२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पद्मश्री सम्मान प्रदान

कान्तिपुर संवाददाता

काठमाडौं — पाँच दशकदेखि साहित्यिक पत्रकारितामार्फत साहित्यको सेवा गर्दै आएका रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई ‘पद्मश्री साधना सम्मान’ प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बिहीबार राजधानीमा ताम्रपत्रसहित सम्मान प्रदान गरे ।

पद्मश्री सम्मान प्रदान

दुई लाख रुपैयाँ रहेको सम्मान संयुक्त रूपमा दिइएको हो । समारोहमा अनुपस्थित घिमिरेका तर्फबाट भने उनका छोराले सम्मान ग्रहण गरे ।

यसैगरी, कवि नवराज पराजुलीलाई उनको कविताकृति ‘सगरमाथाको गहिराइ’ का लागि ‘पद्मश्री साहित्य सम्मान’ दिइयो । लामिछानेले दुई लाख रुपैयाँसहित ताम्रपत्र पराजुलीलाई प्रदान गरे ।

रोचक घिमिरेले २०१८ मा थालेको ‘रचना’ र नगेन्द्रराज शर्माले २०२७ मा सुरु गरेको ‘अभिव्यक्ति’ को सम्पादन र प्रकाशन अहिले पनि निरन्तर छ । २०२७ तिरै केही कथा, कविता प्रकाशित गरिसकेका शर्माले साहित्यिक पत्रकारिता रहरले थालेको उल्लेख गर्दै थपे, ‘एउटा रहर, लहड, भाषासाहित्यप्रतिको अगाध आसक्ति र सेवाभावबाट प्रेरित भएर मैले ‘अभिव्यक्ति’ को प्रकाशन सुरु गरेको हुँ । त्यस बेलाका प्रचलित साहित्यिक पत्रिकाहरूभन्दा अलिक बेग्लै र आकर्षक बनाउने चाहनामा मैले केही प्रयोग थालेको थिएँ । व्यंग्यचित्र, स्वदेशका नै वरिष्ठ/कनिष्ठ साहित्यकारहरूका घतलाग्दा उक्तिहरू र राजधानीका स्थापित साहित्यकारहरूभन्दा सकेसम्म मोफसलका उदीयमान साहित्यकारहरूका रचनालाई प्राथमिकताका साथ छापेँ ।’ ‘अभिव्यक्ति’ चलाउन खासै दु:ख बेहोर्नु नपरेको पनि उनले सुनाए । ‘पत्रिकामा छाप्नको लागि कविता, लेख, रचनाहरूको ओइरो नै लाग्थ्यो, रचना माग्न मैले कसैकहाँ धाउनुपरेन,’ उनले भने, ‘घामपानी नभनी प्रेसमा धाउनु र कहिलेकाहीं खल्तीबाट केही पैसा लगाउनुलाई मैले ठूलो कष्ट मानिनँ । यो काम मैले स्वेच्छाले स्वीकारेकोले यसप्रति कुनै गुनासो छैन । बरु ती सबै दु:खकष्ट झेलेर आज यो मुकाममा आइपुगेपछि विगत सम्झिँदा गर्दा बडो सुखकर लागिरहेको छ ।’ 

कवि पराजुलीले मन्तव्यपछि कविता सुनाए । उनी ‘रुख’ वाचन गर्दै थिए :
दाह्रीका खुट्टा काट्न खोज्दा 
मेरा हात कामेर 
कतै न कतै गालाको अनुहार काटिन्छ 
आजभोलि गालाहरू गुनासो गर्छन्
सोध्छन्, फिटकिरी लगाइदिएर दुखाई सिलाइदिने औंलाहरू खोई ?
मैले तिमी गएपछि मात्रै थाहा पाएको हुँ 
कि घाम अस्ताउँदो पनि रहेछ... 

श्रीमती गुमाएका वृद्धको कथाव्यथा समेटिएको उनको कविता सुनेर केही दर्शकका आँखा रसाए ।

विज्ञान, सूचना तथा प्रविधिले अकल्पनीय फडको मार्दै गइरहँदासमेत साहित्यिक पत्रिकाको परम्परा कायम राखेकोले दुई घिमिरे र शर्मालाई सम्मान गरेको प्रतिष्ठान अध्यक्ष लामिछानेले बताए । त्यस्तै, सरल भाषामा लोभलाग्दा विम्बहरू बुनेर मानवीय चेतनाको भित्री तहसम्म झंकृत गर्ने क्षमता भएकोले ‘सगरमाथाको गहिराइ’ लाई पुरस्कृत गरेको उनले सुनाए ।

प्रकाशित : आश्विन २०, २०७४ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?