कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

यो कथा आजै किन ?

संस्मरण

काठमाडौं — यो कथा म कहाँदेखि थालूँ, मेरो लेखनको कथा ? आजभन्दा ६५ वर्ष जति अघि त्रिजुद्ध हाई इङ्लिस स्कुल, वीरगन्जको सातौं कक्षाको एक कोठामा विद्यार्थीहरू चलिरहेका, हल्ला गरिरहेका थिए ।

यो कथा आजै किन ?

आफूलाई नेपाली साहित्यमा ‘वीरगन्जको चिनो’ भन्ठान्ने लेखक ध्रुवचन्द्र गौतम हीरक जन्मोत्सव मनाइरहेका छन् । गौतमको ७५ वर्षे जिन्दगीको स्मृति उनकै शब्दमा :

यो कथा म कहाँदेखि थालूँ, मेरो लेखनको कथा ?

आजभन्दा ६५ वर्ष जति अघि त्रिजुद्ध हाई इङ्लिस स्कुल, वीरगन्जको सातौं कक्षाको एक कोठामा विद्यार्थीहरू चलिरहेका, हल्ला गरिरहेका थिए । पञ्जा लडाइरहेका थिए, सिनेमाको कहानी भनिरहेका थिए, कागजको हवाइजहाज बनाएर उडाइरहेका थिए । डुङ्गा र खाट बनाइरहेका थिए— कागजकै । क्लासमा मास्टर नआउन्जेल त्यस्तै हुन्थ्यो । त्यस बखत माडसाप क्लासमा आएका थिएनन्, उनले चलाउने बेत (लौरो) भने टेबल छेउमा अड्याएर राखिएको थियो ।
त्यसै बखत एउटा १० वर्ष जतिको छात्र भने खाकी कट्टु र डोरिया कमिज लगाएर क्लासभित्र टोलाएर बसिरहेको थियो । अरू बेला ऊ पनि गफमा मस्तसित हिस्सा लिने गथ्र्यो, त्यो मध्याह्न भने ऊ चुपचाप थियो ।
एकाएक त्यसलाई के सुझ्यो, आफ्नो स्कुलको हात्ती छाप ब्रान्डको कपी पल्टायो र लेख्न थाल्यो । होहल्ला बीचमा केही लेख्यो र, छेउको कुनै साथीलाई देखायो— ल हेर त, यो कस्तो छ ?
साथीले हेर्‍यो । त्यो केटाले कापीमा लेखेको थियो :
सरस्वती तिम्रो शक्ति महान्
शुभ्र वसन छ हातमा वीणा
देऊ हामीलाई ज्ञान
सरस्वती तिम्रो शक्ति महान् !

साथीले सोध्यो, यो तैंले लेखेको कविता हो ?
केटाले भन्यो— अँ भर्खरै ।
साथीले अविश्वासको नजरले त हेर्‍यो, तर केही बोलेन । आदरणीय पाठकहरू, यो कथा त त्यत्तिकैमा टुङ्गियो । तर यहींदेखि मेरो कथा भने थालिन्छ, कलमी कथा । त्यो लेख्ने केटो मै थिएँ र, त्यही मेरो जीवनको पहिलो कविता हो ।
दोस्रो कविता मैले हिन्दीमा लेखेको थिएँ, मेरो गाउँ बेतौनामा । त्यस बखत पटनामा एउटा गोली काण्ड भएको थियो । त्यसमा एउटा छात्रको मृत्यु भएको थियो । त्यही अनाम, अपरिचित छात्रप्रतिको संवेदनामा कविता लेखेको थिएँ । पहिले मैले यसैलाई आफ्नो पहिलो कविता ठान्दथें, होइन रहेछ । त्यो दोस्रोचाहिँ कविता
अहिले मलाई अक्षरस आउँदैन । त्यसपछि धेरै हिन्दीमा र कहिलेकाहीं नेपालीमा मैले कविता लेख्न थालें ।
मेरो घरेलु वातावरण कविता वा कुनै पनि लेखनका लागि प्रेरणादायी थियो । पिताजी गोविन्दचन्द्रले कल्याण, स्वस्थानी ब्रतकथा आदि गीता प्रेस गोरखपुरबाट मगाइरहनुहुन्थ्यो । घरमा आमा दिपवतीदेवी पनि भागवत कुञ्ज, पञ्च गीत आदि पढ्नुहुन्थ्यो अर्थात् पाठ गर्नुहुन्थ्यो ।
हे कृष्ण शान्ति–रसको सरिता पहाड... अथवा
हे ऋषि, कलिमा कसरी तर्लान् सजिलो साधन आज्ञा होस् ।
त्यसकारण जब म एक क्लासमा भर्ना भएँ, गुरुको स्कुलमा, त्यस बखतसम्म मैले धेरै कथा पढिसकेको थिएँ । रामायण, महाभारत र स्वस्थानीका कैयौं कथा मलाई कण्ठ थिए ।
ती कण्ठ गरेका कुराहरूमा एउटा सरस्वती–स्तोत्र पनि थियो :
सरस्वती मया द्रष्टवा वीणा–पुस्तक धारिणी
हंसवाहन संयुक्त्वा विद्यादानम् करोतुमे ।
यो त्यसैबखत कण्ठ गरेको आजसम्म मलाई कण्ठै छ । यही एउटा स्तोत्र छ, जुन मलाई उबेलादेखि अझैसम्म आउँछ । विद्यार्थी हुनाले देवी सरस्वती हाम्रा लागि सबभन्दा महत्त्वपूर्ण थिइन् । यही कारणले होला, मैले आफ्नो पहिलो कविता लेख्दा ‘सरस्वती तिम्रो शक्ति महान्’ लेखें ।
त्यसपछि म कविता लगातार लेख्न थालें । घरबाट मात्र होइन, इष्टमित्र, वीरगन्जका अन्य कवि वा साहित्यप्रेमी बुर्जुगहरूबाट पनि प्रोत्साहन पाउन थालें । जस्तो— खेम पराजुली, मथुरामानसिं आदि । गोपाल (गोतामे) दाइले मलाई एउटा फाइल किनिदिनुभयो, कविताहरू राख्न । मेरो घरेलु वातावरण लेखनका लागि प्रेरणादायी थियो । केही परिस्थितिले पनि भावुकता र संवेदनशीलता मेरो स्वभावमा मनग्य घोलिदियो । पढ्ने प्रवृत्ति पनि थियो ।
त्यसकारण जब म गुरु केशवप्रसाद आचार्यको पाठशालामा एक क्लासमा भर्ना भएँ, मलाई रामायण, महाभारत र अन्य कतिपय कथा, स्तोत्र याद थिए । मलाई आफूले अक्षरारम्भ गरेको सम्झना छैन । ‘ठूलो वर्णमाला’ पढेको सम्झन्छु ।
कविता लगातार लेखे पनि, धेरै लेखे पनि, त्यस बखत म भने गायक बन्न चाहन्थें । सात क्लासमै, अंग्रेजीको परीक्षामा निबन्ध लेख्न भनिएको थियो— योर एम इन लाइफ । मैले आफू कवि होइन, गायक नै बन्न चाहेको भनेर लेखेको थिएँ ।
मेरो गायन त्यति खराब पनि थिएन । वीरगन्जका स्टेजहरूमा मैले धेरै गाएको छु । खासगरी सरस्वती पूजाको दिन हुने त्रिजुद्धका फङ्सनहरूमा । मेरा प्रशंसकहरू पनि थिए । २०१६ सालमा मैले आफ्नो पहिलो नेपाली गीत आफ्नै धुनसमेत हालेर गाएको थिएँ, जुन एकदम हिट भएको थियो वीरगन्जमा :
मनमा राखी तिमीलाई म तिम्रो पूजा गरूँला ।
त्यसपछि गीतको यस्तो सिलसिला पनि धेरै चल्यो । वीरगन्जमा म राम्रो चिनिने भएँ ।
२०१८ सालको सरस्वती–पूजामा मैले आफ्नो नाटक लेखें, ‘पिकनिक’ जसमा केवल केटीहरू पात्र थिए । ‘पिकनिक’ नाटक त दर्शक, प्रशंसक र अन्य सफलताले पनि अद्भुत बनेको थियो । साथीहरूको पनि सहयोग थियो पूरा । यसै नाटकमा मैले पहिलोपटक निर्देशन पनि गरें, यसमा सच्चाइको गुन्जायस छ । कारण, निर्देशक बलरामसिं मल्ल र मणिराम पौडेल पनि थिए । ‘पिकनिक’ नाटकलाई केही सम्झिनेहरू ‘न भूतो न भविष्यति’ भन्छन्, तर म भने ‘न भविष्यति’ मान्दिनँ ।
यसअघि २०१७ सालमा गोपाल गोतामेको नाटक ‘समस्या’मा चारमध्ये एक नायकका रूपमा मैंले काम गरें । ‘समस्या’का अन्य नायकमा बलरामसिं मल्ल र मणिराम पनि थिए । ‘समस्या’ एउटा अत्यन्त गम्भीर नाटक थियो र अत्यन्त स्तरीय पनि । त्यो मेरो प्रथम अभिनय थियो र अन्तिम पनि, त्यसकारण सम्झिन जरुरी भयो ।
त्रिजुद्ध र ठाकुरराम कलेजपछि मेरा लागि त्रिचन्द्र कलेज र त्रिवि, एमएका कक्षाहरू महत्त्वपूर्ण छन् । त्यतिखेर एमए, त्रिपुरेश्वरमै पढाइन्थ्यो । स्कुलदेखि विश्वविद्यालयको छात्र हुनु र पछि शिक्षक हुनु मेरा लागि चेतना र अनुभव वृद्धिका माध्यम भए । त्रिचन्द्र कलेजमा त म ती थोरै शिक्षकमध्ये पर्दछु, जो त्यहाँ विद्यार्थी र शिक्षक दुवै बने । यी अनुभवहरूको एउटा बेग्लै ग्रन्थ बन्न सक्छ, पछि कुनै बेला । शिक्षकका रूपमा म कस्तो थिएँ वा विद्यार्थीहरूसँग मेरो कस्तो सम्बन्ध थियो भन्न थालें भने अहिले कति जनाले नपत्याउन सक्छन्, यति भने भनिदिऊँ ।
त्रिचन्द्र कलेजमै पढ्दापढ्दै मेरो पहिलो नेपाली कविता २०२०, वैशाख १ गते छापिएको थियो । त्यही साल मेरो प्रथम कथाको प्रकाशन ‘रूप–रेखा’ मा भएको थियो । त्यसपछि क्रमश: मेरो नाउँ फाट्टफुट्ट केही समालोचक र पाठकले लिन थालेका थिए । कति स्थापित साहित्यकारसँग पनि परिचय भयो । कवि द्वारिका श्रेष्ठको घरमा त्यस बखतका प्रसिद्ध साहित्यकारहरूले मिलेर एउटा विद्रोहात्मक साहित्यिक संस्था खोल्दा, त्यसमा नयाँ लेखकका रूपमा मलाई पनि सामेल गरिएको थियो । त्यस संस्थाको पत्रिका थियो जसका सम्पादक थिए— पुरुषोत्तम बस्नेत र भुवन ढुंगाना । यस्तो संस्थागत अनुभव पनि मेरो पहिलो नै थियो । ‘अमलेख’ र ‘सिउँडी’ पत्रिका दुवै अहिले छैनन्, तर केही वर्षअघि द्वारिका र जलेश्वरी श्रेष्ठका घरमा हामीले ‘अमलेख’को रजत–जयन्ती मनाएका थियौं । ‘अमलेख’का सबैजसो त्यसमा सामेल भएका थिए ।
मेरा सारा साहित्यिक अभ्यास, चर्चा, पुरस्कार, सम्मान वीरगन्जदेखि नै थालिएका हुन् । त्यस समयको वीरगन्ज आजजस्तो विस्तृत थिएन । लगभग सब, सबलाई चिन्दथें । त्यसमाथि कविता–गीत–नाटकमा भाग लिनेलाई नचिन्नेको र प्रोत्साहन नदिने कि ? भनूँ भने म अझै पनि आफूलाई वीरगन्जकै लेखक ठान्दछु, जो काठमाडौंमा बसेर लेखिरहेको छ ।
२०२२ सालमा म त्रिविबाट एउटा भाषिक भ्रमणमा गएको थिएँ, जसका नेता थिए— मेरा गुरु बालकृष्ण पोखरेल, भाषाशास्त्री, साहित्यकार र आदरणीय व्यक्तित्व । त्यो यात्राको मेरो जीवनमा अलग साहित्यिक महत्त्व । त्यसै यात्रामा मैले एउटा उपन्यास–लेखनको थालनी गरें । म लेखिरहन्थें, बेलुकाबेलुका । काठमाडौं गएपछि एकदिन ‘रूप–रेखा’ का सम्पादक उत्तम कुँवरले भने—‘रूप–रेखा’ले आगामी वैशाखमा एउटा सिंगो उपन्यास छाप्ने योजना बनाएको छ, त्यसैसँग किताब पनि छापिन्छ, उपन्यासका रूपमा । तपाईं लेख्न सक्नुहुन्छ ?”
मलाई त के चाहियो ? लेखिरहेकै थिएँ, सक्छु भनिदिएँ । त्यस बखतसम्म मैले रत्न राज्यलक्ष्मी कलेजमा पढाउन थालिसकेको थिएँ । त्यसैबखत झापामा एउटा सातदिने साहित्यिक सेमिनार हुने भयो, केदारमान व्यथितको सक्रियतामा । त्यति ठूलो साहित्यिक सेमिनार मैले फेरि कहिल्यै देखिनँ । मलाई पहिलोपटक कथकारका रूपमा आमन्त्रित गरिएको थियो । जान मन त थियो तर लगभग १० दिनको छुट्टी चाहिन्थ्यो । भर्खर पढाउन थालेकोलाई कसले देला छुट्टी ? त्यो मैले सेमिनार समितिलाई बताइदिएँ, छुट्टी नमिले जान्नँ । उनीहरूले मलाई नयाँ भए पनि वा सके नयाँ लेखक भएकाले एउटा चिठी ‘रत्नराज्य कलेज’ लाई लेखिदिए, औपचारिक रूपमा । त्यसपछि छुट्टी मिल्यो । हामी रक्सौल हुँदै गएका थियौं । रक्सौलमा पुलिसले सोधपुछ त गर्‍यो तर सहृदयतापूर्वक नै जान दियो । पुलिसको हाकिम जाँच्नै मनिर पनि आयो । त्यसले हाँस्दै सोध्यो, ‘अच्छा, आप भी कवि है ? आप भी कविता सुनाएंगे ?’
मैले, ‘हाँ’ भनें । त्यसले जान पनि दियो । म भने सोच्न थालें, किन त्यस्तो सोध्यो ? मेरो अनुहार कविजस्तो भएन कि, कवि हुने लायक देखिएन ?
सेमिनारको उल्लेख यसकारण पनि जरुरी भयो कि त्यहाँ म फुर्सद पायो कि उपन्यास लेख्न बसिहाल्थें । फुर्सदको अर्थ, अरू नभएको बेला पारेर पनि हो । एक दिन जगदीश घिमिरेले देखिहाले । सोधे, ‘के लेख्नुभएको ?’
‘खास त्यस्तो होइन, फुर्सदको समय बिताएको ।’
तर जगदीश त्यतिले के मान्थे । अन्त्यमा उनी प्रथम व्यक्ति भए, जसलाई मैले भन्नुपर्‍यो, एउटा उपन्यास लेख्दै छु, ‘रूप–रेखा’ का लागि । यति त ‘रूप–रेखा’ सम्पादकलाई पनि थाहा थिएन । म हत्तपत्त भन्न चाहन्नँ पनि, पहिल्यैदेखि, अहिले पनि ।
जगदीशले शीर्षक पनि सोधेका थिए । तर शीर्षकमा मै स्पष्ट थिइनँ, त्यस बखत ।
काठमाडौं फर्केपछि उपन्यास सकेर पाण्डुलिपि ‘रूप–रेखा’ लाई बुझाइदिएँ । एक दिन २०२४, वैशाख १ गते, मेरो त्यो पहिलो उपन्यास प्रकाशित भयो । शीर्षक थियो, ‘अन्त्यपछि’ ।
मलाई उपन्यासकार बनाउने ‘अन्त्यपछि’ नै थियो भने यो मेरा लागि कति महत्त्वपूर्ण थियो, बुझ्न सकिन्छ । ‘अन्त्यपछि’को प्रकाशनपछि धेरै नकारात्मक र थोरै सकारात्मक टिप्पणी–चर्चाहरू धेरै आए ।
पत्रिकासँगै पुस्तकाकारमा पनि छाप्ने भनेर अतिरिक्त छपाइ पनि गरिएको थियो । पछि एक दिन बुझ्दा थाहा पाइयो, ‘नेपाल प्रेस’ बाट त्यो सिङ्गो बन्डल नै हरायो भनियो । त्यसले गर्दा, निकै पछि मात्र छापिन सक्यो, पुस्तकका रुपमा ।’
यी सारा समयभरिमा मित्र पनि धेरै भए, आलोचक पनि भए, शुभेच्छुक पनि भए, सबै चाहिन्छन् पनि । मित्र केही असल छन्, केही खराब छन्, केही बढी खराब छन्, सायद यस्तो पनि आवश्यकै होला जीवनमा भन्ठान्दछु । धेरै मित्र आंशिक छन् । केही मित्र समर्थक पनि छन् तर ती ‘प्यासिभ’ समर्थक छन् । शब्द यही स्वाभाविकता पनि हो हाम्रो सेरोफेरोमा । केही मित्र अवश्य यस्ता छन्, जो मित्र पनि छन् र वास्तविक रूपमा शुभेच्छुक पनि छन् । त्यतिले पुग्छ पनि ।
सम्मान–पुरस्कार पनि पाएकै छु । मदन पुरस्कार, साझा पुरस्कार, लूनकरणदास गंगादेवी चौधरी सम्मान, डायमण्ड शमशेर सम्मान आदि धेरै छन् । स्वर्ण–सूत्र सम्मान, आख्यान पुरुष सम्मान आदि पनि अविस्मरणीय छन् । तर यहाँ जुन एउटा तस्बिर दिइएको छ, त्यसको पनि खास महत्त्व छ । २०६० पुस २५ गते, गोपाल गिरीले वीरगन्जमा मेरो भव्य र अविस्मरणीय नागरिक अभिनन्दन गराएका थिए । त्यो अभिनन्दन वीरगन्ज उपमहानगरपालिका र वीरगन्ज उद्योग वाणिज्य संघले गराएका थिए । त्यो विशाल नागरिक अभिनन्दनले मलाई अभिभूत गराएको थियो । त्यस्तो कहिल्यै भएको थिएन मेरो जीवनमा । पञ्चकन्याद्वारा माल्यार्पण, धूपदीप, आरती, वटुकहरूद्वारा वेद पाठ अनि नगरका सबै क्षेत्रका गन्यमान्यद्वारा एक–एक गर्दै मालासहितको अभिनन्दन, म अत्यन्त भावुक भएको थिएँ
आफ्नो नगरप्रति । त्यो समारोह नै वीरगन्जका मेयर गोपाल गिरीले आयोजना गरेको एकमात्र र अन्तिम भव्य समारोह पनि हुन गयो । त्यसपछि उनी एक अन्यन्त स्नेही र मिलनसार मित्र, सम्झनामा मात्र भेटिने भए । उनैले वीरगन्ज उद्योग वाणिज्य संघ, वीरगन्जका तत्कालीन अध्यक्ष ओमप्रकाश रुङटासहित यो ‘वीरगन्जको चिनो’ उपहारद्वारा अभिनन्दन गरेका थिए । यो तस्बिर यहाँ किन दिइयो भने म आफू पनि नेपाली साहित्यलाई ‘वीरगन्जको चिनो ठान्दछु ।
प्रिय पाठकहरू, सम्झना धेरै छन्, इच्छा हजार हुन्छन् । साहित्यकै इच्छा पनि सबै पूरा हुँदैनन्, जति लामो उमेर भए पनि । जति लामो उमेर बिते पनि । अन्त्यमा गालिबका यी प्रख्यात पंक्तिहरू यहाँ सटीक हुने देखेर उद्धृत गर्छु र थामिन्छु :
हजारों ख्वाहिशें ऐसी कि हर ख्वाहिश पे दम निकले
बहुत निकले मेरे अरमान लेकिन फिर भी कम निकले ।
***

पुनश्च: ‘यो कथा आजै किन ?’ किनभने भोलिदेखि म ७५ औं वर्षमा प्रवेश गर्दै छु । त्यसैले विगत वर्षका सम्झनास्वरूप, आजै ।

प्रकाशित : पुस १, २०७४ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?