गिद्ध – २०१७

निबन्ध
कुरा सकेर मेचबाट उठनै लागेका थिए क्यालिवरवालाहरू कि गोलीको पर्रा छुट्यो टाइम्स स्क्वायरको छेउमा । कति मानिस आहत भए केही थाहा भएन ।  कुम्भकर्णले सोच्यो, यति सारो त कहिल्यै भएको होइन नेपालमा । 
किशोर नेपाल

काठमाडौँ — हेलो, ओ हेलो,’
‘हाउ वाज योर इभिनिङ टुडे ?’ कुम्भकर्ण डंगोलले सोध्यो ।
‘इभिनिङ टुडे ?’ उताबाट आवाज आयो, ‘के भन्छ यो ? आज त इभिनिङ भएकै छैन नि ।’
‘उता त भैसक्यो नि, नेपाल मस्त,’ कुम्भकर्णले जवाफ दियो ।

गिद्ध – २०१७

हेलो, ओ हेलो,’

‘हाउ वाज योर इभिनिङ टुडे ?’ कुम्भकर्ण डंगोलले सोध्यो ।

‘इभिनिङ टुडे ?’ उताबाट आवाज आयो, ‘के भन्छ यो ? आज त इभिनिङ भएकै छैन नि ।’

‘उता त भैसक्यो नि, नेपाल मस्त,’ कुम्भकर्णले जवाफ दियो ।

‘ए, हिजो त म मस्त–मस्त सुतें । आज भर्खर उठ्दै छु ।’

त्यसपछि टेलिफोनको आवाज अचानक मन्द हुन थाल्यो । अन्त्यमा आवाज सुनिन छाड्यो । आवाजको ठाउँ स्याइँसुइँले लियो । कुम्भकर्णले विचार गर्‍यो, ‘यो मोबाइलको जात । यत्रो शक्तिशाली देश अमेरिकामा पनि उताको जस्तै नखरा गर्दो रहेछ ।’

मोबाइल डिस्कनेक्ट भएको थिएन । त्यसैले लामो ‘पज’ दिएर ऊ केही बेर पर्खियो । केही सुनिएन । ऊ झन्डै चिच्यायो, ‘किन नबोलेको ? के भयो ?’ उसले चिच्याउनुभन्दा अघि नै लाइन काटिइसकेको थियो ।

उसले रिडायल गर्‍यो ।

जवाफमा उताबाट आवाज आयो, ‘म घरमा छु । घरैमा छु ।’

जवाफमा कुम्भकर्ण वोल्यो, ‘मानिस घरैमा त हुन्छ ।’

उसले जवाफ दिनेबित्तिकै टेलिफोन फेरि स्याइँएँ गर्न थाल्यो । कुम्भकर्ण साथीको खोजीमा थियो । भर्चुअलमा देखिएको साथीको अनुहारले उसको चित्त बुझाउन सकेको थिएन । त्यो मेसेन्जरमा कति हेर्नु, कति बोल्नु । यसो छोएर प्याट्ट नहिर्काएसम्म, त्यसको कान रातै हुने गरी ननिमोठेसम्म, सँगै बसेर ‘ठाडो घाँटी’ नलगाएसम्म केको साथी ।

योपटक पनि उताबाट कुनै आवाज आएन । कुम्भकर्ण बुदबुदायो : ‘हरे, यो मोबाइल । भन्न पनि कति सकेको त । यू आर नट रिचेवल रे । हाउ फन्नी । नट रिचेवल ।’

फन्नी— अमेरिका आएपछि उसलाई यो शब्द निकै मन परेको थियो । यता आएदेखि नै : उसको मुखमा कि त आउने बेलामा साथीभाइहरूसँग सानागाउँमा खाएको हाकु छोय्लाको स्वाद झुन्डिएको थियो कि अमेरिका आएपछि सिकेको शब्द फन्नी । फन्नी शब्द ऊ सवै ठाउँमा त बोल्दैनथ्यो । तर, केटी मान्छे र नेपाली भेट्यो भने नबोली छोड्दैनथ्यो ।

चिसो शुरु भैसकेको थियो । तर चिसो मौसम शुरु हुनुभन्दा अगाडिको पारिलो घामको अल्पकालीन मौसम सकिएको थिएन । लौ जे त पर्ला । नामै त कुम्भकर्ण । जता पनि सुतिहाल्नुपर्ने । पल्टिहाल्नुपर्ने । कस्तो गडयाउँलोजस्तो पो भए म त । ऊ पर्लक्क पल्टियो वालमार्टको पारिलो घाम लागेको चौरमा । पल्टिनेबित्तिकै एक अंगालो चिसो बतास निकै जोडले आयो र उसको टाउकोमा नै ठोकियो । उसलाई चिसोको तिखो अनूभूति भयो । रमाइलो पनि लाग्यो ।

अलि पर कफी पसल थियो— स्टारवक्स । जमानाले खोजेजस्तो नयाँ र फेसनेबल । उसको साथी गगनेले बरिस्टा तालिम लिएको थियो । त्यसैले उसले अमेरिका पस्नेबित्तिकै काम पायो । कुम्भकर्णले केही काम पाएको थिएन । गगने चलाख पनि थियो । उसले त्यति चलाखी र बठ्याइँ नगरेको भए अमेरिकाको भिसा लाग्न त सम्भव नै थिएन । त्यही दिनदेखि कुम्भकर्णले सोच्न थाल्यो— मानिस जहाँका हुन्, जुन वर्गका हुन्, जस्ता व्यवसायी हुन्— मुख्य कुरा जातै हो । जतिसुकै विद्वान् भए पनि जातले अलिकति भनसुन त खोज्छ–खोज्छ । अलिकति चाकरी पनि खोज्दछ । अलिकति ज्यू–ज्यू खोज्छ । अरू कसैले गरेको तारिफ मन पराउँछ । अर्काको नाकमा चढिसकेको सुगन्धको वास्ना पनि मन पराउँछ ।

पारिलो घाममा पल्टिइरहेको वेला कुम्भकर्णको दिमागबाट गगनेसँगको संगत र सम्झनाको सिनेमा ‘रिल आउट’ हुन थाल्यो । कुम्भकर्णको विचारमा गगने कहिल्यै कसैसँग बेइमान भएन । उसको अनुहारचाहिँ कुन्नि कसरी हो, बेइमान होइन भनेर पत्याउने खालको नै थिएन । कसैको पनि पहिलो नजर उसमाथि पर्दाउ नम्बरी गुण्डाजस्तो देखिन्थ्यो । तर, गाउँमा सबैले उसलाई पुरुषार्थी भन्थे । उसका कुरा पत्याउँथे । परारको भुइँचालोपछि गाउँमा मट्टीतेलको त्यत्रो हाहाकार थियो । गगनेले ट्रकमा मट्टीतेलको ड्रम र ग्यासको सिलिन्डर ल्याएपछि गाउँ नै झिलिमिली भो । सबैको चुल्हो उज्यालो भो । गाउँलेहरूको विश्वास थियो, माता निरञ्जना भगवतीको आशीर्वाद प्राप्त नभई यति सानै उमेरमा यति धेरै पुरुषार्थ कसले गर्न सक्दछ ? उसले गरेका पुरुषार्थको लिस्ट लामै थियो । कसैलाई अस्पताल पुर्‍याउनु, हातमा पैसा नभएका ग्राहकलाई पसलबाट उधारोमा सामान दिलाइदिनु, कसैको गाई–गोरु खोंचमा अड्केको भए तिनलाई निकाल्नु, दूध नदिएर लात्ती हान्ने गाईलाई सधाउनु, चोरहरूलाई पिट्नु, समयमा सहकारीको ब्याज नबुझाउनेलाई थर्काउनु, दशैंमा पिङ हाल्नु, गाउँका आवारा भुराहरूलाई ठेगान लगाउनु । गगनेको काम त कति हो कति ।

त्यो दिन अलिकति चाँडै अँध्यारो भएको थियो । गगनेको भरपर्दो साथी थियो कुम्भकर्ण । त्यसैले मौका आएपछि उसले कुम्भकर्णसँग मात्रै सोध्यो, ‘अमेरिका जाने हो ?’ पहिले त कुम्भकर्णले कुरो पत्याएन । चाकरी नगरी भिसा झर्दैन । यो गगनेले कसको चाकरी गरेर भिसा ल्याउनु ? । तैपनि भनिहाल्यो, ‘पाए जाने, किन नजाने ?’

जवाफमा गगनेले भन्यो, ‘त्यसो भए बाउलाई भनेर चार लाख रुपैयाँ ठिनिक्क पारेर राखेस् । पछि यसोउसो गन्थन गर्न पाउने छैनस् ।’

कुम्भकर्णले बाउलाई सबै कुरा सुनायो । छोरोको कुरा सुनेर ऊ झस्कियो । व्यापारी थियो । मनमनमा के गुनेर हो, छोरालाई बोलायो र भन्यो, ‘जा त जा । त्यल्लाई बोलाएर ले ।’ कुम्भकर्ण दगुर्दै वाहिर गयो । एकै छिनपछि गगने र कुम्भकर्ण आए । बाउले गगनेलाइ सोधे, ‘हावा कुरा त होइनन् नि ?’

गगनेले जवाफ दियो, ‘काम नहुँदासम्म हावा, पानी, माटो जे भन्दा पनि हुन्छ । मेरो कन्ट्याक्टले जनही चार लाख चाहिन्छ भन्या छ । कुम्भेलाई पठाउने भए पनि रेट त्यही हो काका ।’

काकाले आँखा तर्दै भने, ‘अहिले नै चाहिने त होइन होला नि । चाहिनेबित्तिकै मागेस् । कुम्भे गएन भने सम्झी तेरो बिल्लीबाठ भयो ।’

गगनेले जवाफ दियो, ‘अहिले नचाहिए कहिले चाहिने ? गगनेले अमेरिका गएर उतै कमाएर दिन्छ भनेका हौ भने ऊ नजाने बाटो त्यत्तिकै क्लियर छ काका । कुम्भे गएन भने कुले, पदमे, नूरे जो पनि जान्छ । त्यसैले यस्तो र उस्तो होला भन्ने धम्कीचाहिं नदिनुहोला ।’

गगनेको कुरा सुनेर काका झस्किए ।

उनी आफ्नो छोरोलाई कतार, मलेसिया, कोरिया जता भए पनि विदेश पठाउन चाहन्थे । कोरिया पठाउन जोरबल लगाएका हुन् । तर, केही लागेन । दस कक्षा पास गरेको कुम्भे भाषा जाँचमा नै पन्छियो । जोरीपारीका सन्तान युरोप, अमेरिका कताकता पुगिसकेको अवस्थामा कुम्भे कतै नबिक्नु भनेको उनको कोगिटाको दौरा–सुरुवालमा दाग लाग्नुसरह थियो ।

गगने पनि बाबु–आमाको कचकचबाट वाक्क भएको थियो । दस कक्षा पास गरेपछि अगाडिको पढाइका बारे दुवैका बाबु सकारात्मक थिएनन् । अब यति पढाइ सकियो, उमेर पनि भैसकेको छ । यिनीहरू आफैंले उद्यम गरेर पढ्नुपर्छ भन्ने भनाइ थियो दुवैको । गगने र कुम्भकर्ण सोच्दथे— खोइ के काम गर्ने ? सीपको नाममा पायाँ खेल्ने र गुलेली ताक्नेबाहेक अरू केही जानेका थिएनन् उनीहरूले । गगनेले कफी बनाउने बरिस्टाको तालिम लिएको थियो । तर, कफी पसलको जागिरमा कफी बनाएर मात्रै नहुने । जुठा ग्लास र प्लेट पनि उठाउनुपर्ने । त्यो गर्न ऊ तयार थिएन । बंगुरपालनमा लाग्ने विचार गर्दै थियो, अमेरिकाको डीभी खुलेको समाचार आयो । उसले डीभी फारम भर्न तीन हजार खर्च गर्‍यो । परिणाम केही आएन । अमेरिका जाने चस्का लागिसकेको थियो उसलाई । धुइँपत्ताल लगाएर ऊ स्रोत व्यक्तिको खोजीमा थियो ।

अमेरिकाको भिसा लगाउन कसको चाकरी गर्नुपर्दछ ? एक दिन सब पत्ता लगाएर आयो गगने । तिलगंगाको गोल्फ क्लबनिर रुद्रमान हरिजनको घर थियो । उसको सारै मिल्ने साथी । गोल्फ क्लवमा चपरासीको काम गर्दागर्दै यहाँ खेल्न आउने विदेशीहरूको संगतले उसलाई टाठो बनाएको थियो । उसले अमेरिकन दूतावासका एक जना हाकिमलाई निकै रिझाएको रहेछ । उनैले उसलाई दूतावासको सहायक पदमा भर्ना गरिदिएका रहेछन् । गगनेले त्यो थाहा पाएपछि आफ्नो पुरानो दोस्ती सम्झिएछ ।

गगनेका लागि रुद्रलाई भेट्नु त्यति सहज पक्कै थिएन । रुद्र अमेरिकन हाकिमको ‘वरिष्ठ सहायक’ भइसकेको थियो । गगनेको संयोग कि रुद्रे फेला परेछ एक दिन । कस्तो ए, मोराको त अनुहार नै फेरिएछ । हरिजन भन्नै नसुहाउने । बाहुन भनेर चिनाए हुने । राम्रो खानपान पाएको । शिक्षित मानिसहरूसँगको संगतले बोली व्यवहार फेरिएको । दुरुस्त बाहुन–क्षत्रीको सन्तानजस्तो ।

परार सालको भुइँचालोले गगनेको घरका एक पाखो पूरै भत्काएको थियो । उसको बाबुले त्यो भत्किएको पाखो टाल्न सकेका थिएनन् । त्यसको मर्मतमा लाग्ने खर्च उनीसँग थिएन । प्राधिकरण, नगरपालिका, नगर विकास सबैतिरबाट पास भए पनि उनले घर बनाउने ऋण र अनुदान केही पाएका थिएनन् । उद्धारका मानिसहरू सातैपिच्छे डाटा कलेक्सनको नाउँमा भत्ता पचाउन आउँथे ।

रुद्रेसँग भेटेर कुराकानी गरेपछि गगनेले आफ्नै भत्किएको घरमा एउटा स–सानो भोजको आयोजना गर्‍यो । भोजमा अमेरिकन आउने भनेपछि बाबुले खर्च पनि झिके । यो भोजका लागि बनेको गुन्द्रुकको अचारदेखि खसीको कबाबसम्मका सबै परिकारहरू नेपाली थिए । भोजको विशिष्ट पाहुना एउटा च्याँसे–च्याँसे खालको गोरा थियो । ऊ सँगै थियो रुद्रमान हरिजन । भोजमा तयार पारिएका सबै खाना मीठो थियो । त्यो गोराले निकै मीठो मानेर सबै डेक्चीबाट एक–एक पिस परिकार निकालेर खायो । त्यतिन्जेलसम्म उसको पेट भरिइसकेको थियो ।

त्यसपछि ऊ बिदा भयो । बिदा हुने बेलामा गगनेको परिचय गराउँदै रुद्रले भनेको थियो, ‘माई बेस्ट फ्रेन्ड फ्रम दी स्कुल डेज ।’ गगने उत्साही भयो । मन्द हाँसेर उसले अंग्रेजसँग हात मिलायो । त्यसपछि नमस्ते पनि गर्‍यो । रुद्र खुसी भयो । नेपालीले अरूथोक केही गर्न नजाने पनि मान्छे रिझाउन जानेका छन् । मानिसको अनुहारको खुसी पढ्न सक्छन् ।

त्यसपछि त कुम्भकर्णका लागि सबै कुरा भो सपनाजस्तो । कति बेला इन्टरभ्यु भो, कति बेला भिसा लाग्यो । केही नै त सम्झना छैन उसलाई । मानिसको त्यो सानो तर अनियन्त्रित गतिविधिलाई नाघेर ऊ बाहिरिएको थियो । त्यसको तीनचार दिनपछि ऊ गगनेको पछि लागेर एयरपोर्ट पुगेको थियो । त्यसपछि बैंकक । त्यसपछि अठार घण्टा लामो त्यो यात्रा । सुभान अल्लाहजस्तो सेन्टेड खैनी पनि यसो लुकाएर खानुपर्ने । अठार घण्टापछि लस एन्जेल्स हवाई अड्डामा उत्रिँदा उसको शरीर टाठो भएको थियो । अब त उड्नु पर्दैन होला भनेको गगने भन्छ अर्को छ घण्टा रे ।

ऊ तन्द्रामा नै थियो । फोनको घण्टी बज्यो । उसले भन्यो, ‘ल आइहाल तुरुन्तै । काम फेला पर्‍यो तेरा लागि ।’

ऊ दगुर्दै पुग्यो सेभेन ट्रेनको स्टेसनमा । न्युयोर्क सहरमा क्विन्सदेखि ज्याक्सन हाइट हुँदै म्यानहट्टन पुग्ने सस्तो र सजिलो सवारी उसलाई यही लाग्दथ्यो । त्योभन्दा पनि भयको मानसिकताले काम गरेको थियो कुम्भकर्णलाई । त्यो जमिनमुनिबाट दगुर्ने रेलको त के भरोसा भो र । जीवनले भरोसा खोज्दछ । भरोसा...

गगने हार्डरक क्याफे अगाडिको कियोस्कमा थियो । कुम्भकर्णले देखिहाल्यो । कियोस्कबाट निस्केर गगनेले एउटा टेबुल वरिपरि चारवटा मेच रिंगै राख्यो । एकै छिनपछि २० औं स्ट्रिटमा रहेको क्यालिवर स्टोरका दुई जना पार्टनर आए त्यहाँ । सामान्य कुराकानीपछि कुम्भकर्ण काममा लाग्यो । काम दिनको १२ घण्टा । नाम स्टोर ब्वाई । दाम घण्टाको ९ डलर । कुम्भकर्णले मनमनै हिसाब लगायो १२ लाई नौ पटक गन्दा पुग्दछ १०८ डलर । राम्रै कमाइ हो ।

कुरा सकेर मेचबाट उठनै लागेका थिए क्यालिवरवालाहरू कि गोलीको पर्रा छुट्यो टाइम्स स्क्वायरको छेउमा । कति मानिस आहत भए केही थाहा भएन । कोलाहल मात्रै बाँकी रह्यो बजारमा । मानिसहरूको भागाभाग । चिल्लीबिल्ली । कुम्भकर्णले सोच्यो, यति सारो त कहिल्यै भएको होइन नेपालमा । ती माओवादीले कहिल्यै पड्काएनन् बम सहरमा । आतंकित सहरियालाई भगाएनन् । यहाँ त ओहो । इस्लामिक समूह, क्रिस्चियन समूह, हिन्दु समूह, जराथ्रुस्ट समूह, के के हो के के । बिस्तारै थाहा भयो, गोली काण्डले मानिसको ज्यान लिएको थिएन । तर, आतंकको लेभल त धेरै माथिल्लो थियो । झस्किँदै गर्दा मानिसहरू डोनाल्ड ट्रम्पको नाम लिइराखेका थिए । जेरुसलेम भक्कानो छोडेर रुँदै थियो ।

भोलिदेखि काममा आउने सर्तसहित सेभेन ट्रेन चढेर कोठातिर फर्कियो कुम्भकर्ण । उसको न्युयोर्कमा काम गरेर बस्ने, पैसा कमाउने, घर फर्किंदा साहेब बनेर फर्किने उसका सपना एक घण्टाअगाडिको कोलाहलमा हरायो । ऊ बिस्तारै सहरबाट पृथक् हुन थाल्यो । उसलाई किन हो मज्जा देशैतिर थियो । मंगली पनि त्यही थिई ।

घर फर्किएर बालाई के भन्नु ? कुम्भकर्ण द्विविधामा थियो । सहरको पुलिसले दिउँसो टाइम्स स्क्वायरमा गोलीकाण्ड गर्ने एकथरी केटाकेटीलाई नियन्त्रणमा लिइसकेको थियो । पुलिसहरूको अनुहार थाकेको थियो । उनीहरूको आँखामा गहिरो नियाल्ने कसैले पनि सहरमा अर्काथरी केटाकेटी अन्त कहीं विध्वंसका लागि तयार रहेको आभास पाउनु कठिन थिएन ।

कुम्भकर्ण आफ्नो औंला भाँच्दै बुदबुदायो— गिद्ध, २०१७ ।

प्रकाशित : पुस ८, २०७४ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?