अस्वीकृत अभियन्ताको निधन

कान्तिपुर संवाददाता

लन्डन — लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित वरिष्ठ साहित्यकार डा. कविताराम श्रेष्ठको ७० वर्षको उमेरमा आइतबार बिहान लन्डनमा निधन भएको छ । उनलाई शनिबार चिन्ताजनक अवस्थामा लन्डनस्थित वकिङको सेन्ट पिटरमा हस्पिटल भर्ना गरिएको थियो । श्रेष्ठ सन् २००८ देखि सपरिवार बेलायतको वकिङमा बस्दै आएका थिए ।

नेपाली साहित्यमा ‘अस्वीकृत आन्दोलन’ का प्रवर्तक श्रेष्ठ २००४ माघ ११ गते ओखलढुंगामा जन्मेका थिए । ओखलढुंगा हुँदै धरान बसाइँ सरेर बेलायत आइपुगेका उनले सन् १९९७ मा भारतको गोरखपुर विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गरेका थिए । बीसको सुरुवाती दशकबाटै नेपाली साहित्यमा लागेका उनले २०३६ सालमा ‘अस्वीकृत आन्दोलन’ घोषणासँगै ‘अस्वीकृत जमात’ बनाएका थिए । प्रजातन्त्रका पक्षमा साहित्यकारहरूले चलाएको ‘बुट पालिस आन्दोलन’ मा पनि उनको संलग्नता थियो ।

वर्षदिनअघि मात्रै उनलाई फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनी अक्सिजन साथमा लिएरै पनि साहित्यिक गतिविधिमा सरिक भइरहन्थे । उनका ‘कालो कथा’, ‘मुक्ति प्रसंगका अस्वीकृत कथाहरू’, ‘विघटन’ लगायत नेपाली र अंग्रेजी भाषाका गरी तीन दर्जन पुस्तक प्रकाशित छन् । पछिल्लो समय बुद्ध दर्शनको अध्ययन र लेखनमा समर्पित उनले बुद्धका जीवनीमा आधारित अनुसन्धनात्मक उपन्यास समेत लेखेका थिए । बेलायतमा रहेर उनले ‘बुद्ध वाज बोर्न इन नेपाल’ अभियान पनि चलाएका थिए । 

डा. श्रेष्ठ लुम्बिनी कपिलवस्तु डे अभियानका संस्थापक अध्यक्ष र बुद्ध फाउन्डेसन यूकेका सल्लाहकार समेत थिए । विश्व नेपाली साहित्य महासंघका अध्यक्ष विश्वासदीप तिगेलाले ‘पछिल्लो भेटमा अझै बाँचेर केही गर्ने आफ्नो चाहना रहेको’ बताएको खुलाए ।

‘उहाँ एकदमै गहन अध्ययनशील स्वभावको हुनुहुन्थ्यो,’ बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले भने, ‘पछिल्लो समय लुम्बिनी र बुद्धको ऐतिहासिक र सांस्कृतिक अध्ययनतिर लाग्नुभएको थियो ।’

प्रकाशित : मंसिर ४, २०७४ ०८:५६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एकल वाचनमा हेमन्त

कान्तिपुर संवाददाता

काठमाडौं — डोट्याली कवि हेमन्त विवश शनिबार धनगढीमा सुनिएका छन् । एकल वाचनमा उनले छन्द र गद्यका दुई दर्जन कविता सुनाए ।

‘भगवानको खोजी’ शीर्षक कविताबाट वाचन थालेका उनले आफ्ना रचनामा भुइँ मान्छेका दु:खका कथा प्रस्तुत गरेको विज्ञप्तिमा उल्लेख छ । बेलाबेलामा उनले डेउडा गीत पनि गाए ।

रोट्रयाक्ट क्लब अफ धनगढी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी र सुदूरपश्चिमाञ्चल गजल मञ्चद्वारा आयोजित कार्यक्रममा श्रोताहरू सय रुपैयाँको टिकट काटेर आएका थिए । रुबस होटलको हलमा खचाखच भरिएका श्रोताहरू बेलाबेलै ताली बजाएर कविलाई हौस्याइरहे । कार्यक्रममा गायक शिशिर साधकको समूहले विवशका केही गीत गाएको थियो ।

कार्यक्रमको सुरुआतमा महाकाव्यकार मनिराज जोशीले कवि विवश र गायकको समूहलाई फूलमालाले स्वागत गरेका थिए । विवशको यो दोस्रो एकल वाचन हो । यसअघि अली मियाँ लोक वाङ्मय प्रतिष्ठानको निम्तोमा असोज ५ गते पोखरामा कविता वाचन गरेका थिए ।

कार्यक्रममा कविहरू पदमराज जोशी, टोपेन्द्र शाह रसिक, अभि अजनवी र जनक रसिकले कवि विवशको कविताबारे टिप्पणी गरेका थिए ।

विवशका ‘विवशका स्रमाई,’ ‘असौजको जून’ र ‘यादै जनमभरि’ गरी तीन एल्बम, ‘आफ्नै मनसँग’ र ‘सैपालको आँगन’ कवितासंग्रह तथा ‘कथा एउटै तिम्रो मेरो’ प्रकाशित छन् । रेडियो नेपालबाट २०६८ का लागि उनले उत्कृष्ट गीतकार पुरस्कार पाएका थिए । उनका तीन दर्जन गीत रेकर्ड भइसकेका छन् ।

प्रकाशित : मंसिर ४, २०७४ ०८:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT