नाटक लेखेकी क्रिस्टी विश्वकी सबैभन्दा बढी बिक्री हुने लेखकमध्येकी हुन् । उनको ‘ए क्यारेबियन मिस्ट्री’ मा पनि यी ठाउँमा हुने अनौठा घटनाको अद्भुत वर्णन र त्यसको काल्पनिक रहस्यको उद्घाटन गरिएको छ । खासमा यो त्यही क्षेत्र हो, जहाँ बितेका ७० वर्षमा १ सय २० भन्दा बढी हवाइजहाज, पानीजहाजसहित कैयौं पर्यटकहरू बेपत्ता भएका छन् । बर्मुडा ट्रयांगलबाट लगातार भयावह र चिच्याहटपूर्ण आवाजहरू निस्किरहन्छन् र त्यो आवाज अन्तरिक्षबाट समेत सुनिन्छ भन्ने विश्वास गरिन्छ । सय वर्षयता यो क्षेत्रमा थुप्रै मानिस अचानक गायब भएको सत्य हो, तर ती कसरी बेपत्ता भए भन्नेमा सत्यभन्दा काल्पनिक कथा बढी बुनिएको पाइन्छ । बर्मुडा ट्रयांगलको रहस्य उद्घाटन गर्ने धेरै वैज्ञानिकको प्रयास असफल भएको छ । यिनै कुराले संसारका धेरै मानिसझैं मेरो पनि कौतूहल बढाइदिएको थियो । 

१५ जुलाई २०१७ । दिउँसो १२ बजे होटलबाट निस्कँदा मन तिनै रहस्यमयी पुस्तक, टेलिशृंखला र बेपत्ता भएका जहाजका यादमा निमग्न थियो । यात्राका लागि फ्लोरिडा राज्यको ‘फोर्ट लाउडरडेल’ पोर्टमा पुग्दा गाढा नीलो आकाशमा टुक्राटुक्री बादलका पातलो आवरण क्यारेबियन सागरको क्षितिजतिर अडिएझैं देखिन्थ्यो । पोर्टमा उभिएर दूर क्षितिजसम्म फैलिएको सागर हेर्दा हेर्दै म नजिकैको बडेमान पहाडजस्तो जहाज देखेर अड्किएँ । 

यो रोमाञ्जक यात्रामा हामीलाई शयर गराउन ठूलो जहाज हाम्रा अघि सग्लो उभिएको थियो । ‘हार्मोनी अफ द सिज’ नामको उक्त जहाज विश्वको सबैभन्दा ठूलो यात्रुबाहक पानीजहाज भएको थाहा पाएपछि नै छोराहरू यसैमा यात्रा गर्ने जिद्दीमा उत्रिएका थिए । तर उनीहरूको जिद्दीपनमा हामी पनि रमाइरहेका थियौं । जब ‘विश्वको सबैभन्दा ठूलो’ भन्ने शब्दावलीमा मेरो ध्यान गयो, उसले बोक्न सक्ने झन्डै ७ हजार यात्रुहरूको भीडको सम्झना आयो । मैले चितवनको आफ्नो जन्म गाउँ पदमपुर सम्झिएँ । जब पूरै पदमपुर गाविसको हिसाब निकालें, त्यो क्षेत्रको जनसंख्या उति बेला केवल ६ हजार थियो । नेपालमा अहिले पनि ५ देखि १० हजार जनसंख्या भएका गाउँपालिका छन् । हिसाब गर्दा महसुस भयो, गत वर्षदेखि नेपालको पूरापूर गाउँपालिका बराबरको यात्रु बोकेर यो जहाज यायावरझैं क्यारेबियन द्वीपहरूको यात्रा गरिरहेको छ । 

१८ तले यो जहाज चढेपछि अचम्भित नभइरहन सकिएन । एक खर्ब ४० अर्ब नेपाली रुपैयाँ खर्च गरेर निर्माण गरिएको यो जहाजको साढे तीन सय मिटरभित्र के–के छ भनेर कसैले सोध्यो भने झट्टै जवाफ दिन सकिँदैन । बरु के छैन भनेर खोज्नुपर्ने रहेछ । यात्रीहरूलाई चाहिने यावत् सुविधाहरू, खान–पान, सेवा–शुश्रूषा, मनोरञ्जनको बन्दोबस्त त यहाँ छ नै, अति व्यवस्थित रूपमा बनाइएको एउटा गल्फ कोर्समा बच्चाहरू गल्फ सिक्दै गरेको दृश्यसमेत यहाँ देख्न सकिन्छ । विभिन्न किसिमका सर्कस, पानीमा खेलिने खेलहरू, स्विमिङ पुल, संसारका चर्चित नृत्य र सिनेमा हलका कारण छोटो यात्रा गर्ने हामीजस्ता मानिसले के हेर्ने के नहेर्ने भन्नेमा द्विविधा उत्पन्न हुने रहेछ । अनेक स्किम र सुविधाका हिसाबले यात्राको मूल्य धेरै महँगो पनि लागेन ।

मैले केही व्यावसायिक र पर्यटकीय यात्रा पानीजहाजमा गरेको छु तर यसपटक संसारको सबैभन्दा ठूलो जहाजमा यात्रा गर्दा मलाई चर्चित अंग्रेजी चलचित्र टाइटानिकको याद आइरह्यो । एक सय पाँच वर्षअघि बनेको टाइटानिकमा तीन हजार मानिस यात्रा गर्न सक्थे । त्यो बेला यो संसारको सबैभन्दा ठूलो जहाज थियो जसमा समायानुकूल सबै सुविधा राख्ने प्रयास गरिएको थियो । ‘हार्मोनी अफ द सिज’ मा भने त्यसपछिको सय वर्षमा विज्ञानले उपलब्ध गराएको सुविधा र मानिसले आर्जन गरेको कलालाई व्यावसायिक रूप दिने प्रयास गरिएको छ । यो जहाजको तौल २ लाख २७ हजार मेट्रिक टन रहेछ । जब कुनै कुरा शब्दबाट बयान गर्न असम्भव हुन्छ, यस्तै तुलना आवश्यक पर्दो रहेछ । सात दिनसम्म उक्त जहाजमा यात्रा गरिरहँदा मेरो मस्तिष्कमा यो जहाजको भब्यता पाठकसम्म कसरी पुर्‍याउने होला भन्ने कुराले डेरा जमाई रहेको थियो ।

अपराह्न सुरु भएको जहाजको धीमा यात्राबाट घाम डुब्दै गर्दा हामी ‘बर्मुडा ट्रयांगल’ मा प्रवेश गर्‍यौं । यो त्यही क्षेत्र थियो, जसले हजारौं मानिसलाई रहस्यमयी तवरले निरन्तर निलिरहेको थियो । १ सय २० जहाज र पानी जहाजलाई यो समुद्रले आफ्नो पिँधमा तानेको थियो । सबैभन्दा अनौठो कुरा यहाँ हराएका कतिपय जहाज र पानीजहाजका अवशेषसमेत भेटिएका छैनन् । हालै मात्र केही अमेरिकी र बेलायती वैज्ञानिकले यो समुद्रको पिँधका तस्बिरहरू सार्वजनिक गरेका छन् ।

रात गहिरिँदै जानु र विश्वकै खतरनाक स्थलमा हाम्रो पानी जहाज प्रवेश गर्नु सायद संयोग मात्र थिएन, यात्रुहरूलाई थप रोमाञ्चित र डर सिर्जना गर्नु पनि थियो । यो समुद्री भागलाई धेरै लेखकले ‘डेभिल्स ट्रयांगल’ जस्ता उपमा दिएका छन् । त्रिभुज आकारको यो काल्पनिक सामुद्रिक ‘स्पेस’ का बारेमा यति धेरै मिथक प्रचलित छन् कि सुन्दा नै कहाँसम्म सत्य र कुन बेला त्यसमा कल्पना घुस्यो पत्ता लगाउनै सकिँदैन । कसैले यसभित्र विशेष चुम्बकीय शक्ति भएकाले आकाशमा उडिरहेको जहाजलाई पनि तान्छ भन्ने विश्वास गर्दछन् । अरू कतिपयले भने यसलाई अन्य ग्रहका ‘एलियन’ को बसोबास हुने क्षेत्र मान्दै आएका छन् । केही वैज्ञानिकले यो क्षेत्रमा कम्पासले काम नगर्ने दाबी पनि गरेका छन् । यस्ता सूचना र मिथकलाई विभिन्न लेखक र चलचित्रका निर्देशकले आफ्नो कल्पना शक्तिको प्रयोग गरी अझै भयावह बनाइदिएका छन् । यो क्षेत्रमा भूकम्प, आँधीबेहोरीजस्ता प्राकृतिक घटना बारम्बार हुने गरेका कारण पनि बढी दुर्घटना भएको हुन सक्ने आकलन गरिएको छ । जे होस्, यहाँ पुगेपछि हरेक मानिसले विस्तारित समुद्रको चाल त नियाल्छ, तर मनमा घरी–घरी अनौठो त्रास र आशंकाको छाल भने चलिरहने रहेछ । 

मैले पनि गाढा हुँदै गएको रातको सन्नाटामा बढिरहेको मुटुको धड्कनलाई काबुमा राख्दै अबेरसम्म समुद्रलाई नियालिरहें । रात जति गहिरिँदै थियो, समुद्रले पनि थाकेर निदाउने प्रयत्न गरेझैं शान्त हुँदै गएको देखिन्थ्यो । मध्यरातसम्म पनि किंवदन्तीका कोलाहल र चिच्याहट केही सुनिएको थिएन । चकमन्न अँध्यारोमा एकोहोरो समुद्रलाई चिरेर अघि बढिरहेको जहाजको एकोहोरो आवाज भने झन्–झन् घनीभूत भइरहेको थियो । 

कुनै अद्भुत दृश्य देख्न र सुन्न पाइने त्रासमिश्रित आसमा घन्टौं प्रतीक्षा गरिरहेको मेरो मन त्यो बेला थाक्यो, जब पानीजहाजका सुरक्षाकर्मीले विनम्रतापूर्वक बिहान हुन लागेको जानकारीका साथ मलाई सुत्न जान आग्रह गरे । यो यात्रापछि मैले फर्केर ‘बर्मुडा ट्रयांगल’ बारे काल्पनिकबाहेक केही गम्भीर अनुसन्धान सामग्री अध्ययन गरें । अध्येताहरूले केही हवाइजहाज र पानीजहाज यो क्षेत्रमा हराएको कुरा सत्य भए पनि यहाँ त्यस्ता असामान्य कुरा भएको अस्वीकार गरेका छन् । दैनिक सयौं हवाइजहाज र पानीजहाज उड्ने र तैरिने अत्यन्त व्यस्त यो क्षेत्रमा वर्षमा दुई–चार दुर्घटना हुनुका कारणमा उनीहरूले अदृश्य शक्तिभन्दा पनि केही मानवीय त्रुटि र धेरै प्राकृतिक गडबडीलाई औंल्याएका छन् । जे होस्, यो यात्राका क्रममा आँखाले प्रत्यक्ष शान्त समुद्रको दर्शन गरेपछि भने ‘बर्मुडा ट्रयांगल’ को रहस्यमा लागेको पर्दा धेरै अर्थमा हटेको महसुस भएको छ ।

रात अबेरसम्म अनिदो भएका कारण भोलिपल्ट पानीजहाज सेन्ट–मार्टिन पोर्टमा अडिँदा शरीरले ओछयान छाड्न मानिरहेको थिएन । सेन्ट–मार्टिन एउटा सानो टापु हो । घुम्नका लागि हतारमै हामी जहाजबाट ओर्लियौं । अघिल्लो दिनदेखि बिन्दिताको आँखामा समस्या आएको थियो । आँखा डाक्टरलाई देखाउनुपर्ने बाध्यताले हामी हतारमा बाहिरिएका थियौं । यो क्षेत्रमा घुम्दै जाँदा नयाँ कुरा थाहा पाइयो । ८७ वर्गकिलोमिटर क्षेत्रफल भएको यो सानो टापु दुई देशमा विभाजित छ । एउटै टापुलाई चिरा पारेर फ्रेन्च र डचहरूले शासन गरिरहेका रहेछन् । दुई देशमा जम्मा ७८ हजार जनसंख्या छ । देश त के एउटा महानगर हुन पनि अपुग जनसंख्या भएको क्षेत्रमा दुई देश हुनु मेरा लागि मात्र होइन, हामीसँग यात्रारत सबैका लागि आश्चर्यको विषय थियो । फ्रेन्च अधीनस्त सेन्ट मार्टिनको राजधानी मारिगोट हो, डच क्षेत्रको चाहिँ फिलिप्सवर्ग । दुवै जाति र भाषाका मानिस एकआपसमा मिलेर बसेका महसुस भयो । गत वर्ष साइप्रसको भ्रमणमा रहँदा त्यहाँको राजधानी निकोसिया सहर दुई देशमा विभाजित भएको देखेर त्यस बेला लेखेको नियात्रामा निकोसिया अन्तिम विभाजित सहर होस् भन्ने मैले कामना गरेको थिएँ । यहाँ आएपछि फेरि महसुस भयो, मानिस आफू शासक बन्न सानो बहानामा प्रकृतिले एक ठाउँमा सिँगारेर राखेको भूगोललाई छुट्याउन पनि पछि नपर्ने रहेछ । करिब ५ सय वर्षअघि विभाजित यो टापु पुन: एउटै भइदियोस् भन्ने कामना गर्दै साँझतिर हामी अर्को क्षेत्रका लागि रमाना भयौं । 

यात्राको चौथो दिन बिहान सात बजे प्वएर्टो–रिको को ‘सान हुवाँ’ नामक पोर्टमा पुगियो । बाहिरबाट हेर्दा प्वएर्टो–रिको छुट्टै एउटा देश हो र ध्यानपूर्वक हेर्दा होइन पनि † प्वएर्टो–रिकोका जनताले अमेरिकामा सामेल हुन पाउनुपर्छ भनेर कैयौंपटक जनमतसंग्रह पनि गरेका छन् । पछिल्लो जनमतसंग्रह हामी त्यहाँ पुग्नु एक महिनाअघि मात्र सम्पन्न भएको रहेछ, जसमा खसेको मतमध्ये ९७ प्रतिशत जनताले अमेरिकामा विलय हुन पाउनुपर्छ भनेर भोट हालेका रहेछन् । यहाँका जनताले अमेरिकाको समृद्धिप्रति जति हत्ते गरे पनि अमेरिका भने प्वएर्टो–रिकोलाई विलय गराइहाल्ने पक्षमा अझै देखिएको छैन । 

यो ठाउँ करिब चार सय वर्षदेखि स्पेनिसहरूको अधीनमा थियो । १८९८ यता भने यो टापु अमेरिकी उपनिवेशका रूपमा रहेको छ । अमेरिकाका लागि ठूलो सामरिक महत्त्व राख्ने भएका कारण ३५ लाख जनसंख्या रहेको प्वएर्टो–रिको कुनै दिन ५१ औं राज्य हुनेछ भन्ने विश्वास त्यहाँका जनतामा रहेछ । प्राकृतिक सम्पदामा निकै धनी देखेर स्पेनिसहरूले यो ठाउँको नाम प्वएर्टो–रिको (जसको शाब्दिक अर्थ हुन्छ रिच–पोर्ट सिटी) राखेका रहेछन् । कुनै जमानामा निकै सम्पन्न रहेको यो देश अहिले भने भारी ऋणले थचक्कै थिचिएको रहेछ । केही समयअघि मात्र नजिकैको सेन्ट–मार्टिनका मानिसहरूले आफू बसेको सानो भूगोललाई टुक्य्राएर दुइटा देश बनाएको देखेका हामीलाई अमेरिकामा गाभिन यति मरिहत्ते गरिरहेको मुलुक प्वएर्टो–रिकोले फेरि एकचोटि अचम्भित तुल्याइदियो । यिनै आश्चर्य, रोमान्च र नयाँपनको समष्टि अनुभूति नै सायद यात्रा हो र यिनको बाहुल्यले यात्रालाई अविस्मरणीय र समृद्ध बनाउँछ । 

रात ‘हार्मोनी अफ द सिज’ मा बिताउने अनि जब उक्त जहाज उज्यालोमा कुनै टापु पुग्छ, उत्रिएर दिनभर घुम्ने हाम्रो बानी परिसकेको थियो । हामी हरेक बिहान विस्फारित नयनले अतुलनीय सौन्दर्य निहार्न उठ्थ्यौं र साँझ थाकेको शरीरलाई एक छिन आराम दिएर पुन: अर्को बिहानको प्रतीक्षा गर्न थाल्दथ्यौं । सबै टापु एक से एक थिए र सबैका आ–आफ्ना विशेषता थिए । हरेक टापुले नयाँ सन्देश दिएर जान्थे । नयाँ ठाउँ पुग्दा ‘एउटा यात्रा गर्नु सयौं पुस्तक पढ्नु बराबर हो’ भन्ने कुरा त्यसै भनिएको होइन भनेझैं लाग्ने गथ्र्यो ।

यस सामुद्रिक यात्रामा हाम्रो जहाज अडिएको अन्तिम गन्तव्य थियो, हाइटी । हाइटी यस्तो देश हो, जहाँ झन्डै तीस वर्ष ‘पापा–डक’ र ‘बेबी–डक’ (फ्रान्सिस डुभालिएर र झां डुभालियर) ले चरम हुकुमी शैलीमा शासन गरेका थिए । बाह्य शक्ति र अन्तरिक राजनीतिक दाउपेचका कारण हाइटी निकै पछाडि परेको देश हो । त्यसमाथि क्यारेबियन क्षेत्रमा आइरहने नियमित आँधीबेहोरीले यहाँ सधैं धेरै धन–जनको क्षति पुर्‍याउने गर्छ । 

हाइटी पुग्नेबित्तिकै मलाई सन् २०१० मा त्यहाँ गएको ७ रेक्टर स्केल बराबरको महाविनाशकारी भूकम्पको सम्झना भयो । प्रकृतिको त्यो प्रकोपमा परेर झन्डै असी हजार जनताले ज्यान गुमाएको अनुमान गरिएको छ । अमेरिका, युरोपियन युनियन र विभिन्न गैससहरूले भूकम्पपछि हाइटीको पुनर्निर्माणका लागि ठूलो आर्थिक सहयोग उपलब्ध गराएका थिए । त्यसमध्ये अमेरिकन रेडक्रसले उठाएको पाँच सय मिलियन डलर (५२ अर्ब रुपैयाँ) मा छवटा घर मात्रै निर्माण भएको कुरा दुई वर्षअघि मिडियामा निकै चर्चित हुन पुगेको थियो । 

‘रोयल क्यारेबियन क्रुज’ नामक बहुराष्ट्रिय कम्पनीले हाइटीको ‘लावादी’ क्षेत्रलाई सन् १९८६ देखि ठेक्कामा लिएको रहेछ । उक्त कम्पनीले विभिन्न व्यावसायिक काम गरेर नाफा लिन सक्ने व्यवस्था हाइटी सरकारले गरिदिएको छ । कुनै एक कम्पनीलाई देशको कुनै क्षेत्र ठेक्कामा दिनु नेपालका लागि पेचिलो राजनीतिक विषय बन्न सक्ला । तर एक जना पर्यटक त्यस क्षेत्रमा प्रवेश गरेबापत प्रतिदिन १२ अमेरिकी डलर पाउने सर्तमा गरिएको उक्त सम्झौताले हाइटी सरकारले वार्षिक करोडौं डलर रोयल्टी पाउने रहेछ । हाम्रो जहाज त्यो क्षेत्रमा एक दिन विश्राम गर्दा हाइटी सरकारले ८४ हजार डलर प्राप्त गरेको देख्दा मलाई कुनै क्षेत्रको विकास गर्ने यो तरिका आकर्षक लाग्यो । मैले यस विषयमा केही स्थानीय मानिससँग सोधपुछ पनि गरें । मैले जतिलाई सोधें, कसैले पनि सरकारले गरेको त्यो निर्णयलाई गलत भनेन । त्यहाँ स्थानीय व्यक्तिले पाएको आकर्षक रोजगारीका कारण पनि मानिसमा असन्तुष्टि नदेखिएको हुन सक्छ । हाइटीको भूमिमा टेक्ने अवसर जुरे पनि क्रुज कम्पनीले लिज लिएको हाइटीको लावादी क्षेत्रभन्दा बाहिर पर्यटकहरू जान नमिल्ने भएकाले राजधानी पोर्ट–ओ–प्रिन्स र भूकम्पपछि हाइटीको पुनर्निर्माण कसरी भइरहेको रहेछ भनेर हेर्ने धोको यसपटक पूरा हुन सकेन ।
***
यी पंक्ति लेख्न बसिरहँदा मैले घुमेका क्यारेबियन टापुहरूमा अचानक ‘इर्मा’ नामक समुद्री आँधी सुरु भएको खबर आएको छ । १८५ माइल प्रतिघण्टाका दरले आएको उक्त आँधीले सेन्ट–मार्टिन, बारबोसालगायतका अन्य द्वीपमालालाई तहसनहस बनाएको दृश्य टेलिभिजनमा देखाइरहँदा यो आँधी छिट्टै रोकियोस् भन्ने कामना गरेको थिएँ । तर त्यसो भएन । विज्ञहरूले यो आँधीलाई गएको दशककै ठूलो प्राकृतिक प्रकोप बताएका छन् । यस प्राकृतिक विपत्मा परी हामीले घुमेका धेरै मानव बस्तीका छानाहरू उडेको दृश्य देख्नुपर्‍यो ।

हेर्दाहेर्दै दर्जनौं व्यक्तिको ज्यान गएको खबर आयो भने ९० प्रतिशत घरहरू बस्न अयोग्य भएको सुनियो । मैले केही अघि मात्र देखेको बर्मुडा त्रिकोणले रोमाञ्चक किंवदन्तीले सिँगारिएको आफ्नो अद्भुत सौन्दर्य र शान्त स्वभावका कारण विश्वभरिका लाखौं पर्यटकलाई आकर्षित गरिरहेको थियो । तर हठात के भो के, उसैले यस्तो शक्तिशाली रौद्र रूप धारण गर्‍यो कि यो विपद् फेरि पनि क्यारेबियन टापुलाई अदृश्य शक्तिको कोपभाजनको सिकार भइरहनुपर्ने नियति बोकेको अभागी ठाउँ मानेर कथा बुन्नेहरूका लागि नयाँ खुराक हुनेछ । म भने बिचल्लीमा परेका त्यहाँका मानिसको आत्मीय मुस्कान सम्झिरहेको छु र तिनको जीवन निरापद होस् र ती चाँडै नियमित दैनिकीमा फर्किन सकून् भन्ने कामना गररहेको छु । 

प्रकाशित : भाद्र ३१, २०७४ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?