‘चीनको शासन व्यवस्था’ को दोस्रो भाग

कान्तिपुर संवाददाता

बेइजिङ — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १९ औं महाधिवेशनबाट पुन: महासचिवमा निर्वाचित सी चिनफिङको ‘सी चिन फिङ : चीनको शासन व्यवस्था’ दोस्रो भाग चिनियाँ र अंग्रेजीमा आएको छ ।

१९ औं महाधिवेशनले सीपीसीको विधानमै सी विचारधारा समेटेपछि चिनियाँ प्रकाशन गृह तथा सञ्चारजगत्ले सीका विचारहरूलाई लिपिबद्ध गर्ने र प्रकाशन गर्ने कामलाई तीव्रता दिएका छन् । चीनलाई नयाँ युगमा प्रवेश गराउने सीको उद्घोषसँगै चिनियाँ बुद्धिजीवीहरू सीका भाषणलाई विभिन्न भाषामा अनुवाद गर्ने र गराउने काममा जुटेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको प्रचारप्रसार विभाग, केन्द्रीय समितिको साहित्य अनुसन्धान कार्यालय र चीनको विदेशी भाषा ब्युरोको संयुक्त सम्पादनमा यो कृति प्रकाशित भएको हो ।

‘सी चिन फिङ : चीनको शासन व्यवस्था’ को दोस्रो भागमा सन् २०१४ अगस्ट १८ देखि सन् २०१७ सेप्टेम्बर २९ सम्मको अवधिमा सीले गरेका सम्बोधन, मन्तव्य, निर्देशन र शुभकामना सन्देशहरू समावेश छन् । त्यसअघिका त्यस्तै भाषण अघिल्लो भागमा थिए । सीपीसीको १८ औं महाधिवेशनदेखि सत्ता र शक्तिमा आएका सीले सीपीसी र चिनियाँ जनतालाई नेतृत्व गरेर ऐतिहासिक उपलब्धि प्राप्त भएको चिनियाँ सञ्चार जगत्ले उल्लेख गरेको छ । 

यो पुस्तकको पहिलो भाग अहिलेसम्म दुई दर्जनभन्दा बढी भाषामा अनुवाद भएर एक करोडभन्दा बढी प्रति प्रकाशन भइसकेको छ । यो पुस्तक नेपाली भाषामा पनि अनूदित भइसकेको छ ।

प्रकाशित : कार्तिक २२, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?