२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मञ्चमा आदिकवि

काठमाडौं — पिँढीमा बसेर कपाल सेताम्मे भएका बाजे नातिलाई टुलुटुलु हेर्छन्। नातिचाहिँ वेदका पाना पल्टाउँदै संस्कृत भाषामा श्लोक गाउँदै छन्, बाजे त्यसै मख्ख। उता घरको काममा व्यस्त बज्यै नाति–बाजेको गाडा सम्बन्ध देखेर दंग पर्छिन्।

मञ्चमा आदिकवि

तनहुँको रम्घामा दुई शताब्दीअघि यस्तो भइरहँदा धेरैलाई थाहा थिएन कि यिनै सानो नाति नेपाली भाषाका आदिकविको रूपमा उदाउने छन् भनेर। अहिलेको आईप्याड र ई–लर्निङको जमाना रोचक लाग्ने यस्ता दृश्य रंचमञ्चमा हेर्न पाइन्छ।

तिनै आदिकवि भानुभक्त आचार्यको जीवनकथामा आधारित नाटक ‘रात चिन्र्या भानु’ यति बेला राजधानीमा मञ्चन भइरहेको छ। बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नियमित मञ्चन भइरहेको नाटकलाई प्रभाकर न्यौपानेले लेखन एवं निर्देशन गरेका छन्।

प्रख्यात हिन्दु मिथकीय ग्रन्थ रामायणलाई संस्कृत भाषाबाट नेपाली बोलचालीको भाषामा रूपान्तरण गरेर भानुभक्तले नेपाली भाषा–साहित्यलाई अतुलनीय योगदान दिएका थिए। साहित्यका पारखी धेरैलाई भानुको लेखन योगदान, जीवनमा आइपरेका उतार–चढाव, कान्तिपुरी नगरीको भ्रमण, जेल पर्दाका दु:खजस्ता सन्दर्भबारे राम्ररी थाहा छ। नाटकमा भने पुस्तकमा खोजेर नभेटिने भानुभक्तको बाल्यकाल, यौवन र वृद्धावस्था गरी तीन कालखण्ड प्रस्तुत छ। पुस्तकमा कल्पना गर्नुपर्ने सन्दर्भहरू मनछुने दृश्यसहित प्रस्तुत हुँदा दर्शकलाई झन्डै दुई शताब्दीअघिको नेपाली समाजमा पुगेको अनुभूति हुन्छ।

झन्डै डेढ घण्टाको नाटक भानुभक्तको सालिकमा माल्यार्पणसँगै सुरु हुन्छ। उनको सालिक छेवैमा एक अपरिचित व्यक्तिको सालिक हुन्छ, जसको नाम ‘घाँसी’ राखिएको छ। सूत्रधारले तिनै घाँसीको सालिकको जीवनी कोट्टयाउँदा भानुभक्तको कथा सुरु हुन्छ। भानुका बुबा सरकारी अड्डका डिट्ठा थिए। हजुरबुबाको संगत र शिक्षादीक्षासहित हुर्किएका भानु संस्कृत पढ्नकै लागि बाजेसँगै काशी गएकोदेखि त्यहाँबाट गाउँ फर्केर घाँसी प्रभावमा साहित्य साधनातिर लागेको उही चिरपरिचित सन्दर्भ दृश्यमा सलल बगेर आउँछ। घाँस बेचेर जीविकोपार्जन गर्ने घाँसीले कुवा खनेर गाउँलेको सेवा गरेको सन्दर्भलाई एकथरी जीवनी लेखकहरूले अस्वीकार गर्दै आएका छन्। उनीहरूको मत छ– त्यति बेला पहाडी नेपालमा घाँस बेच्नुपर्ने अवस्था नै थिएन। तर, नाटकले भने यिनै घाँसीलाई कथा वाचनको माध्यम बनाएको छ।

हरेक सिर्जना त्यो समयको लागि क्रान्तिकारी सावित भयो भने युगान्तकारी बन्न सक्छ। भानुभक्तले त्यति बेला रामायणलाई नेपाली बोलीचालीमा ल्याउनु आफैंमा क्रान्तिकारी कदम थियो। उक्त कार्यलाई त्यति बेला पुरातन र शास्त्रीय मान्यता राख्ने पण्डितहरूले कसरी विरोध गरेका थिए र भानुभक्तले कस्ता अप्ठयारा सन्दर्भहरू खेप्नुपरेको थियो भन्ने पक्ष पनि नाटकमा हेर्न पाइन्छ। नाटकमा ‘धर्मको नाश भयो’ भन्दै भानुको विरोध गर्ने पुजारीहरू पनि छन्। त्यस्तै, बुबाको अड्डा काण्डको भानु स्वयं भागीदार भएर जेल परेको सन्दर्भ पनि मनछुने लाग्छ।

भानुले जेलमा हुँदा पनि लेखनलाई निरन्तरता दिएका थिए। उनले जेलभित्रै राम–गीताको अनुवाद गरेको पाइन्छ। नाटकले पनि यसलाई पछयाएको छ। नाटकमा मीठो बोली, साहित्यप्रतिको लगाव र मित्रवत् व्यवहारले भानु सबैका प्यारा बनेका छन्। गाउँको समृद्धिका लागि भानुले गरेको योगदान पनि नाटकमा छ। उनले खेत सिँचाइ गरी गाउँलेलाई सहयोग गर्न खेलेको भूमिका प्रशंसनीय छ। चाखलाग्दो के भने मृत्यु शय्यामा पनि भानुले राम–गीताको अन्तिम पंक्ति छोरा रमनाथलाई लेख्न लगाउँछन्। आरम्भ समूहको प्रस्तुति रहेको नाटकमा प्रकेश सिन्धुलीय, मानस राज, साक्षी लम्साल, प्रेम पौडेल, प्रल्हाद खरेल, रमेश दाहाल, चाँदनी शाही, वासुदेव खनाल, राधा श्रेष्ठ, पुष्पराज अवस्थीको अभिनय छ ।नाटक मंगलबारबाहेक हरेक दिन मंसिर १६ सम्म मञ्चन हुने बताइएको छ।

प्रकाशित : मंसिर १२, २०७४ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?