२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पुस्तक वार्ता : ‘भ्रष्टाचार मन पराउँदैनौं, तर भ्रष्ट छौं’

कान्तिपुर संवाददाता

पुस्तक पढ्ने केटाकेटी बानीको विकास भइसकेपछि लामो बाटो हिँडिसकेकी छु । अरू कुनै कुरामा मेरो रुचि थिएन । पढिरहन्थेँ रे । घरमा किताब भइरहन्थे । कस्तो खालको किताब भन्ने लिस्टचाहिँ एकदम गज्याङमज्याङ छ । मेरो फुपू बौद्ध भिक्षु हुनुहुन्छ ।

 पुस्तक वार्ता : ‘भ्रष्टाचार मन पराउँदैनौं, तर भ्रष्ट छौं’

मल्लिका शाक्य नयाँ दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीमा समाजशास्त्र विभागमा अध्यापन गर्छिन् । लन्डन स्कुल अफ इकोनोमिक्सबाट विद्यावारिधि गरेकी उनले ‘डेथ अफ एन इन्डस्ट्री : द कल्चरल पलिटिक्स अफ गार्मेन्ट म्यानुफेक्चरिङ, डिभेलपमन्ट एन्ड रिभोल्युसन इन नेपाल’ शीर्षकमा पुस्तक लेख्दै छिन् ।

त्यो बेला फुपूले साक्षरता पढाउनुहुन्थ्यो । उहाँले सानासाना आकारका किताब र के–के पत्रिका छाप्नुहुन्थ्यो । ती घरमा आउँथे । प्राय: ती किताब बुद्ध धर्मसम्बन्धी हुन्थे । बुवा लेफ्टिस्ट भएकाले त्यस्तै किताब ल्याउनुहुन्थ्यो । केही किताब बुइँगलमा लुकाउनुहुन्थ्यो, हामीले पढ्न हुँदैन भनेर । तर, हामी केटाकेटी लुकी–लुकी हेर्न–पढ्न खोज्थ्यौँ । पञ्चायतताका युधीर थापाजस्ता लेखकका बजारिया किताबहरू मैले सबै पढेँ । किनभने, त्यो बेला धेरै किताबहरूमाथि अ/घोषित पाबन्दी थियो । उमेरसँगै कस्तो किताब पढ्नुपर्छ भन्ने जान्न थालेपछि र प्रजातन्त्र आएपछि जुनसुकै धारका किताब बजारमा देखिन थाले, अवस्था अर्कै भयो ।

उमेर र परिस्थितिअनुसार किताब पढ्ने कुरा फरक हुँदै आएको छ । आजकल बजारमा आउनेबित्तिकै प्राय: किताब पढिहाल्दिनँ । पहिला अरूले पढून् अनि मात्र पढौँलाजस्तो लाग्छ । अहिले महाश्वेतादेवी, निर्मल बर्मा आदि पढिरहेकी छु । छोरीलाई सुनाउन बालकथा पनि पढ्छु । माया एन्जेलोले मातृत्वसम्बन्धी लेखेका किताबहरू सायद सबै आमाहरूले रुचाउँछन् होला । पुस्तक पढ्दा मेरो रोजाइ विविधता खोज्ने खालको छ । एउटा लेखकले लेखेका सबै किताब म कहिल्यै पढ्दिनँ । किनभने, किताब पढ्दा लेखकप्रति अन्धभक्त हुनु पर्दैन वा हुनु हुन्नजस्तो लाग्छ । केटाकेटीमा चाहिँ पढेँ । गोर्की भनेर सबै पढेँ । हरिवंश राय बच्चनका प्राय: सबै पढेँ । अहिलेचाहिँ म दुई–तीनवटा फरक–फरक काममा हात हाल्दै छु र त्यसकारण फरक–फरक विधाका वा विषयका किताबहरू मसँग छन् । दुई तीनवटा एकदमै भिन्दै खालका किताब पढ्छु । कसैले त मेरो किताबको रोजाइ थाहा पाउँदा मल्लिका शाक्य भन्ने मान्छे दुइटा रैछन् क्या हो भन्छन् ।

समकालीन नेपाली समाज बुझ्न मान्छेको आवाज (भोइस अफ ह्युमन) आउने किताब पढ्न मन पर्छ । एकदमै ठूलो (एलिट) भनिएका मान्छेले किताब लेख्छन् तर तिनै किताबमा खास गुदी हुँदैनन् । तर, ‘अटोबायोग्राफी’ भन्ने विधाले किताब लेखनमा नयाँ कुरा आउने सम्भावना जन्माइदियो कि जस्तो लाग्छ । देवेन्द्रराज पाण्डेको लेखाइलाई मान्छेले पढ्न पर्छ जस्तो मलाई लाग्छ ।

बीपीलाई पुरुष लेखक भनेर पढ्नै सकिँदैन । मञ्जुश्री थापालाई म महिला लेखक भनेर पढ्दिनँ । राम्रो लेखक भनेर पढ्छु । सीमा आभास मलाई एकदमै मन पर्छ । उनी इमानदार भएर लेख्छिनजस्तो लाग्छ । लेख्ने कुरा उनको जीवनबाट आइरहेको छ जस्तो लाग्छ । मञ्जुश्री एकदम इन्साइटफुल लेखकजस्तो लाग्छ । झुम्पा लाहिरी र मञ्जुश्रीको लेखाइ दाँजेर हेरौँ । झुम्पा लाहिरीले जुन ग्लोबल पाठकमाझ आफ्ना लागि ठाउँ बनाएकी छन् मञ्जुश्रीले पनि त्यस्तै गर्ने चाह छ कि जस्तो लाग्छ ।

कविता विधाको कुरा गर्दा नवराज पराजुलीले ‘स्ल्याम पोएट्री’ मार्फत् कवितालाई राम्रो उचाइ दिएका छन् । उनका कविता टुक्रा–टुक्रा–टुक्रा जोडेर बनेका अर्थपूर्ण मोजाइकजस्ता लाग्छन् । विम्बसँग मज्जाले खेल्छन् उनी । गोपालप्रसाद रिमालका कविता ‘इक्लेक्टिक’ छैनन् तर त्यसमा जुन किसिमको आवेग छ, त्यो गाढा छ । त्यसले कहिलेकाहीँ अचम्मको कम्पन ल्याइदिन्छ । श्रवण मुकारुङको कवितामा सायद त्यसको एउटा अंश छ र वाचनको आधारमा भन्नुपर्दा उनको कवितामा ताली पिट्ने लाइन धेरै छन् । उनले बिसे नगर्चीलाई बिउँताइदिए । त्यो कविता पढ्दा लाग्छ, बिसे नगर्ची तपाईंको ढोकै ढकढक्याउन आयो ! वाचन शैली र वैचारिक तहमा भन्नुपर्दा नेपालबाहिरका मलाई मन पर्ने अर्का लेखक राजा पुनियानी पनि हुन् ।

म अहिले गायत्री स्पिभाक पढ्दै छु । उनले महाश्वेता देवीका कथाहरूको अंग्रेजी उल्था गरेका छन् । अहिले मैले पढ्दै गरेको किताब उनैको ‘ब्रेस्ट स्टोरिज्’ नामको हो । त्यसमा, द्रोपदी शीर्षकमा महाश्वेतादेवी भन्छिन्, एउटी आदिवासी–बागी महिलामाथि देशका पहरेदारहरूले उठाउन सक्ने अन्तिम अस्त्र भनेको उनको बलात्कार हो । त्यसको प्रत्यास्त्रमा युवती आफ्नो नाङ्गो आङ लिएर सेनानायकमाथि झम्टन्छे र ललकार्छे, ‘आइज, सक्छस् भने मलाई काउन्टर गर् । तँ मलाई केवल नङ्ग्याउन सक्छस्, मेरो आङ ढाक्ने तेरो हुती छैन किनभने पुरुष होस् तँ ।’ सन्थाल युवती केही अंग्रेजी बुझ्दिनन् । बंगालीमा उनको दखल छैन । तर अंग्रेज उपनिवेशवादीसँग जोडिएको यो ‘काउन्टर’ (वा इन्काउन्टर) शब्द र त्यसको अर्थका डामहरू उनका शरीरभर सचेतनाभर प्रशस्त डामिएका छन् । आदिवासी हेराइबाट हेर्ने हो भने प्रजातान्त्रिक भनिने उत्तर–औपनिवेशिक भारतको राष्ट्रियतामाथि यो बेजोड प्रतीकात्मक प्रहार हो ।

त्यसैगरी महाश्वेता देवीको अर्को कथा दौलतीको व्याख्या गर्दै स्पिभाक सम्झाउँछिन्, पारम्परिक र वर्गीय शोषणमा नराम्रोसँग पिल्सिएकी दौलती बिरामी पर्छे, यौनशोषणका हजारौं चोटहरूले घायल भएर ऊ लडखडाउँदै भौंतारिन्छे । अन्त्यमा, भारतको स्वतन्त्रता दिवसको पूर्वरातमा कुनै गाउँले शिक्षकले भुइँमा कोतरेर छोडेको भारतको नक्सामाथि गएर लड्छे र मर्छे । भोलिपल्ट गाउँलेले उसको लास देख्छन् । केटाकेटीहरूलाई लाग्छ, सरले अब कसरी भारत पढाउनुहुन्छ ? दौलती त भारतभर छताछुल्ल भएर पोखिएकी छे !

विवेकजीवी कि प्रज्ञाजीवी कि बुद्धिजीवी ?
नेपालको प्राज्ञिक क्षेत्रबारे कुरा गरौं । यो एकेडेमिया भन्ने पेसा नेपालमा अलिक अर्कै भयो । अध्यापनले के दिन्छ भन्ने कुरामा हामी त्यति क्लियर छैनौं किनभने त्यसमा रुचि छैन मान्छेलाई । यो समाजशास्त्रीय ‘अब्जरभेसन’ पनि हो । चैतन्य मिश्र र जगदीश घिमिरेको बहस सम्झन्छु, बुद्ध वा जिजस क्राइस्ट बुद्धिजीवी हुन् कि होइनन् भन्नेबारेमा । बुद्धिजीवी को हुन् भन्ने कुरामा समसामयिक चिन्तन त्यति गहिरो छैन कि ? समाजमा बुद्धि बेचेर जीवन चलाउने मान्छे नै बुद्धिजीवी हुन् भन्ने बुझाइ छ । त्यो मिसलिडिङ कुरा हो । मेरा लागि विवेकको आधारमा मात्रै बाँच्न सक्ने, त्यसबाहेक बाँच्न अन्य कुराको सहारा लिने सम्भावना नै नहुने व्यक्ति नै बुद्धिजीवी हो न कि बुद्धि बेचेर आरामदायी जीवन बिताउन खोज्ने मानिसहरू । कन्सल्ट्यान्टहरूलाई बुद्धिजीवी भन्ने हो भने विवेकको आधारमा मात्रै जीवन बाँच्ने व्यक्तिलाई बुद्धिजीवी भन्न सकिँदैन । अरू नै शब्द चाहिन्छ । ‘नलेज ब्रोकर’ भन्नु र बुद्धिजीवी भन्नु फरक कुरा हो । सायद फरक विवेकजीवी, प्रज्ञाजीवी र बुद्धिजीवी हुनुमा छ ।

महिला हुनुका कुरा
कक्षाकोठाका छलफलमा विद्यार्थीहरू चाखले आफ्ना कुरा राख्छन्, अरूका कुरा सुन्छन् । दक्षिण एसियाली महिलाहरू पनि छन् मेरा विद्यार्थी । खासगरी महिला छात्राहरूको वार्डेन हुनुको नाताले महिला विद्यार्थीहरू मेरा छिमेकी पनि हुन् । मेरो सम्पूर्ण जीवन विद्यार्थीहरूको अगाडि खुलेको छ । बुर्का लगाएर पूरै शरीर ढाकेर हिँड्नेदेखि एकदमै निस्फिक्री भएर हिँड्ने विद्यार्थी पनि छन् मेरा । हामीकहाँ त्यसैले महिलाहरूको सवालमा दक्षिण एसिया एकदम विविधतापूर्ण पनि छ, उस्तै पनि छ । श्रीलंकामा भन्दा भुटानमा महिला हुनुको नियति एकदम फरक छ । दिल्लीका महिला ‘इम्पावर्ड’ भए पनि उनीहरू भन्छन्, हामी इम्पावर्ड भए पनि महिला हुनुको संघर्ष हामीले गरिरहनु नै पर्छ ।

खासगरी, देश र महिलाको कुरा गर्दा अफगान राष्ट्रवाद, भारतीय, भुटानी, नेपाली आदि राष्ट्रवादको कुरा कक्षाकोठामा एकै ठाउँमा बसेर गर्दा एकदम घनीभूत छलफल हुन्छ । तालिबान आउनुभन्दा पहिले हुर्किएका महिला पुस्ता एकदम ‘कस्मोपोलिटन’ छन्, उनीहरू एकदम आधुनिक थिए, भलै केही कुरा गुमाए पनि होला जुन तालिबान आएपछिका महिलाले गुमाउनु परेन । भुटानको महिलावाद छुट्टै छ । त्यो सचेतनाको असर नराम्ररी पिल्सिएका महिला पुस्ताको मनभित्र पनि छ र तालिबानको अन्त्यपछि त्यो पुरानो सचेतना सम्बन्धमा नयाँ छलफल सुरु भएको पनि जस्तो छ । यसको तुलनामा के भन्नुपर्छ भने नेपालमा महिलाले हाम्रा आमाहरू, हजुरआमाहरू स्वतन्त्र थिए भनेर सोच्ने ठाउँ कतै छैन । हाम्रो मानसिकतामा यो एउटा बाधक हो र यसका लागि नयाँ पुस्ताले अझ बढी वैचारिक संघर्ष गर्न जरुरी छ ।
मलाई यो भन्नुपर्दा दु:ख लाग्छ, नागरिकताको सवालमा सबैभन्दा कन्जरभेटिभ त नेपाल र भुटान हो । अफगानिस्तान र पाकिस्तान होइन । यी कुरामा छलफल हुन्छन् । एकदमै फरक–फरक सामाजिक–सांस्कृतिक परिप्रेक्ष्यका विद्यार्थीसँग छलफल गर्न पाउँदा कहिलेकाहीँ त आफू विद्यार्थी नै भएर सुन्दा आनन्द आउँछ । यसले पढ्ने र पढाउनेबीचको सम्बन्धलाई सजिलो पनि बनाउँछ ।

देशका कुरा
जय छाङ्छाको एउटा कविता छ जसको सार यस्तो छ :
गाउँ छाडेर जाँदा तिम्रो माया गाउँजत्तिकै ठूलो लाग्यो
देश छाडेर गएपछि देशजत्रै लाग्यो तिम्रो माया

म पनि जब देशबाहिर गएँ त्यो बेला देशप्रतिको लगाव झन् बढ्ने रहेछ । मलाई पनि त्यस्तै भएको थियो । नेपालबाहिर गएपछि मैले लेख्ने काम अलि बढी गर्न थालेँ । २०६३ पछाडिको नेपाली समाजको परिवर्तनप्रतिको भोक एकदमै गजबको थियो । अब अहिले सायद त्यसको १० प्रतिशत मात्रै छ होला । कुनै बेला हामी सजिलै दलित, महिला, जनजाति कसैलाई अन्याय हुनु हुँदैन भन्थ्यौं । सजिलो थियो । तर, अब त्यही वाक्य बोल्न मान्छेहरूलाई गाह्रो हुन्छ । सार्वजनिक बहसका कार्यक्रममा मैले त्यस्तो महसुस गरेकी छु । यो कुरा भ्रष्टाचारसँग सीधै जोड्न सकिन्छ । हामीलाई करप्सन मन पर्दैन तर हामी सबै करप्ट छौं । यो बेमेललाई कसरी बुझ्ने ?

हाम्रा सामाजिक संस्था कामलायक छैनन् भनेको पनि होइन तर जब हामीसँग अभाव हुन्छ त्यो बेला ‘ए त्यसको महत्त्व यस्तो रैछ’ भनिन्छ । संसद्को महत्त्व त्यो भंग भएपछि चेत खुल्छ । गोविन्द केसीको अनशन पनि यही कुरासँग जोडिएको छ । डाक्टर भन्ने पेसाका मान्छे कस्तो हुनुपर्छ भन्ने चेत खुलेपछि मात्रै हामी गोविन्द केसीको अनशन बुझ्छौं । हरेक वर्ष बाढी आएर मान्छे डुब्छन्, त्यही बेलामा मात्रै मान्छे जुर्मुराएका हुन्झैँ गर्छन् ।

अब सामाजिक आन्दोलन होला भन्ने हुन्छ । तर, मनसुन सकिएपछि त्यो सबै सेलाउँछ । अर्को वर्ष पनि मनसुनले घर बगाएपछि हामी बल्ल जुर्मुरिन्छौं । हाम्रो बोलीको जवाफदेहिता नेताको तहमा मात्रै होइन, हाम्रै परिवारमा पनि छैन । यस्ता कुराले समाजका केही पक्षको संकेत गर्छ । भारतमा पनि यस्ता घटना सुरु हुँदा नहुँदै बलियो आन्दोलन सुरु भइसक्छ । केसीको अनशनको महत्त्व बुझेपछि हामीलाई खेद हुन्छ । तर त्यो खेद पनि सायद व्यक्तिपरक छ । तर त्यो एउटा सामाजिक आन्दोलन भएर उर्लन सकेको छैन ।

हरेक देशको इतिहासको धेरै एपिसोडहरू हुन्छ । तर हरेक देशले देशनिर्माणको क्रममा अवश्यम्भावी रूपमा गर्नु नै पर्ने केही जरुरी एपिसोड हाम्रोमा भएन वा हुन सकेको छैन । मूलभूत समस्या पत्ता लगाएपछि र त्यसको जरो उखेलेपछि फेरिफेरि आन्दोलन र परिवर्तन गरिरहनुपर्ने जरुरी हुँदैन । भारतमा पनि १९४७ भन्दा अगाडि एकदम धेरै तहमा आन्दोलनहरू भएका थिए । तर, १९४७ पछि ठूला आकारका भएनन् । सायद जरुरी भएन ।

देश भनेको के हो ? भन्ने सवालमा धेरै चिन्तन भएका छन् । खासगरी अठारौं शताब्दीका नयाँ देशहरू, अमेरिका, फ्रान्स गणतन्त्र भएको क्षण र अन्य विश्व परिस्थितिमाथि अध्ययन गर्दै एन्डरसनले आधुनिक देशहरूको जड तीमाथिको सार्वजनिक काल्पनिकीमा अवस्थित छ भनेर भनेका छन् । भारतका सबाल्र्टन अध्ययनका विचारकहरू, जसमध्ये स्पिभाकको नाम उल्लेखनीय छ, तिनले भारतीय राष्ट्रियतासम्बन्धी बनाइएका काल्पनिकीहरूमाथि जमेर बहस गरेका छन् ।

त्यसपछि उत्तर–सबाल्र्टन भन्ने बहस पनि हुँदै आएको छ । यी किताबहरू पढेर अहिलेको नेपाल देशको बारेमा सोच्ने हो भने मलाई लाग्छ हामीभित्र, हरेक नेपालीभित्र, आफ्ना पूर्वाग्रहको व्यक्तिगत मूल्यांकन गर्न आवश्यक छ । सायद कुनै बेला यो सम्बन्धमा बुद्धिजीवी–विवेकजीवीहरूबीच पनि छलफल हुन थाल्नेछ । म भन्छु, आशिष नन्दी, पार्थ चटर्जी, दीपेश चक्रवर्तीका किताबहरू सायद नेपाली पाठकले पढ्नलायक छन् । अफ्रिकाबाट म अचिल म्बेम्बे र महमुद माम्दानीको नाम लिन्छु । साथै, किथ हार्ट मेरा पनि जो मेरा प्रिय गुरु पनि हुन् ।

खोइ सामाजिक/आर्थिक न्यायका मुद्दा ?
मलाई सामाजिक न्यायका कुरा आवश्यक लाग्छन् । र आर्थिक न्यायका पनि । नेपाल यी दुवै कुरामा एकदमै पछाडि छ । सामाजिक न्यायका केही मुद्दा हामीकहाँ सुरु नै भएका छैनन् जुन अमेरिकालगायतका मुलुकका नागरिकले ‘अब पुग्यो’ भनिसके । हामीले सामाजिक तहमा देश निर्माणको चरण पूरा गरेका छैनौं । नेपालले त्यो देखेकै छैन । त्यो देख्दै नदेखीकन हामीकहाँ ‘नियो लिबरालिजम’ आइसक्यो । त्यो धान्नै नसकिने भ्यागुते उफ्राइ हो । त्यो बेला राजाले बनाइदेलान् भनियो । बनाइदिएनन् । अब कसले बनाउने ? त्यो बहस भएकै छैनजस्तो लाग्छ । नेपालमा सामाजिक आन्दोलन आएकै छैन ।
(सिपी अर्यालसँगको कुराकानीमा आधारित)

प्रकाशित : आश्विन २१, २०७४ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?