गायक नवराम लागे हङकङ

कान्तिपुर संवाददाता

धरान — धेरैलाई थाहा नहुन सक्छ, नवराम राईबारे । उनले सुरुमा गाएका र संगीत गरेका गीत भने अधिकांश संगीतप्रेमीले सुनेको हुनुपर्छ, गायक सविन राईको स्वरमा । पाँच दशकअघि हङकङमै जन्मेका उनै गायक नवराम पहिलो पटक आफू जन्मेको ठाउँमा सांगीतिक प्रस्तुति दिन बिहीबार जाँदै छन् ।

 गायक नवराम लागे हङकङ


हङकङमा आउँदो आइतबार ‘नवराम राई म्युजिकल नाइट’ हुँदै छ । हङकङ नेपाली कला मन्दिर र धरान–१७ समाज, हङकङले उनलाई मञ्चमा उभ्याउन लागेको हो । 
सविनले गाएका ‘गुराँसको फेदमुनि सम्झनाको छाया...’ र ‘कालोकालो रातको...’ सहित आधा दर्जन चर्चित गीत नवरामकै संगीत सिर्जना हुन् । करिब सय गीत गाएका र तीन दर्जन संगीत गरेका उनी धरानका पुराना कलाकार मानिन्छन् । तर, काममै रमाउने उनी लाइम लाइटमा प्राय: रहेनन् । 
उनले हङकङस्थित बगैँचा रेस्टुरेन्टमा हुने म्युजिकल नाइटमा आफ्ना नयाँ–पुराना गीत सुनाउने छन् । ‘मैले कम्पोज गरेका गीतसंगीतले केही कलाकार हिट भए, मलाई यसैमा सन्तोष छ,’ उनले कान्तिपुरसँग भने, ‘विदेशमा हुन लागेको पहिलो कन्सर्टका कारण उत्साहित महसुस गरेको छु ।’ 
धरान–१७ मा बस्दै आएका उनको डेढ दशकअघि ‘नमुना×’ एल्बम निस्केको थियो । ‘विष देऊ...,’ ‘तिमी मलाई भुलिदेऊ...,’ ‘कुखुरे बैंस...,’ ‘दन्तैमा मोहनी...,’ ‘विश्वास के हो...’, ‘वैशाख’नि बित्यो...’ जस्ता गीतहरू बढी सुनिएका छन् । 

 

प्रकाशित : आश्विन २६, २०७४ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?