रहस्य छ आफूभित्रै

कान्तिपुर संवाददाता

काठमाडौं — रंगीबिरंगी चराहरू एकै ठाउँ । त्यो पनि मानव स्वरूपमा । अझ उनीहरूको हाउभाउ उनीहरूकै चरित्रअनुसार प्रत्यक्ष देख्न पाउँदा कस्तो अनुभूति हुन्छ होला ? कल्पिँदा पनि रमाइलो लाग्ने नाटक हो, ‘चराहरूको सम्मेलन’ ।

रहस्य छ आफूभित्रै

उक्त नाटक यति बेला बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ । यसलाई निर्देशन गरेकी हुन्– दिया मास्केले । नाटक पर्सियाका सुफी कवि फरिद उद्दिन अत्तारको कृतिमा आधारित छ, जसको नाटय रूपान्तरण निर्देशक पिटर ब्रुक र लेखक ज्याँ–क्लोद कायेरले गरेका हुन् ।

अभिनेत्री दिया सात वर्षअघि ‘चराहरूको सम्मेलन’ बारे फिजिकल थिएटर कार्यशालामा सहभागी भएकी थिइन् । त्यति बेला उनले खासै बुझेकी थिइनन् । ‘कतिपय कुरा नबुझेर पनि गरिँदो रहेछ,’ उनले भनिन्, ‘अनि धेरैपछि त्यसको अर्थ महसुस हुन थाल्ने रहेछ ।’

त्यही भएर पनि दियाले यही नाटकलाई आफ्नै निर्देशनमा दर्शकमाझ ल्याएकी छन् । कुशल नृत्यांगनासमेत रहेकी उनले पहिलो पटक नाटक निर्देशन गरेर आफ्नै क्षमताको परीक्षा लिने प्रयास गरेकी छन् । 

डेढ घण्टाजति लामो नाटकभर चराहरूको मानव रूपको गतिविधि देख्न सकिन्छ । भँगेरा, सुगा, ढुकुर, मुजुर, चमेरालगायत विभिन्न प्रजातिका चराहरूको हूल एकै ठाउँ भेला हुन्छ । कलाकारहरूको शारीरिक अभिव्यक्ति नै दर्शकका लागि हेर्नलायक विषय हो । मञ्चमा सुरुको बेला चराहरूको जुन हाउभाउ थियो त्यो आकर्षक थियो ।

चराहरू सधैं ऊर्जाशील हुन्छन् । नाटकमा भने त्यो गुण अन्तिमसम्म यथावत् रहेको पाइँदैन । उनीहरू आफूभित्रको म खोज्न यात्रामा लाग्छन् । नाटक यात्रामा हराउँछ । त्यसै हूलमा कलाकारहरूको गति बिस्तारै ओइलाउँदै जान्छ । खोजीमा उडिरहेका चराहरूलाई विस्तारै थाकेको अनुभव हुन्छ । नाटकको सबल पक्षचाहिँ नाटकमा चरापात्रहरूले उच्चारण गरेका जीवनोपयोगी सूक्तिहरू हुन् ।

आफ्नै शैलीको जीवन बिताइरहेका चराहरू राजा खोज्न मरुभूमि जानुपर्ने चुनौतीपूर्ण संघर्ष नाटकको मूल प्लट हो । दियाले चराहरूलाई ऊर्जाशील बनाउन उडन्ते अभिनयमा देखाएकी छैनन् । नाटकमा चरा उडिरहेको देखाउँदा कमेडी हुने र त्यसले नाटकको मूल मर्म ओझेल पर्ने खतरा हुँदा फरक जुक्ति लगाएको दियाले बताइन् ।

नाटकमा रहस्य लगभग अन्तिमसम्म छ । चराहरूको यात्राको टुंगो कसरी लाग्छ भन्ने कौतूहल दर्शकमा रहिरहन्छ । रहस्य आफूभित्रै छ, अन्यत्र खोज्न थाल्नु मूर्खता हो भन्ने सन्देश नाटकले दिन खोजेको छ ।
‘बुझ्न धेरै बाँकी छ,’ दियाले भनिन्, ‘परिपक्वता छिट्टै आउँदैन ।’

कात्तिक १ सम्म मञ्चन हुने एक्टर्स स्टुडियोको प्रस्तुतिमा सुरज मल्ल, आयुष प्याकुरेल, अर्जुन न्यौपाने, गौरव विष्ट, मनीष निरौला, सेरफ लामा, मनोज थापामगर, कमल देवकोटा, सुमन श्रेष्ठले अभिनय गरेका छन् । 

 

प्रकाशित : आश्विन २४, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?