कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘जो नाच्छ ऊ बाँच्छ’

लोक संगीत फिल्म फेस्टिभल

काठमाडौं — अन्तर्राष्ट्रिय लोक संगीत फिल्म फेस्टिभलअन्तर्गत बिहीबार बायोपिक र डकुमेन्ट्रीहरू देखाइए । जमलस्थित राष्ट्रिय नाचघरमा चलिरहेको फेस्टिभलको दोस्रो दिन भारतीय संगीत रामदयाल मुण्डालाई समर्पित गरिएको थियो र उनैको बारेमा तयार पारिएको ‘नाची से बाँची’ (जो नाच्छ ऊ बाँच्छ) बायोपिक देखाइयो ।

‘जो नाच्छ ऊ बाँच्छ’

उनको बायोपिकबाहेक फेस्टिभलमा अरू चाहिँ डकुमेन्ट्रीहरू थिए । नेपालको तीनवटा र भारत, भुटान, अमेरिका, स्विट्जरल्यान्ड, हंगेरी, जिम्बावेको एउटा गरी नौवटा डकुमेन्ट्रीहरू देखाइए । 

भारतीय आदिवासी संस्कृतिलाई पुनर्जागरण गर्न महत्त्वपूर्ण भूमिका खेलेका मुण्डाको बायोपिकमा उनैको छोरा गुंजिल इकिर मुण्डाले अभिनय गरेका छन् । झारखण्डको तमार परिवारमा जन्मिएका मुण्डाले उच्च शिक्षाका लागि अमेरिका पुगेको र पछि भारतमा आएर आदिवासीहरूको आवाजलाई राज्यसभा र संयुक्त राष्ट्रसंघसम्म पुर्‍याएका कुराहरू डकुमेन्ट्रीमा हेर्दा दर्शक निकै भावुक बनेका थिए । साहित्य एकेडेमी अवार्ड र २००९ मा पद्मश्रीबाट विभूषित मुण्डाको सन् २०११ मा निधन भएको थियो । मुण्डाको जीवनमा आधारित फिल्मको निर्देशनको पाटो बिजु टोप्पो र मेघनाथले सम्हालेका थिए भने मुण्डाको चरित्र उनैको छोराले निभाएका थिए । 

रामदयाल मुण्डा

नेपालका तर्फबाट रेणु क्षेत्री निर्देशित ‘संकटमा भगवान्’, तुलसी प्रभास निर्देशित ‘गल्लैलाउरे लोक गीत’ र एलपी देवकोटा निर्देशित ‘कर्णाली मस्टो’ डकुमेन्ट्री देखाइयो । क्षेत्रीले ‘संकटमा भगवान्’ डकुमेन्ट्रीमा दसैंमा तनहुँको खड्गदेवी मन्दिरमा ब्राम्हण (कथित माथिल्लो जात), मगर (आदिवासी समुदाय) र दलित (कथित तल्लो जात) तीनै समुदायका पुजारीले पूजा गर्ने परम्परा देख्न सकिन्छ । त्यस्तै प्रभासको ‘गल्लैलाउरे’ मा पश्चिम नेपालको स्याङ्जा र पर्वतमा गाइने परम्परागत गीतको बारेमा केन्द्रित थियो । देवकोटाको ‘कर्णाली मस्टो’ मा चाहिँ सुदूरपश्चिम र मध्यपश्चिमा कुल देवताको रूपमा मानिने मस्टो देवतासम्बन्धी धामी नाच देखाइएको छ । तीनैवटा डकुमेन्ट्रीमा लोकगीत, संगीत र परम्परा लोप हुने अवस्थामा पुगेको र यसलाई जोगाउने युवापुस्ताको खाँचो रहेको निष्कर्ष थियो । 

अमेरिकन निर्देशक विलियम औराले बनाएको ‘बटरफ्लाई’ डकुमेन्ट्रीमा थाइल्यान्डको संगीत र नेपाली संगीतको माध्यमले समाज परिवर्तन भएको कथा बुनिएको छ भने स्विस थोमस लुचिङ्गर निर्देशित ‘जोहली एन्ड वेर्ची’ मा स्विट्जरल्यान्डमा अहिले पनि दैनिक रूपमा गाइने परम्परा देख्न सकिन्थ्यो । बोर्डोज अनिको निर्देशित ‘द भ्वाइस अफ मदर अर्थ’ मा हंगेरीमा कविताको माध्यमले रोगलाई निर्मूल पार्ने अचम्मको संस्कृति नेपालीले देखे ।

भारतकै तर्फबाट बिहीबार औरेली चौलेउर निर्देशित ‘द लिटल प्रिन्सेस अफ राजस्थान’ मा लाङ्गा समुदायले पुस्तौँदेखि जोगाउँदै आएको राजस्थानी संगीतको महत्त्व र यसलाई जोगाउन स्कुले बालकहरू हमिद, अन्वर र स्वरूपले गरिरहेको प्रयासलाई उतारिएको थियो । दक्षिण अफ्रिकाका ल्युस गिमेन्ज अमोरोसले जिम्बावेबारे बनाएको ‘एड्गर बेरा’ र भुटानका खेङ सोनाम दोर्गी निर्देशित ‘खेङ चोइडपाला’ पनि देखाइयो । 

 

प्रकाशित : मंसिर ८, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?