१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पाँच फिल्मकर्मीलाई श्याम–सुनिता मुखिया पुरस्कार

काठमाडौं — वरिष्ठदेखि युवासम्मका पाँच फिल्मकर्मी बुधबार राजधानीमा सम्मानित भएका छन् । ड्रिम वर्ल्ड अफ फिल्ममेकर्सले वरिष्ठ फिल्मकर्मी लक्ष्मीनाथ शर्मा, सञ्चारकर्मी एवं गीतकार शान्तिप्रिय र युवा फिल्मकर्मी एवं सञ्चारकर्मी फूलमान वललाई पुरस्कृत र अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला र युवा फिल्मकर्मी विनोद पौडेललाई सम्मानित गरेको हो ।

पाँच फिल्मकर्मीलाई श्याम–सुनिता मुखिया पुरस्कार

शर्मालाई १५ हजार ५ सय रुपैयाँ र ताम्रपत्रसहित ‘श्याम–सुनिता विशिष्ट चलचित्रकर्मी पुरस्कार’, शान्तिप्रियलाई ताम्रपत्र र उत्ति नै रकमसहित ‘वरिष्ठ चलचित्रकर्मी पुरस्कार’ तथा वललाई ताम्रपत्र र ११ हजार १ सय रुपैयाँसहितको ‘युवा चलचित्रकर्मी पुरस्कार’ दिइएको हो । निरौला र पौडेललाई भने ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मानित गरियो । वरिष्ठ साहित्यकार एवं फिल्मकर्मी चेतन कार्कीले पुरस्कार र सम्मान हस्तान्तरण गरे भने पुरस्कार समितिका संरक्षक सुनिता मुखियाले टीका र अध्यक्ष सुनील मुखियाले फूलमाला अर्पण गरे ।

विसं २०२९ मा ‘गाईजात्रा’ डकुमेन्ट्रीको पटकथा लेखनमार्फत फिल्मी क्षेत्रमा प्रवेश गरेका शर्माले ‘बदलिँदो आकाश’ बाट फिल्म निर्देशनमा हात हालेका थिए । यसपछि उनले ‘शान्तिदीप’, ‘साथी’, ‘सारंगी’, ‘विद्रोही’, ‘मिलन’, ‘जित’, ‘छोरी–बुहारी’, ‘वर पीपल’ लगायत दर्जनभन्दा बढी फिल्म निर्देशन गरेका छन् । नेपाली फिल्म क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि शर्मालाई पुरस्कृत गरिएको पुरस्कारका संस्थापक एवं पहिलो नेपाली छायाँकार शबनम मुखियाले बताइन् । शान्तिप्रियलाई भने फिल्म पत्रकारिता र फिल्मी गीत लेखनमा पुर्‍याएको योगदानका लागि पुरस्कृत गरिएको बताइयो । ‘डी सिने अवार्ड’ का संस्थापकसमेत रहेका शान्तिप्रियले पछिल्लोपटक ‘अधर’ गीति एल्बम ल्याएका थिए ।

छोटो फिल्म ‘सेलफोन’ बाट निर्देशनमा हात हालेका वलले हाल फिचर फिल्म ‘नीरफूल’ निर्देशन गरिरहेका छन् । उनका ‘महाभारतकी मैच्याङ’ (कविता संग्रह) र ‘काजोल खातुन’ (कथा संग्रह) पनि प्रकाशित छन् । सम्मान पाएकी निर्देशक निरौलाले पछिल्लो समय ‘छक्का पञ्जा–२’ निर्देशन गरेकी थिइन् भने युवा फिल्मकर्मी विनोद पौडेल ओस्कार फिल्म कलेजका सञ्चालकसमेत हुन् ।

वरिष्ठ गीतकार कार्कीले सम्मानको परम्पराले नेपाली फिल्म क्षेत्रलाई माथि उठाउने बताए । वरिष्ठ अभिनेत्रीहरु चैत्यदेवी, भुवन चन्द, वसुन्धरा भुसाल, वरिष्ठ साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र फिल्मकर्मी मोहन निरौलालगायतले पुरस्कार र सम्मान परम्परामाथि बोले । आफ्ना आमा–बुबाका नाममा यसै वर्षदेखि स्थापित पुरस्कार हरेक वर्ष दिइने मुखियाले बताइन् ।

प्रकाशित : मंसिर २८, २०७४ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?