अर्घाखाँचीका असिम उत्कृष्ट

प्रदीप मेन्याङ्बो

धरान — धरानमा जमघट भएका कविहरुको माहोलमा सन्धीखर्क अर्घाखाँचीका असिम सागर अब्बल दरिए ।

अर्घाखाँचीबाट कविता वाचन गर्न धरान आएका असिम सागरको ‘चक्र’ शीर्षकको कविता विमल गुरुङको ४३ औं जन्मजयन्ती तथा विमल स्मृति पुस्तकालयको २७ औं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित राष्ट्रिय कविता प्रतियोगितामा अब्बल दरिएसँगै नगद २० हजार र प्रमाणपत्र पाए । उनले भने, ‘कविता लेख्नु मेरो लागि जीवनलाई आनन्दित बनाउँदै समाजप्रतिको दायित्व पूरा गर्नु पनि हो । प्रथम पुरस्कार प्राप्तिसँगै मैले अब अझै खारिएका शक्तिशाली कविता लेख्नु जरुरी ठानेको छु ।’

धरान–१८ बुद्धचोकस्थित पुस्तकालयको भवनमा आयोजित प्रतियोगितामा तनहुँका प्रकाश रम्घाली द्वितीय भए । रम्घालीले नगद १५ हजार प्राप्त गरे भने मोरङ रतुवामाईका मनोज मुस्किल तृतीय भए । मनोजले नगद १० हजार पाए ।

मुलुकभरका कविहरुबाट प्राप्त १ सय ६५ कवितामध्ये उत्कृष्ट १५ कविता पहिला छनोट गरी स्वयम् कविले वाचन गरेका थिए । प्रतियोगिताका निर्णायहरुमा मनु मन्जिल र बद्री भिखारी थिए ।

विजेता कविहरुलाई बरिष्ठ कवि अनिल पौडेल, आयोजक पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णवहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए । उक्त अवसरमा अग्रज कविद्वय धरानका वम देवान र मोरङ उर्लाबारीकी मिश्र वैजयन्तीलाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो । उनीहरुलाई नेपाली साहित्यमा दिएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको हो । संस्थागतरुपमा माउण्ट हर्मन स्कुललाई सम्मान गरिएको थियो ।

१९ वर्षको कलिलो उमेरमै कविता लेखेर चर्चा कमाइरहेको बेला सवारी दुर्घटनामा परी मृत्यु भएका एक्लो छोरा विमलको स्मृतिमा लाहुरे बाबु पुर्णवहादुर गुरुङले ०४८ सालमा छोराले अध्ययन गरेका पुस्तकहरु र लेखेका कविताहरु समेटेर पुस्तकालय स्थापना गरेका हुन् । पुस्तकालयले गत बर्ष ५० लाख रुपैयाँको अक्षय कोषसमेत स्थापना गरेको छ ।

प्रकाशित : कार्तिक १९, २०७४ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्

किसान र नेताको आआफ्नै चटारो

प्रतिक्षा काफ्ले

स्याङ्जा — यहाँको अर्जुनचौपारी गाउँपालिका निवासी धनबहादुर सुनारलाई यतिबेला धान काट्ने, ठटाउने र घरमा धान, पराल कसरी पुर्‍याउने भन्ने चिन्ता छ । उनले चार हल गोरु प्रयोग गरेर धान रोपेका थिए । उनी धान थन्काउन पर्म पनि लगाउँछन् ।

त्यति मात्रै होइन, नियमित काम गर्दै आएको घरधनीको धान थन्काइदिने जिम्मा उनीमाथि छ । ‘चुनाव भन्ने कुन चराको नाम हो भन्न पर्ने अवस्था छ’उनले भने, ‘चौबिसै घण्टा दु:ख नगरेसम्म एकछाक खानु छैन । तँलाई दु:ख पर्‍योकी भनेर एक शब्द समेत कसैले सोध्दैन । चुनावको त्यति मतलब छैन हामीलाई ।’ उनले काम गर्दै गए आफ्नो छाक सजिलै टर्ने बताए ।

उनीमात्र होइन यतिबेला जिल्लाभर कृषकलाई धान थन्क्याउने र विभिन्न बाली लगाउने चटारो छ । नेताहरुलाई भने मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन कसरी आफ्नो बहसमा पार्ने भन्ने चटारो छ । कतिपय किसान आफू खेती सम्हाल्नमै व्यस्त रहेपनि आफ्नो पीडा बुझीदिने नेताले जितोस् भन्ने कामना पनि गरिरहेका छन् । जहुँ, गहुँ छर्ने, आलु लगाउने, दाँई हाल्ने, विभिन्न प्रकारका तरकारी खेती लगाउनेलगायत काममा यतिबेला कृषकहरु व्यस्त बनेका छन् । नेताहरु आफूलाई भोट माग्नको लागि किसानले काम गर्ने स्थानमा नै पुगेर हात जोड्छन् ।

सोही गाउँकी ३७ वर्षीया मैना क्षेत्रीलाई भने कामको मुख्य सिजनमा चुनाव आए पनि हरसम्भव चुनावी सभाहरुमा सहभागी भएर असल नेता छान्ने उनको धोको छ । ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका नेतालाई भोट माग्न मतदाताको घरदैलोमा पुग्न हतारो छ’ उनले भने, ‘हामीलाई भने धानबाली धन्क्याएर आलु रोप्न र तरकारी लगाउने चटारो छ । राजनीतिमा सबै सहभागी भएको देख्दा त रहर लाग्छ र केही बुझिँदैन । नेताहरुको पछि लागेर हिँडे पनि गर्ने आफ्नै खर्च रहेछ । गाउँबाट बजारसम्म पुग्दा दिनकै १५ सय दुई हजार खर्च हुन्छ । उपलब्धि केही नहुदाँ अनि दिक्क लाग्छ के पछि लागेर हिँड्नु भन्ने ।’ उनले मानो लगाएर मुरी भित्र्याउने बेला नेताको पछि लागेर हिँड्न नभ्याइने बताइन् ।

किसानका लागि अन्नबाली भित्र्याउने अहिले मुख्य समय हो । त्यसैले धेरै मतदाता खेतमै व्यस्त छन् । खेतबारीमा कृषि कार्यमा व्यस्त किसानको नजरमा पार्टीहरुले कृषिप्रधान देशको नामअनुसारको किसानका हितमा काम गरेनन् । अर्जुनचौपारी गाउँपालिकाकै विक्रमबहादुर परियार अहिले कक्षा १२ मा पढ्छन् । आफ्ना कक्षामा सँगै पढ्ने साथीहरु विभिन्न पार्टीको झन्डा बोक्दै प्रचारप्रसारमा जुटे पनि आफू भने नेताको पछि नलाग्ने बताउँछन् । खेतीपाती सम्हाल्नमा नै व्यस्त उनी निर्वाचनबारे अनविज्ञ रहेको बताए ।

कतिपय कृषकहरुलाई निर्वाचन के हो ? भन्ने कुरामा नै अन्योल छन् । गाउँ–गाउँमा मतदाता शिक्षा नपुगेका कारण पनि कृषकहरु रनभुल परेका हुन् । स्थानीय तहमा भोट हालेपछि यति छिट्टै हाल्नु पर्दैन भन्ने बुझेकाहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट हाल्नुपर्छ भन्ने जानकारी छैन । यस्ता सोझा स्थानीयहरुलाई हालसम्म कुनै पनि दलले बुझाउन सकेको छैन । नमुना मतपत्र समेत नआइसकेको हुदाँ गाउँघरको चुनावी सभामा नमुना पत्र लान नपाइएको दलहरु बताउँछन् ।

 

प्रकाशित : कार्तिक १९, २०७४ १६:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्