कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

संग्रहालयमा कविशिरोमणि

‘पाँच वर्ष अघिसम्म लेखनाथ जन्मस्थल वनमासा झाडीले पूरै ढाकेको थियो । केही रचनात्मक काम गर्नुपर्‍यो भनेर समिति र प्रचारमा अघि बढयौं ।’
पूर्ण विके

पोखरा — कविशिरोमणि लेखनाथ पौडयालको जन्मघर धमाधम संग्रहालय बन्दै छ । बनी नसक्दै आन्तरिक पर्यटक आउन थालेका छन् । पोखरा–लेखनाथ २७ अर्घौंअर्चलेस्थित कविको जन्मघरलाई लेखनाथ जन्मस्थल विकास समितिले संग्रहालय बनाउँदै गरेको हो ।

संग्रहालयमा कविशिरोमणि

६० लाख रुपैयाँ लागत अनुमान गरिएको संग्रहालय र पार्क यसै वर्ष सम्पन्न हुने समिति अध्यक्ष विश्वप्रकाश लामिछानेले बताए । पुरातत्त्व विभागबाट प्राप्त बजेटबाट काम भइरहेको उनले जानकारी दिए । आर्थिक वर्ष २०७२/७३ देखि तीन वर्षसम्म लगातार २०/२० लाख रुपैयाँका दरले संग्रहालय निर्माणका लागि बजेट आएको छ । लेखनाथ जन्मस्थलको प्रचारप्रसारमा राज्यको ध्यान नगएपछि ५ वर्षअघि समिति स्थापना गरेर जनश्रमदानसहित करिब २ करोड रुपैयाँ मूल्यबराबरका संरचनाहरू निर्माण भइसकेको उनले बताए । उक्त रकममध्ये ७० लाख रुपैयाँ जति मात्रै सरकारी निकायबाट प्राप्त भएको अध्यक्ष लामिछानेले जनाए ।

‘पाँच वर्षअघिसम्म लेखनाथ जन्मस्थल वनमासा झाडीले पूरै ढाकेको थियो,’ उनले भने, ‘केही रचनात्मक काम गर्नुपर्‍यो भनेर समिति र प्रचारमा अघि बढयौं ।’

जन्मस्थलमा साहित्यिक जमघटको लागि सभाहल, १०/१२ जना पाहुना राख्न मिल्ने अतिथिगृह, पिकनिक स्पटलगायत भ्युटावर बनाउने योजना समितिले बनाए पनि गुरुयोजना बनाउन तत्काललाई आर्थिक अभाव भएको उनले बताए । संग्रहालय भवनको करिब ७० प्रतिशत निर्माणकार्य भने सम्पन्न भइसकेको छ । सालको काठलाई कलात्मक तवरले कुँदेर भक्तपुरे शैलीको झयालढोकासहित संग्रहालय निर्माण हुँदै छ । उक्त घरको अलावा जन्मस्थल परिसरमा ढुंगाको छपनी बिछयाउने र कविशिरोमणि पौडयालका कवितालाई शिलामा कँुदेर स्तम्भ बनाउने कार्यसमेत अघि बढाइएको छ ।

जन्मस्थलदेखि करिब एक किलोमिटर तल पौडयालको सम्झनामा पोखरीसहितको पार्क बनाइएको छ ।

भूकम्पप्रतिरोधी संग्रहालयमा कविशिरोमणिका कृतिहरू राखिने छन् । करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालय अवलोकनका लागि विद्यार्थी, शिक्षक र साहित्यकार लगायत आन्तरिक पर्यटकलाई आकर्षित गर्ने लक्ष्य समितिले राखेको छ ।

पोखरा महानगरपालिकालाई पूर्वाधार निर्माणका लागि आफूहरूले भने पनि तत्काललाई थप काम हुन नसकेको संग्रहालयका सचिव मनोज पौडेलले बताए । कविशिरोमणिको संग्रहालय बनाएर मुलुकभरका साहित्यिक पर्यटकलाई तान्न सके पोखराको गरिमा बढ्ने स्थानीयको अपेक्षा छ । पिकनिक स्थलको रूपमा समेत उक्त पार्कलाई प्रयोग गर्ने गरी आफूहरूले पहल गरे पनि रकम अभावमा थप काम गर्न नसकिएको पार्कका अध्यक्ष दीपक बाँस्तोलाले बताए । राज्यले संरक्षणमा चासो देखाए पनि विनियोजन गरिने रकम पर्याप्त नभएको उनले दुखेसो पोखे । संग्रहालय अवलोकनका लागि भने विद्यार्थी र छिटफुट आन्तरिक पर्यटक आउन थालिसकेका छन् ।

‘कविशिरोमणिबारे चासो राख्नेहरू बढ्दै गएका छन्,’ उनले भने, ‘गुरुयोजना बनाएर सोहीअनुसार

अघि बढ्न आवश्यक छ ।’

संग्रहालय व्यवस्थापनका लागि महानगरपालिकाको कार्यालयले पनि मासिक ७ हजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । पोखराको मुख्य बजार क्षेत्रबाट केही पर पर्ने संग्रहालयमा पुग्न अझै एक किलोमिटरजति बाटो कच्ची छ । कविशिरोमणि पौडयालको १३४ औं जन्मजयन्ती बिहीबारदेखि तीन दिनसम्म मनाउने तयारीमा समिति लागिपरेको छ ।

प्रकाशित : पुस १३, २०७४ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?