असममा नेपाली साहित्य विमर्श
काठमाडौँ — समकालीन नेपाली साहित्यिक लेखन तथा डायस्पोरिक साहित्यिक स्थितिबारे परामर्श गर्न असममा विमर्श भएको छ ।
गुवाहाटीस्थित नेपाली मन्दिरमा वरिष्ठ साहित्यकार लीलबहादुर क्षत्रीको उपस्थितिमा आयोजित छलफलमा भारतीय नेपाली लेखकहरूले नेपालबाट प्रकाशित र प्रचारित पुस्तक, रचना, सामग्री सहजै उपलब्ध हुन नसकिरहेको कठिनाइका बारेमा धारणा राखे । समालोचक डा. गोविन्दराज भट्टराईले नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत भइरहेको अनुवाद परिचय कोशबारे जानकारी दिँदै देश–भूगोल भिन्न भए पनि भाषिक र साहित्यिक डोरीले नेपालीभाषी हुनुको बृहत् आयामलाई समेटिरहेको बताए । ‘नयाँ चेतना र विम्बको प्रयोगसहित आइरहेको नेपाली डायस्पोरिक लेखनको क्षितिज दिनानुदिन फराकिलो बन्दै गएको छ,’ उनले भने, ‘यो आयामलाई नेपाल प्रज्ञा प्रतिष्ठानसहितका सम्बद्ध निकायले अझ समेटेर लैजानुपर्छ ।’
असम नेपाली साहित्य सभा तथा नेपाली मन्दिर आयोजक रहेको समारोहमा लेखक नव सापकोटा, दुर्गा खतिवडा, मुक्ति उपाध्याय बराल, डा. इन्दुप्रभा देवी, गोमा शर्मा, लक्ष्मी सुवेदीसहितले नेपाली भाषा र साहित्यिक सृजनाको स्थितिका बारेमा धारणा राखे ।
यसैगरी, असमकै डिग्बोईमा पनि नेपाल–भारतका नेपाली साहित्यकारबीच अन्तरक्रिया भयो । नेपाली विष्णु मन्दिर सभा भवन आयोजक रहेको अन्तरक्रियामा मूर्ति कलाशिल्पी तथा कवि युद्धवीर राणाले कवि/गीतकार हरिभक्त कटुवालबारे बोले । डिग्बोई कटुवालको जन्म तथा कर्मथलोसमेत हो । मन्दिर प्रांगणमा स्वर्गीय कटुवाल र आदिकवि भानुभक्त आचार्यका अर्धकदका सालिक राखिएका छन् ।
प्रा. भट्टराईले नेपाली भाषाबाट अन्यमा अथवा अन्य भाषाबाट नेपालीमा अनूदित लेखरचनाको खोजी गर्ने क्रम अहिले पनि जारी रहेको बताए । अनुवाद साहित्यको खोजी क्रममा खडगराज गिरी, युद्धवीर राणा, जीतबहादुर सुनार, सुन्दरप्रसाद छेत्री, नारायण उपाध्यायलगायतसँग अनुदित कृति आदानप्रदानको पद्धति तयार गर्नेबारे चर्चा भयो ।
साहित्यिक परिचर्चा क्रममा स्रष्टाहरूको टोली जागुन गाउँ पनि पुगेको थियो । उक्त अवसरमा भारतीय साहित्य अकादमीबाट पुरस्कृत हुने नेपालीभाषी स्रष्टाहरू चन्द्रमणि उपाध्याय (तेजपुर), गीता उपाध्याय, दुर्गा खतिवडा, ज्ञानबहादुर छेत्री, डा. शान्ति थापा, पुष्प शर्माका बारे परिचर्चा भएको कार्यक्रममा सहभागी सिलिगुडीका कवि मुक्ति उपाध्यायले जानकारी दिए । नेपाली भाषाका रचनाहरू असमियासहित बर (बोडो), बंगाली, हिन्दी, मैथिली, अंग्रेजी आदि भाषामा अनूदित भएको र यस कार्यले अनुवादक परिचय कोश निर्माणमा थप मद्दत पुग्ने प्रा. भट्टराईले जानकारी दिएका छन् ।
प्रकाशित : पुस १३, २०७४ ०९:०३