३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कृष्णचन्द्रका निबन्ध

कान्तिपुर संवाददाता

काठमाडौं — निबन्धकार कृष्णचन्द्रसिंह प्रधान बितेर गएको ७ वर्ष भइसकेको छ । उनको निधन हुनुअघि संकलन र सम्पादन सुरु भएको निबन्ध संग्रहको प्रकाशन भने भर्खरै भएको छ ।

कृष्णचन्द्रका निबन्ध

आफ्नो सृजनशील लेखनका अन्तिम वर्षहरूमा लेखिएका १६ निबन्धको यो संकलनलाई ओरिएन्टल पब्लिकेसन्सले बजारमा ल्याएको हो । संकलनमा आधाजति प्रकाशित र बाँकी अप्रकाशित निबन्ध छन् । ‘सालिक’, ‘साझा समालोचना’, ‘कवि व्यथित र काव्यसाधना’, ‘पाइला आगतमा टेकेर’, ‘बागमतीको हरक’, ‘समय सुनामी’, ‘आरम्भअघिका शब्दहरू’, ‘नफर्कने ती दिनहरू’ जस्ता गद्यविधाका कृति प्रकाशित गरेर नेपाली साहित्य विधामा उचो नाम बनाएका प्रधानको ८० वर्षको उमेरमा ०६७ सालमा निधन भएको थियो ।

‘स्वअध्यनका भरमा आफ्नो सृजनशील खुबीमा निखार ल्याउने एक मात्र प्रेरक स्रष्टा कृष्णचन्द्रसिंह प्रधानले नेपाली साहित्यमा रुढी–परम्परा भत्काएर नयाँ सोच ल्याउनुभएको छ,’ प्रधानको पछिल्लो निबन्ध संग्रहका सम्पादक डा.गोविन्दराज भट्टराई भन्छन्, ‘उहाँमा रहेको सामाजिक चेतनाबोध र जीवन–जगतको अस्तित्वगत परिकल्पना यी निबन्धमा समेटिएका छन् ।’ यो संग्रहमा कवि केदारमान व्यथित र हरिभक्त कटुवालबारेका दुई निजत्वले भरिएका निबन्ध पनि छन् । एउटा निबन्धमा निराशायुक्त विम्बमा कृष्णचन्द्र भन्छन्, ‘त्यागको मूल्य नभएजस्तै आन्दोलन र संघर्षहरूको पनि अर्थ रहेन । लाग्छ, कसैलाई मालिक बनाउनैका लागि हामी आन्दोलन गर्दै छौं । एउटा ज्ञानेन्द्र हटाएर अर्को ज्ञानेन्द्रलाई सिंहासनारूढ गराउन भिडिरहेका छौं । यो भरौटे जिन्दगीकै विरोधमा उठ्ने होइन र ? देशलाई हामीले धेरै दियौं, अब देशले हामीलाई के दिन्छ, हेरिरहेको छु ।’

प्रकाशित : आश्विन १०, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?