१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘भ्रष्टाचारले लोकतन्त्र विकृत’

काठमाडौं — मौलाउँदै गएको भ्रष्टाचारले लोकतन्त्रलाई विकृत बनाएको र यसको नियन्त्रण नभए लोकतन्त्रलाई नै वितृष्णा फैलाउनेतर्फ विज्ञहरूले प्रश्न उठाएका छन् । वरिष्ठ पत्रकार हरिबहादुर थापाको हालै सार्वजनिक खोजमुलक कृति ‘रजगज’ लाई सन्दर्भ बनाउँदै राजधानीमा शनिबार आयोजित ‘भ्रष्टाचारको रजगज’ विषयक अन्तरक्रियामा वक्ताहरूले ‘प्रणाली सुधार्ने हो भने अहिलेका प्रमुख दल र तिनका मुख्य नेता नै सच्चिनुपर्ने’ बताए ।

‘भ्रष्टाचारले लोकतन्त्र विकृत’

मौलाउँदै गएको भ्रष्टाचारले लोकतन्त्रलाई विकृत बनाएको र यसको नियन्त्रण नभए लोकतन्त्रलाई नै वितृष्णा फैलाउनेतर्फ विज्ञहरूले प्रश्न उठाएका छन् ।

वरिष्ठ पत्रकार हरिबहादुर थापाको हालै सार्वजनिक खोजमुलक कृति ‘रजगज’ लाई सन्दर्भ बनाउँदै राजधानीमा शनिबार आयोजित ‘भ्रष्टाचारको रजगज’ विषयक अन्तरक्रियामा वक्ताहरूले ‘प्रणाली सुधार्ने हो भने अहिलेका प्रमुख दल र तिनका मुख्य नेता नै सच्चिनुपर्ने’ बताए ।

‘लरतरो हिसाबले नेताहरू सच्चिदैनन् । उनीहरूलाई समाजले दण्डित गर्नैपर्छ,’ डा.गोविन्द केसीले भने । कान्तिपुर दैनिकका समाचार सम्पादकसमेत रहेका लेखक थापाले ‘भ्रष्ट नेतृत्वलाई चुनावबाट हराई दण्डित गर्ने विकल्प’ सुझाए । ‘अहिले मौका आएको छ । जनताले भ्रष्ट नेतालाई चुनावमा हराउनुपर्छ । त्यसको सन्देश सबैतिर जान्छ र भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्छ,’ थापाले भने । उनले शक्ति पृथकीकरणको सिद्धान्तलाई नै कमजोर पार्ने गरी राजनीतिक नेतृत्वले रजाइ गरेको दाबी गरे । ‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबल र सक्षम हुँदा सबै काम राम्रो हुन्छ । अहिले त यी तीनै अंग ३/४ जना मिलेर चलाउन थाले,’ उनको कटाक्ष थियो, ‘शक्ति पृथकीकरण नै ४ जनामा गएछ ।’ वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ ले चाहिँ पञ्चायत कालदेखिकै भ्रष्टाचारको विरोधमा आफूले कोरेको कार्टुन अनुभव बाँडे । ‘त्यतिबेला करोडको भ्रष्टाचार देखाउन सम्बन्धित पात्रको पेट ठूलो पारिन्थ्यो । अहिले त सत्तामा बस्ने सबैको पेट ठूलो भइसकेको छ ।

अरबौंको भ्रष्टाचार हुन थालेको छ । पेट ठूलो देखाएर मात्र नहुने अवस्था छ,’ शुक्रबार मात्रै यो वर्षको जगदम्बाश्री पुरस्कार पाएका बरालले रमाइलो तरिकाले सुनाए । नीतिगत भ्रष्टाचार र अहिलेको अरबौं भ्रष्टाचार कार्टुनबाट देखाउन अहिले कार्टुनिस्टलाई हम्मे पर्ने अनुभव उनले राखे । कार्यक्रममा सहजकर्ता बनेका वरिष्ठ पत्रकार कनकमणि दीक्षितले अब भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टमाथि कारबाही गर्न कसको भूमिका के हुने भन्दै सहभागीलाई प्रश्न उठाएका थिए ।

डा.केसीले थपे, ‘नागरिक समाज र मिडियाको ठूलो हात छ । नागरिक समाज सशक्त, निष्पक्ष र सक्रिय भयो भने धेरै हदसम्म नियन्त्रण हुन्छ ।’ भ्रष्टाचारको नालीबेली खोतल्दै थापाले केही साताअघि ‘रजगज’ सार्वजनिक गरेका थिए । यसअघि उनका ‘भ्रष्टाचारको शल्यक्रिया’, ‘विदेशी सहयताका विसंगति’, ‘दलीय द्वन्द्व’, ‘एनाटोमी अफ करप्सन’ र ‘राजनीतिक दाउपेजभित्र कर्मचारीतन्त्र’ (संयुक्त लेखन) प्रकाशित छन् । ‘रजगज’ फाइन प्रिन्टले छापेको हो ।

प्रकाशित : आश्विन ८, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?