चिसो देशबाट न्याना चित्र

कान्तिपुर संवाददाता

काठमाडौं — नोभेम्बरको सुरुमा फिनल्यान्डबाट चार युवती पेन्टिङ सिक्न भक्तपुरको बालकोटस्थित रागिनी आर्ट भिलेज पुगे । फिनल्यान्डको पिका हालोनेन एकेडेमीमा फाइन आर्टमा स्नातक दोस्रो वर्ष अध्ययनरत मेरी भिल्जाहर्जु, निना कोर्भेनोजो, मिसा सरास्टे र करिता टोलभानेनलाई चित्रकार रागिनी उपाध्यायले नेपाली ल्यान्डस्केपमा पेन्टिङ गर्न र प्रिन्ट मेकिङ सिकाइन् ।

नोभेम्बरको सुरुमा फिनल्यान्डबाट चार युवती पेन्टिङ सिक्न भक्तपुरको बालकोटस्थित रागिनी आर्ट भिलेज पुगे ।

फिनल्यान्डको पिका हालोनेन एकेडेमीमा फाइन आर्टमा स्नातक दोस्रो वर्ष अध्ययनरत मेरी भिल्जाहर्जु, निना कोर्भेनोजो, मिसा सरास्टे र करिता टोलभानेनलाई चित्रकार रागिनी उपाध्यायले नेपाली ल्यान्डस्केपमा पेन्टिङ गर्न र प्रिन्ट मेकिङ सिकाइन् । ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपतिसमेत रहेकी रागिनीबाट सिकेको कलालाई उनीहरूले क्यानभासमा उतारे । चित्र कोर्दै जाँदा ती तन्नेरी चित्रकारहरूलाई रागिनीको जीवनमा केही वर्षअघि मात्रै घटेको हृदयस्पर्शी घटनाले छोयो । आफ्नी एक मात्र सन्तान छोरी शिवातालाई रागिनीले अप्रत्याशित रूपमागुमाएकी थिइन् ।

यसपछिका दिनहरूमा आफ्नो कलाकर्मलाई सामाजिक सेवासित जोडेर छोरीकै नाममा समर्पण गर्दै आएकी रागिनीको सामाजिक अभियानलाई सघाउन तिनै फिनल्यान्डका तन्नेरी कलाकारहरू यति बेला राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरी आइपुगेका छन् । शिवाता लभ फाउन्डेसनको सहयोगार्थ उनीहरूका कलाकृति प्रदर्शनीमा छन् । आइतबार सुरु ‘ब्लिङ अफ एन आई’ शीर्षक प्रदर्शनीमा चार जनाका ३४ पेन्टिङ र प्रिन्ट कला राखिएका छन् ।

तीमध्ये मेरी भिल्जाहर्जुका सात पेन्टिङ छन् । उनले पेन्टिङमा स्यालसम्बन्धी लोककथाहरू उतारेकी छन् । उनी चित्रमा निकै कल्पनाशील बनेकी छन् । पेन्टिङले समाज र मान्छेबीच संवाद गर्न सक्छ भन्ने धारणा राख्ने उनले रागिनीबाट प्रिन्टमेकिङ र आर्ट वर्कबारे सिकेपछि आफ्नो समाजमा प्रचलित लोककथालाई नेपाली कलापारखीमाझ संवाद गर्ने कोसिस गरेकी छन् । सिकाइको क्रममा उनले आफ्नो मुलुक फिनल्यान्डभन्दा केही फरक अभ्यास नेपाली कला परम्परामा भेटिएको सुनाइन् । रागिनीबाट पेन्टिङमा प्रयोग हुने विभिन्न विम्ब सिकेकी उनले भनिन्, ‘फिनल्यान्डको चित्रकारितामा सिम्बोलहरू प्रयोग गर्ने खासै चलन छैन । अब म आफ्ना पेन्टिङहरूमा सिम्बोलको भरपुर प्रयोग गर्न सक्ने भएकी छु ।’

प्रदर्शनीबाट उठेको ६० प्रतिशत रकम शिवाता फाउन्डेसनलाई दिने उनले सुनाइन् । भनिन्, ‘हाम्रो देशमा सबै जना शिक्षाको पहुँचमा हुन्छन् । बराबर अवसर पाउँछन् । यहाँ फरक रहेछ । सुन्दा अचम्म लाग्यो । सबैभन्दा ठूलो असमानता शिक्षामा रहेछ । पैसा हुनेहरूले पाउने शिक्षा र नहुनेहरूले पाउने शिक्षा फरक रहेछ । त्यही भएर फाउन्डेसनमार्फत विपन्नहरूलाई सघाउन मन लाग्यो ।’ उनले फिनल्यान्ड सरकारबाट पेन्टिङ पढ्नको लागि समेत छात्रवृत्ति उपलब्ध हुने गरेको सुनाइन् । भनिन्, ‘यदि कुनै कलाकारसँग केही गर्ने योजना छ भने उसलाई हाम्रो सरकारले आर्थिक सहयोग गर्छ ।’

उनीहरूका पेन्टिङमा नेपाली कलाको प्रभाव रहेको रागिनीले बताइन् । ‘पेन्टिङमा रंगहरूको सम्मिश्रण गर्दा सूर्यले ठूलो भूमिका खेल्दो रहेछ । चिसो मुलुकबाट आएको भएर हो कि, उनीहरू सुरुमा प्राय: फुस्रो र कालो रंग बढी प्रयोग गर्थे,’ उनले भनिन्, ‘तर यहाँ आएपछि उनीहरूले पेन्टिङमा धेरै उज्याला रंगहरू प्रयोग गर्न थाले ।

प्रदर्शनीमा राखिएका पेन्टिङहरू पनि कलरफुल छन् ।’

निना कोर्भेनोजाले चाहिँ आफ्नो क्यानभासमा फिनल्यान्ड र नेपालमा मानवताको अवस्था देखाउन खोजेकी छन् । उनका सात पेन्टिङमध्ये एउटामा नेपालीको पोट्र्रेट छ भने अन्यमा फिनल्यान्डकै सन्दर्भ छन् । उनको एउटा पेन्टिङमा एक युवती अर्धनग्न अवस्थामा देखिन्छिन् । उनले त्यसमार्फत मानिसको गरिबी र समस्या देखाउन खोजेको बताइन् । भनिन्, ‘हामी मानिसलाई दु:खी देख्दा पनि आँखा चिम्लेर हिँड्छौँ । मैले त्यही देखाउन खोजेको हुँ ।’

यो टोलीजस्तै फिनल्यान्डबाट विद्यार्थीहरू रागिनीकहाँ सिक्न आउन थालेको २०/२५ वर्ष भइसकेको छ । उनलाई प्राय: सबै आफ्नै आफन्तजनजस्तै लाग्छन् रे । दिवंगत छोरीका नाममा फाउन्डेसन खोलेर तीन जना विपन्न नेपालीलाईछात्रवृत्ति दिइसकेकी उनी यसपटक आफ्नै विद्यार्थीबाट साथ पाएपछि खुसी छिन् ।
बालकोटको महेन्द्र शान्ति माविमा अध्ययनरत सृष्टि बोहरा र अविना राई तथा ललितकला क्याम्पसमा फाइन आर्ट पढ्दै गरेका विक्रम श्रेष्ठलाई उनले छात्रवृत्ति दिएकी हुन् । ‘यस वर्ष पाँच सय दस जनालाई छात्रवृत्ति दिने योजनामा छौँ,’उनले भनिन् ।

कवि, मूर्तिकार एवं ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ नारदमणि हार्तमछाली पनि मंगलबार पेन्टिङ हेर्न बबरमहल पुगेका थिए । उनले पेन्टिङहरू यथार्थवादी र अर्धमूर्त रहेको बताए । भने, ‘सरल रूपमा आफ्ना भित्री कुराहरू भन्न खोजेको जस्तो लाग्यो । रंगको सम्मिश्रणनयाँ लाग्यो ।’
प्रदर्शनी बिहीबारसम्म चल्नेछ ।

प्रकाशित : मंसिर २०, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्

‘बोरिङ जिन्दगी’

एजेन्सी

काठमाडौं — कसलाई रहर नहोला, सलमान खानको जस्तो जिन्दगी जिउने ! तर, स्वयं सलमानचाहिँ आफ्नो दुनियाँदेखि खासै खुसी छैनन् रे । उनले हालैको एक कार्यक्रममा आफूले बोरिङ जिन्दगी बिताइरहेको बताएका छन् ।

‘मैले बोरिङ तर कठोर मेहेनत गर्नुपर्ने जिन्दगी जिएको छु,’ उनलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन्, ‘मेराबारे बनेका आमधारणाभन्दा विपरीत छ मेरो दुनियाँ ।’

सलमानले आफू अझै पनि एककोठे अपार्टमेन्टमा बस्ने गरेको बताएका छन् । निकै साधारण जिन्दगी गुजारिरहेको सलमानको भनाइ छ । आफ्नो लाइफस्टाइललाई लिएर समाचारमा आउने कतिपय हावादारी कुराले साह्रै अप्ठ्यारो महसुस गराउने उनी बताउँछन् ।

‘त्यस्ता कुरा पढ्दा मलाई लाज हुन्छ,’ उनले भनेका छन्, ‘खासमा साह्रै अल्छीलाग्दो जिन्दगी छ मेरो । एक दिन म भएर बाँच्नुस् अनि थाहा हुन्छ । अस्तव्यस्त र दौडधुपले बोर गराउँछ ।’

बलिउडका यी ‘भाइजान’ ले १५ वर्षको उमेरदेखि फिल्म खेल्न थालेका हुन् । ‘हम दिल दे चुके सनम’, ‘बीबी नम्बर वान’ र ‘कुछ कुछ होता है’ फिल्म गर्दाताका उनी चौबीसै घण्टा छायांकनमा खट्थे । त्यही लगातारको सुटिङ र यताउता कुदिरहनुपर्ने सन्दर्भलाई लिएर उनले आफ्नो काम बोरिङ भएको बताएका हुन् । 
उनी मुम्बईको अपार्टमेन्टमा अभिभावकसँगै बस्छन् । अन्य सेलेब्रिटीले झैं सानदार बंगला लिएर छुट्टै बस्न उनलाई मन पर्दैन ।

‘म जहाँ बसिरहेको छु, त्यो ठाउँ छोड्न सक्दिनँ,’ उनले कुनै बेला भारतको एउटा टीभीसँग भनेका थिए, ‘मेरा बाआमा यहीँ बस्ने भएकाले यो ठाउँ प्रिय छ ।’ 

 

प्रकाशित : मंसिर २०, २०७४ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्