१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भोजपुरमा सुस्ताउँदै साहित्य

विद्या राई

भोजपुर — कुनै बेला साहित्यका बारेमा कुरा चल्दा भोजपुरको नाम अग्रपंक्तिमा हुने गथ्र्यो । यहाँ जन्मिएका धेरै साहित्यकार अहिले नेपाली साहित्याकाशमा चम्किएका छन् । पछिल्लो कालखण्डमा भोजपुरमा साहित्यिक गतिविधि प्राय: शून्य नै छ ।

ज्ञानमणि नेपाल, पूर्णप्रकाश नेपाल ‘यात्री’, दैवज्ञराज न्यौपाने, परशु प्रधान, शैलेन्द्र साकार, कृष्ण जोशी, प्रदीप नेपाल, राजन मुकारुङ, हिरण्य भोजपुरे, गणेश रसिक, श्याम तमोटजस्ता साहित्यिक–सांगीतिक हस्तीहरू भोजपुरकै उत्पादन हुन् ।

‘पछिल्लो पुस्ताले अग्रजहरूको बाटो पछयाउन सकेको देखिँदैन,’ पत्रकार किरण राई गुनासिन्छन्, ‘जसका कराण भोजपुरमा साहित्यिक गतिविधि शून्यझैं बनेको हो ।’ 

आधा दशक अगाडिसम्म पनि जिल्लामा डेढ दर्जन बढी साहित्यिक पत्रपत्रिका नियमित छापिन्थे । अहिले तिनको पनि अवसान भइसकेको छ । वर्षमा ६ पटकसम्म साहित्यिक जमघट हुन्थ्यो कुनै बेला । थुपै्रले आफ्ना लेख, रचना, कविता, मुक्तक, गजल सुनाउने अवसर पाएका थिए । अचेल यस्ता जमघट ‘एकादेशको कथा’ बन्दै गएका छन् ।

साहित्यमा रुचि राखे पनि मायाप्रेमका सिर्जनशीलता बाहेकका रचना आउन छाडेकाले पनि गतिविधि शून्य भएको अनुमान लगाउँछन्, भोजपुरका साहित्यानुरागी केशव ढकाल । ‘साहित्यिक क्रेज अहिलेको पुस्तामा पनि उस्तै छ, तर समयसँगै गम्भीर लेखन हराएको छ,’ उनी भन्छन्, ‘मायाप्रेमका कुरा लेखेर मात्रै साहित्यमा स्थान बनाउन सकिन्न । तर भोजपुरमा यही कुराको बाहुल्य छ ।’

पुराना सर्जकहरूले पनि नयाँ पुस्तालाई साहित्यमा डोर्‍याएको देखिन्न । भोजपुरमा जन्मिएका धेरै सर्जक अहिले यहाँ छैनन्, राजधानीलाई कर्मथलो बनाइसकेका छन् । भएकाहरूले पनि नयाँ पुस्ताका लागि कुनै ठोस योजना ल्याउन सकेका छैनन् ।

‘पुराना सर्जकहरूले समेत अहिलेका पुस्तालाई डोर्‍याउने तथा साहित्यको पुस्ता हस्तान्तरण गर्न नसकेको यथार्थ हो,’ चर्चित गीत ‘गाउँ–गाउँवाट उठ....’ का सर्जक श्याम तमोट स्विकार्छन् । तमोट स्वयं पनि लामो समयदेखि जिल्ला बाहिरै बसोबास गर्दै आएका छन् । 

‘गृहजिल्लामै बसूँ, केही गरूँ भन्ने इच्छा त छ, तर विभिन्न कारणले यो सब गर्न सकिरहेको छैन,’ तमोट भन्छन्, ‘जिल्लामै बसेर कलम चलाउन सक्ने वातावरणको अभावले अग्रजहरू अन्यत्र पलायन हुनुपर्दा साहित्यिक गतिविधि स्वत: घट्ने भइहाल्यो ।’ 

एक त अग्रजहरू नहुनु, अर्को राज्यले पनि साहित्यलाई अपेक्षित सहयोग नगरेकाले भोजपुरमा चहलपहल बढाउन सकस परेको साहित्य कला प्रतिष्ठानका अध्यक्ष राजन समीपको बुझाइ छ । ‘कार्यक्रम गर्न बजेटको अभाव छ, राज्यले पनि बेवास्ता गरेको छ, आखिर जही पनि कुरा अर्थसँगै जोडिएको छ,’ उनी भन्छन्, ‘लेकाली साहित्यिक जागरण र अराजक साहित्यिक आन्दोलन भोजपुरे साहित्यकारहरूकै संलग्नतामा भएको हो, तर अहिले अवस्था फेरिएको छ ।’

प्रकाशित : आश्विन १९, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?