२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘व्यक्तित्व र काव्यमा चिरयौवनाको गुण’

राष्ट्रकविको ९९ औं जन्मदिन

काठमाडौं — अढाइ वर्षको छँदा नै राष्ट्रकवि माधवप्रसाद घिमिरे आमाको मायाबाट वञ्चित हुनुपर्‍यो । ‘आमाको माया, स्वभाव कस्तो हुन्छ ?’ घिमिरे प्राय: घोत्लिरहन्थे । आमाको माया खोज्दै जाँदा उनी प्रकृतिसँग बढी घुलमिल हुन थालेछन् ।

 ‘व्यक्तित्व र काव्यमा चिरयौवनाको गुण’

उनलाई पाखापखेरा, खोलानालाले आफूसँग लुकामारी खेलेजस्तो, संवाद गरेजस्तो लाग्न थालेछ । प्रकृतिमै घिमिरेले आमालाई पाउन थाले । उनले आफ्नो जन्मभूमि र त्यहाँको प्रकृतिलाई कवितामै पोखे : 
लाग्दछ मलाई रमाइलो मेरै पाखापखेरो
हिमाल चुलीमुन्तिर पानी भर्ने पधेँरो

राष्ट्रकवि घिमिरेका यस्तै प्राकृतिक भावका कविता, गीति कविताहरू, गीतहरू अहिलेसम्म पनि कालजयी छन् । प्रकृतिसँगै जीवन, राष्ट्रियता र देशप्रेम घोलिएका उनका कविताहरू जनजनका मनमुटुमामा ताजै छन् । उनले लेखेका कविताका हरफ, पंक्ति मात्र नभई पूरै खण्डकाव्य नै कण्ठस्थ पार्नेहरू अहिले पनि भेटिन्छन् । 

उनै राष्ट्रकवि शनिबारबाट ९९ औं वर्षमा प्रवेश गरे । नेपाल प्रज्ञा प्रतिष्ठानको समालोचना तथा निबन्ध विभाग र लेखक संघ दाङले भने एक दिनअगावै शुक्रबार नै राष्ट्रकवि माधवप्रसाद घिमिरेको ९९ औं जन्मोत्सव मनायो । घिमिरेलाई जन्मदिनको शुभकामना दिनेहरूको बाक्लै उपस्थिति थियो । कविता लेख्न आफू जन्मिएको गाउँका खोला, पाखा पखेरा, संस्कृति मात्र नभई सँगै बसेकी पत्नी महाकालीलाई प्रेरणाको स्रोत भएको बताए । ‘कविता मात्र लेख्यो तर कानमा सुन लगाइदिएन भनेर उनले कहिले भनिनन्,’ कविले थपे, ‘बरु छोराछोरीलाई पनि संयमित बनाइदिइन् ।’ घिमिरेले कार्यक्रममा सबैको माया पाएर रोमाञ्चित भएको सुनाउँदै भने, ‘मलाई त सय वर्ष पुगेको अनुभूति भइरहेको छ ।’ भानुभक्त आचार्य, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटाको कविताहरूको बयान गर्दै उनले कविहरूले लेख्ने कविताको ढंग, शैली, भाव भिन्न हुनुपर्नेमा जोड दिए । 

साहित्यकार बैरागी काइँलाले घिमिरेलाई सम्मानपत्र हस्तान्तरण गर्दै ‘कविहरूको पितामह’ को रूपमा व्याख्या गरे । यो उमेरमा पनि उत्तिकै तेजिलो, रबाफिलो र संगठित अभिव्यक्ति दिन सक्ने क्षमताको प्रशंसा गर्दै उनले भने, ‘निरन्तर सिर्जना गर्ने मान्छे बूढो हुन्न । घिमिरेको व्यक्तित्व र काव्यमा चिरयौवनाको गुण पाइन्छ ।’ ९९ औं वर्षमा पनि महाकाव्य ‘ऋतम्भरा’ लेखिरहेका घिमिरेको प्रशंसा गर्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अनवरत साहित्य साधनाले राष्ट्रलाई गति दिन दिशानिर्देश गर्दै आएको बताए । उपकुलपति विष्णुविभु घिमिरेले सहज भाषामा गहन कविता लेख्न सक्ने व्यक्तिको रूपमा व्याख्या गरे । कार्यक्रममा संघले राष्ट्रकविका बारे तयार पारेको ‘प्रवाह’ विशेषांक पनि लोकार्पण गरिएको थियो । त्यस्तै, कार्यक्रममा प्रा.डा. हेमचन्द्र नेपालले राष्ट्रकविको व्यक्तित्व र कृतित्वबारे प्रवचन दिएका थिए । कविले कवितामा प्रकृति, जीवन र राष्ट्रप्रेम मात्र नभई क्रान्तिका आवाज पनि उठाएको उनले दाबी गरे । भने, ‘अरू कविहरू जीवनभित्र प्रकृतिलाई खोजिरहेका हुन्छन् भने राष्ट्रकवि प्रकृतिवादका माध्यमबाट जीवन बोलाउने काम गर्छन् । उनका कैयौँ गीति कवितामा क्रान्तिका कुराहरू छन् ।’ 

कार्यक्रममा प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलले घिमिरेको ‘गौरी’ खण्डकाव्य कण्ठस्थ रहेको बताए । नेपाल लेखक संघका अध्यक्ष श्रवण मुकारुङले समकालीन कवि र कविताको तुलनामा घिमिरको कविताहरूमा श्रुतिमयता भएको दाबी गरे । समालोचना विभाग प्रमुख ज्ञानु पाण्डेले घिमिरेलाई ‘आधुनिक कविताको ज्युँदो इतिहास’ को रूपमा व्याख्या गरे । दिवंगत साहित्यकारहरूको शतवार्षिकी मनाउँदै आइरहेको प्रतिष्ठानले जीवित साहित्यकारको जन्मोत्सव किन नमनाउने भन्दै घिमिरेको जन्मदिन मनाएको उनले बताइन् ।

प्रकाशित : आश्विन ८, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?