“घाटुसरी” लिएर झुमा

कान्तिपुर संवाददाता

काठमाडौं — लमजुङको घना गुरुङ बस्तीको आफ्नै विशेषता छ– घाटु, घाटुसरी नाच आदिको लोक चिनारी । यही विशेषताले भरिएको लमजुङको नालमा गाउँमा पुगेर पाँच दिन पाँच रातसम्म चल्ने घाटु नाचको कथानकलाई वृत्तचित्रमा उतारिएको छ– ‘घाटुसरी’ शीर्षकमा ।

“घाटुसरी” लिएर झुमा

गायिका तथा लोकसंस्कृति–सभ्यतामाथि अध्ययन/अनुसन्धान गर्दै आएकी झुमा लिम्बूको अवधारणा र शोधमा तयार भएको २२ मिनेट लामो वृत्तचित्र ‘घाटुसरी’ राजधानीमा मंगलबार प्रदर्शन गरियो । हरेक वर्ष बुद्धजयन्तीको अघिल्लो साँझ सुरु हुने यो लोक सांस्कृतिक नृत्यमा कथावस्तुसँगै निरन्तर संगीतको उपयोग गरिएको छ ।

‘लोकसंगीत, संस्कृति र पहिचान के–कसरी एकअर्कामा अन्तरसम्बन्धित हुन सक्छन् भन्ने दृष्टान्त यो वृत्तचित्रले दिएको छ,’ झुमाले भनिन् ।

घाटुसरीमा जोडिएर आउने लोकसंगीतको लयमै नृत्यांगना बेहोस हुने र संगीतबाटै फेरि ब्युँतिने शक्ति आफैंमा अनौठो देखिन्छ, जसलाई झुमाले प्रयोगपूर्ण तरिकाले वृत्तचित्रमा देखाएकी छन् । यसमा लगातार २४ घण्टा आँखा चिम्लेर गरिने नाचगानको दृश्य पनि लोभलाग्दो छ ।

यसअघि आफ्नै किरात धर्मशास्त्र र पद्धति आधारित मुन्धुममाथिको शोध–अनुसन्धानमा लाग्दै आएकी झुमाले तराईमा पाइने काठ बाजामाथिको शोध र सुदूरपश्चिमको ठाडोभाकामाथि पनि श्रव्यदृश्यसहितको शोध सामग्री तयार गरिरहेकी छन् । नालमा गाउँमा ढुक्कै बसेर ५० घण्टाभन्दा बढी ‘घाटुसरी’ को श्रव्यदृश्य खिचिएको उनले बताइन् । 

‘घाटुसरी’ लाई कलात्मक ढंगमा भिजुअल खिच्न रोशन आङबुङले साथ दिएका छन् भने यसमा अशोक थापा मगरको सम्पादन रहेको छ । 

प्रकाशित : आश्विन २५, २०७४ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?