‘रजगज’ पढेपछि...

समीक्षा
‘रजगज’ भ्रष्टाचारको देशान्तरीय अध्ययन गरिएको अहिलेसम्मको एउटा गतिलो दस्ताबेज हो । लेखकले विभिन्न उपशीर्षकहरू राखेर शासन व्यवस्था कसरी गुणात्मक क्षयतर्फ जाँदै छ भन्ने केही उदाहरण दिएका छन् ।
विमल कोइराला

काठमाडौं — ‘रजगज’ भ्रष्टाचारको देशान्तरीय अध्ययन गरिएको अहिलेसम्मको एउटा गतिलो दस्ताबेज हो । लेखकले विभिन्न उपशीर्षकहरू राखेर शासन व्यवस्था कसरी गुणात्मक क्षयतर्फ जाँदै छ भन्ने केही उदाहरण दिएका छन् ।

 ‘रजगज’ पढेपछि...

हरिबहादुर थापा नेपालको शासन व्यवस्था, भ्रष्टाचार र प्रशासनिक संस्कृतिमा कलम चलाइरहने सिद्धहस्त नाम हो । मैले छापाहरूमा उनका थुप्रै रचनाहरू पढेको छु । नेपालको शासन व्यवस्था इमान र निष्ठामा चलोस्, जनताले सास्ती खेप्नु नपरोस् र लोकतन्त्रको लाभांश सबै जनताले निर्बाध रूपमा पाउन् भन्ने मान्यता राख्ने लेखकले नयाँ पुस्तक ‘रजगज’ प्रकाशन गरेका छन् । पुस्तक पढिसकेपछि म एकपटक बेस्सरी रन्थनिएँ । हुन त पहिले निस्किएका पुस्तकहरू पनि उत्तिकै रोचक र सूचनामूलक नै थिए । ‘रजगज’ मा भने लेखक अझ माझिएको पाएँ । रजगज प्रामाणिक पुलिन्दा जस्तो छ— शासन व्यवस्था र हाम्रा सार्वजनिक संस्थाहरूको । जतिसुकै स्रोतसाधन र सम्भावना भए पनि भ्रष्टाचारले मुलुकलाई खोक्रो बनाउँछ, सामाजिक बाना च्यातिन्छ र सभ्यतामाथि नै प्रहार गर्छ । नाइजेरिया र सियरालिओनजस्ता मुलुकहरूले भोगेको नियति त्यही हो र हामी पनि वर्षौंदेखि त्यही संक्रमणको सिकार हुँदै आएका छौं । अहिले आधारभूत सेवाका क्षेत्रहरूमा, रोजगार, सरुवा–बढुवा, ठेक्कापट्टा र न्याय प्रणालीमा देखिएका विकृतिहरू भ्रष्टाचारकै उपज हुन् भन्न संकोच मान्नु पर्दैन । यिनै वास्तविकताहरूको सांगोपांगो अध्ययनको प्रामाणिक दस्तावेज हो— ‘रजगज’ ।

भ्रष्टाचार विकासको एक्लो बाधक हो जसले विधिको शासनको धज्जी उडाउँछ र सेवाप्रवाहमा संलग्न सबै सार्वजनिक संस्थाहरूलाई निकम्मा बनाउँछ । भ्रष्टाचार पहिला मौलाउँछ पछि फैलिँदै जान्छ र त्यसपछि समाजमा जरा गाडेर संस्थागत हुँदै जान्छ । व्यक्तिगत तवरमा हुने यो संक्रमणले छोटै अवधिमा महामारीको रूप लिन्छ । नेपाल निर्माण भएदेखि शाहवंशीय राजाहरू र राणाकालीन शासन व्यवस्थाले बीजारोपण गरी हुर्काएको परम्परा पञ्चायत हुँदै बहुदलकाल र लोकतान्त्रिक गणतन्त्रका कति वेगिलो भई प्रसारण भयो भन्ने विवरण लेखकले चोटिलो रूपमा पेस गरेका छन् । लेखकले इतिहासका घटना–परिघटनाहरू पनि प्रमाणसहित उल्लेख गरेकाले अनुसन्धानमा उनको रुचि प्रस्ट देखिएको छ ।

सन् २००४ को अप्रिलमा डेनियल कफम्यानले विश्वव्यापी भ्रष्टाचार एक हजार अर्ब डलर भएको उल्लेख गरेका थिए । अहिले १३ वर्षमा यो रकममा बढोत्तरी नै भएको होला । शक्तिको दुरुपयोग गरी निजी फाइदाका निम्ति गर्ने कामको मात्रा बढेकाले भ्रष्ट मुलुकहरूमा कुल गार्हस्थ्य उत्पादनको ठूलै हिस्सा भ्रष्टाचारमा गएको देखिन्छ । भ्रष्टाचारबाट प्रताडित मुलुकहरूमा जनतामा वैधानिक आकांक्षा पूरा नहुँदा देखा पर्ने कुण्ठा र निराशा सहजै देखिन्छ । हाम्रो मुलुक नै यसको राम्रो उदाहरण हो । भ्रष्टाचारलाई मूल समस्या नठान्ने मुलुकहरूमा गरिबी र विषमताको समस्या सम्बोधन गर्न गाह्रो पर्छ । दिगो विकास र उच्च आर्थिक वृद्धि पनि हासिल हुँदैन । हाम्रो मुलुकमा विकासको गति कमजोर हुनुमा विनियोजित स्रोतसाधन ठीक ठाउँमा नपुग्नु र अत्यधिक चुहावट हुनु हो । लेखक हरिबहादुर थापाले धक नमानी खुलस्त भ्रष्टाचारको छविभित्र पाठकसामु राखेका छन् । आगे पाठककै जिम्मा ।

नौ विषयहरूमा लेखिएको रजगजका सबै विषयहरू भिन्नाभिन्नै प्रसंगमा लेखिएका भ्रष्टाचार र सत्ता दुरुपयोगका ज्वलन्त उदाहरण हुन् । अवसर पाउँदा गरिने भ्रष्टाचारभन्दा पुस्तकमा ‘सिस्टमेटिक’ भ्रष्टाचारको वर्णन गरिएकाले कसरी हाम्रा संस्था र प्रक्रियाहरू ध्वस्त बनाइए भन्ने कुरा छर्लंग हुन्छ । सत्ताको दुरुपयोग गरी शक्ति बढाउने बदलाको भावले गठित शाही आयोगदेखि सत्ता टिकाउन राज्य कोषको प्रयोग गरी सांसद खरिद–बिक्री र उपचारको बहानामा बैंकक पठाइएका घटनासमेत यसमा समेटिएका छन् । दरबारियाहरू शीर्षक राखिएको प्रबन्धमा राजाले सबै दलहरूलाई समन्वय गरी असल शासन व्यवस्था दिनुपर्नेमा राजसंस्था नै तटस्थ नरही बदलाको भावले प्रेरित रही दलहरूमा फाटो ल्याउने र आफूले मन नपराएकाहरूमाथि कारबाहीको त्रास देखाएको सजीव वर्णन लेखकले रोचक ढंगले प्रस्तुत गरेका छन् । शक्ति हत्याएर सर्वेसर्वा हुने लोभमा गैरसंवैधानिक संस्थाहरू खडा गरी ठूलै कालखण्ड षड्यन्त्रमा व्यतीत भएको यथार्थ छवि चित्र यस खण्डमा छ । जनताको विश्वास राजसंस्थाप्रति क्षय हुँदै जानुमा यिनै षड्यन्त्रहरूको भूमिका रहेको देखिन्छ । राष्ट्रिय ढुकुटी दोहन गरी निजी फाइदा लिन पनि उपयुक्त समय रोजेको र तात्कालिक मन्त्रिपरिषद्लाई गोटी बनाउन खोजेको घटनालाई लेखकले जस्ताको तस्तै वर्णन गरेका छन् लेखकले ।

सत्तासीन दलकै सदस्यहरू गुट उपगुट सिर्जना गरी एकअर्कालाई सिध्याउने खेलमा लागेको विषय ‘जाँचबुझको कर्मकाण्ड’ मा लेखकले सटीक रूपमा वर्णन गरेका छन् । सार्वजनिक संस्थाहरूप्रति अत्याचार बढाउने काम संस्थाहरू राजनीतिकरण गरिएबाट भयो । कर्मचारीतन्त्रमा तल्लो तहमा ट्रेड युनियन र उपल्लो तहमा भागबन्डा गरियो । प्रहरी प्रशासनको पनि कित्ताकाट गरियो । हुँदाहुँदा अदालत पनि राजनीतिको सिकार हुन पुग्यो । त्यति हुँदा पनि सन्तुष्टि मिलेन र एकले अर्कोलाई सिध्याउने तानाबाना बुनियो । त्यसकै उपज अख्तियारको ऐन र सम्पत्ति जाँचबुझ आयोग थियो । त्यस बेलाको कथा यस पंक्तिकारलाई पनि धेरथोर थाहा छ तर थापाले कसरी तुरूपको पत्ताको रूपमा यी संस्थागत औजारहरू कसका निम्ति प्रयोग गरिए भन्ने कुराको सिलसिलेवार प्रस्तुति दिएका छन् । यो औधि रोचक र सूचनामूलक छ । उच्चस्तरीय सम्पत्ति जाँचबुझ न्यायिक आयोगको प्रतिवेदन अख्तियारका १/२ जना र तात्कालिक मन्त्री रमेशनाथ पाण्डेबाहेक कसैले हेर्न पाएको छैन । मुखपृष्ठ र मोटाइ (प्रतिवेदन) देख्ने अरू १/२ जना होलान् । प्रतिवेदन गोप्य राखिनुले र किस्ताबन्दीमा कारबाही अघि बढाइनुले नियत छर्लंग हुन्छ । भ्रष्टाचार हाम्रो मुलुकको महारोग हो तर भ्रष्टाचार नियन्त्रणमा लागेकाहरूले खेल्ने गरेको दाउपेच पनि हाम्रो मुलुकमा भ्रष्टाचारभन्दा कम कहालीलाग्दो छैन ।

‘भ्रष्टाचारको मुहान र भ्रष्टाचारी मन्त्रीहरू’ भन्ने शीर्षकमा नीतिगत भ्रष्टाचारको कहालीलाग्दो तस्बिर छ । कसरी नियामक संस्था छल्न आफ्नै अधिकार क्षेत्रभित्रको विषय मन्त्रिपरिषद्मा निर्णयका लागि पठाइन्छ— सिफारिसकर्ताको के कस्ता स्वार्थहरूले निर्णय प्रभावित हुन्छन् भन्ने विषयहरूलाई उदाहरणसहित लखेकले वर्णन गरेका छन् । आफू पदमा नरहँदा पनि सरकारी सुविधा निरन्तर भोग्दै आएका मन्त्रीले फिर्ता गर्नुपरे गाडी त्रिशूलीमा बगाइदिन्छु भन्नेसम्मको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले शासन व्यवस्थामा सुधार सम्भव छैन भन्ने निराश विद्यार्थीहरूलाई थप निराश बनाएको छ । अमूक व्यक्ति वा फर्मलाई ठेक्का दिने विषय वा समयमा नियमित काम नगरी म्याद नघाउने र पछि अपर्झट खरिद गर्न स्वीकृति दिने विषय भ्रष्टाचार गर्ने कुत्सित मनसायले प्रेरित मुद्दा हुन् । यस्ता नीतिगत भ्रष्टाचारहरू अहिले नियमित हुने गरेका छन् जसको लामै फेहरिस्त लेखकले प्रमाणसहित राखेका छन् । त्यसो त भ्रष्टाचार बहुदलीय वा लोकतान्त्रिक गणतन्त्र आएपछि मात्र विस्तार भएको होइन, हाम्रो मुलुक पञ्चायत व्यवस्थाभरि भ्रष्टाचारका रोचक काण्डहरूले भरिएको थियो । दरबार वा शाही परिवारसँग मिलेर गरिने एक खालको भ्रष्टाचार हुन्थ्यो भने अर्कोथरी भ्रष्टाचार मन्त्रीहरू र कर्मचारी तहबाट हुन्थ्यो । त्यस बेला पनि भ्रष्टाचार संरक्षित नै हुन्थ्यो र एक–अर्का पोल खोलाखोलमा उद्यत हुन्थे ।

अहिले भएको भ्रष्टाचार पञ्चायतकालीन बेथितिको विस्तारित रूप हो भन्न सकिन्छ । पञ्चायतकालमा धेरै विषय गोप्य रहने, सञ्चारमाध्यमको सरकारी सूचनामा पहुँच नहुने र प्रकाशनमा ल्याउनेलाई व्यक्तिगत थ्रेट हुने हुँदा भ्रष्टाचारका सूचना सीमित रूपमा बाहिर आए । लेखकले बडो मिहिनेत गरेर पञ्चायतकालीन भ्रष्टाचारको खोतलखातल पारेका छन् । फ्रेड गेजले ‘नेपालमा राष्ट्रियता र राष्ट्रिय एकता’ भन्ने पुस्तकमा तल्लो तहमा निम्नस्तरीय कर्मचारीहरूबाट नेपालको शासन व्यवस्था प्रताडित भएको उल्लेख गरेका छन् । हरिबहादुर थापाले उल्लेख गरेका दृष्टान्तहरू पनि सबै तहको भ्रष्टाचारलाई समेट्ने गरी आएका छन् । अर्थलोलुप कर्मचारीतन्त्र कसरी व्यक्तिगत लाभका निम्ति नियम कानुनको अपव्याख्या गर्छ भन्नेदेखि लिएर आफ्नो सुविधामा मात्रै कसरी मरिहत्ते गर्छ भन्ने प्रमाणसहित व्याख्या गरिएको छ । हाम्रो मुलुकमा कुनै–कुनै संस्थामै संरचनागत अनियमितता हुने गरेको पाइएको छ । नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण र रकम कारोबार हुने सरकारी संस्थाहरूको इतिहास हेर्ने हो भने यिनै संस्थाका कार्यकारी प्रमुखहरू अनियमितताको फन्दामा परेको देखिएको छ । विकास (पुँजीगत) खर्च कम हुनु र गरिएको खर्चले पनि गुणस्तरीय काम नहुनुका पछाडि पनि भ्रष्टाचारजन्य मानसिकता रहेको देखिन्छ । लेखकले विभिन्न उपशीर्षकहरू राखेर शासन व्यवस्था कसरी गुणात्मक क्षयतर्फ जाँदैछ भन्ने केही उदाहरण दिएका छन् । साँच्चै भन्ने हो भने ‘रजगज’ भ्रष्टाचारको देशान्तरीय अध्ययन गरिएको अहिलेसम्मको एउटा गतिलो दस्ताबेज हो ।

भ्रष्टाचार हाम्रो मुलुकको सामाजिक–सांस्कृतिक र राजनीतिक विकासको एक मात्र बाधक हो । शासन व्यवस्था क्षय हुँदै जान र सरकार–जनताबीच संवाद पातलो बनाउने पनि भ्रष्टाचारले नै हो । सेनाको गुणस्तर खस्कँदै जानु र सेवा नपाउनुको कारण पनि भ्रष्टाचार हो । न्याय सर्वसुलभ नहुनु, बेरोजगारी बढ्नु, दुर्घटना बढ्नु, विभेद बढ्नु र गरिबी बढ्नु पनि भ्रष्टाचारजन्य विकृति हुन् । समाजले भ्रष्टाचारले सिर्जना गर्ने विकृति सेन्सर नगर्ने (बरु उल्टो अनुमोदन गर्ने) नहुँदा एकथरी बडो बेमनासिब ढंगले रजगज गरी बसेका छन् र निरीह जनताले तिनकै खप्की र सास्ती भोग्नुपरेको छ । जबसम्म यी अवैध रजगज गर्नेहरूको अस्तित्व समाप्त हुँदैन, समाज स्वस्थ रूपले अघि बढ्न सक्तैन । लोकतन्त्रको मुख्य मान्यता स्थापित गर्न, गरिब जनतासम्म लोकतन्त्रको लाभांश पुर्‍याउन र न्यायपूर्ण सामाजिक–आर्थिक थिति बसाउन नयाँ रजगज गर्नेहरू नजन्मिउन्— पुराना रजगज गर्नेहरूको न्यायिक टुंगो लागोस् भन्ने लेखक हरिबहादुर थापाको मनसायसँग पुस्तक पढिसकेपछि आमपाठक सहमत हुन्छन् भन्ने मेरो विश्वास छ । समग्रमा रजगज पठनीय र संग्रहणीय पुस्तक हो र यो पुस्तक निर्माणमा लाग्नुहुने लेखक हरिबहादुर थापालाई मेरो बधाई ।

प्रकाशित : भाद्र ३१, २०७४ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?