मगरपनको खोजी

साहित्य
कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल प्रज्ञा प्रतिष्ठानले ‘मगर साहित्यमा मगरपन’ विषयक गोष्ठी गरेको छ । प्रतिष्ठानको मातृभाषा विभागले तनहुँको व्यास नगरपालिका वडा– ७ अलैंचेस्थित होमस्टेमा साहित्यमा मगरपनमाथि छलफल चलाएको हो ।

प्रतिष्ठानले जनाएअनुसार कार्यक्रममा प्राज्ञ तथा मातृभाषा विभाग प्रमुख श्रवण मुकारुङले ‘मातृभाषा र संस्कृति आदिवासी समुदायको जीवित पहिचान भएकोले यसलाई जोगाउनुपर्ने’ बताए । आधुनिकीकरणले मौलिक भाषा र सस्ंकृति धरापमा पर्दै गइरहेको बताउँदै प्राज्ञ मुकारुङले गाउँगाउँ पुगेर खोज अनुसन्धान गर्न साहित्यकारहरूलाई प्रोत्साहन गर्नुपर्ने औंल्याए । 

लेखक तथा मगर फिल्म निर्देशक सञ्जोग लाफा मगरले ‘अहिलेसम्म मगर ढूट र मगर खाम भाषाका गरी १ सय ५७ वटा पुस्तक प्रकाशन भएको आँकडा सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । मगर काइके भाषामा भने अहिलेसम्म साहित्य सिर्जना हुन नसकेको उनले बताए । आफ्नै मिथक, आख्यान र लोककथा भन्दा अन्य साहित्यको प्रभावमा परेर मगर भाषाको साहित्यले मौलिकता गुमाएको उनको तर्क थियो । अर्का स्रष्टा झुस्या मगरले स्याङ्जा जिल्लापछि तनहुँका मगर साहित्यकारले मातृभाषी साहित्यमा योगदान गरिरहेको बताए । मगर लेखक संघ केन्द्रीय समितिका पूर्वमहासचिव एवं कवि उजिर राना मगर, म्याग्दे गाउँपालिका प्रमुख मायादेवी राना मगर, वडा अध्यक्ष श्रीबहादुर थापा मगर, मगर लेखक संघ रोल्पाका अध्यक्ष समीप वैरागी बुढा मगर, संस्कृतिकर्मी दानवहादुर थापा, मगर विद्यार्थी संघका पूर्वअध्यक्ष विष्णु मास्की, मगर संघ तनहुँका जिल्ला सदस्य रिमा आले, स्रष्टा इन्द्रबहादुर थापा मगर, मगर गुठ समितिका अध्यक्ष नरबहादुर थापा मगर लगायतले मौलिक साहित्यबारे चर्चा गरेका थिए । 

मगर लेखक संघ प्रदेश ४ को सहकार्य रहेको कार्यक्रममा कवि राबत र दुतेन्द्र चाम्लिङ राईले कविता प्रस्तुति गरेका थिए भने गायक कुमार गुरुङले गीत गाएका थिए । यसपछि अठार मगर खाम भाषामा राकेश बुढा मगर, समीप वैरागीले, ढुट भाषामा झुस्या मगर, उजिर राना मगर, इन्द्रबहादुर थापा मगरले कविता सुनाएका थिए । मगर होमस्टे अलैचेको आमा समुहले पनि मौलिक सांस्कृतिक नृत्य देखाएको थियो । 

प्रकाशित : कार्तिक २९, २०७४ ०८:५७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ध्रुवसत्यका कथा

कान्तिपुर संवाददाता

काठमाडौं — ध्रुवसत्य परियार कथासंग्रहसहित आएका छन् । ‘कैरन’ राजधानीमा हालै साहित्यकार आहुति, डा. अर्चना थापा र नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले लोकार्पण गरे ।

दन्त्यकथा र लोककथाको शैली प्रयोग गरेर धु्रवसत्यले जोखिम मोलेको आहुतिले टिप्पणी गरे । त्यस्तै, थापाले ध्रुवसत्यले मिथकीय शैलीमा कथा लेखेको र आफूलाई पढ्न रुचि लागेको बताइन् । ‘किंवदन्तीहरूलाई आधार बनाएर मिथक शैलीमा कथालाई ल्याउनुभएको छ,’ उनले भनिन्, ‘यो अरू लेखकको भन्दा फरक हो ।’ नेपालमा मिथकबारे त्यति अध्ययन नभएको औंल्याउँदै उनले ‘एकेडेमिक क्षेत्रले मिथकबारे अध्ययन गर्नुपर्ने’ बताइन् ।

लुइँटेलले ध्रुवसत्यमा फरक प्रतिभा रहेको बताए । ‘सधंै एउटै शैलीमा विषयलाई भनियो भने त्यसले ठूलो अर्थ नराख्न सक्छ, तर त्यसलाई फरक शैली प्रयोग गरियो भने अर्थ रहन्छ,’ उनले भने, ‘ध्रुवसत्यको लेखनमा फरक स्वाद छ ।’

सांग्रिला बुक्सले छापेको संग्रहमा १२ कथा छन् । 

प्रकाशित : कार्तिक २९, २०७४ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT